कोरोना देखिएको एक वर्षमा खोप

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरस देखिएको एक वर्षपछि त्यसविरुद्धको खोप आउने भएको छ । भारतमा आपतकालिन रुपमा प्रयोग भईरहेको ‘कोभिसिल्ड’को १० लाख डोज नेपाललाई उपलब्ध गराउन लागेको हो । गत वर्षको माघ १० गते नेपालमा पहिलो पटक कोभिड–१९ को संक्रमण देखिएको थियो । सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको सो खोप शुक्रबार नेपाल ल्याएर हस्तान्तरण गरिने नेपालस्थित भारतीय राजदूत विनय मोहन क्वात्राले जानकारी दिए । खोप आउने भएपछि नेपालले पनि लगाउने व्यक्तिको नाम धमाधम अनलाइनका माध्यमबाट तयार गरिरहेको छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार पहिलो चरणमा आउने खोप कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मीहरुलाई दिइने छ । ‘हामीले अग्रपंक्तिमा कार्यरत समूहलाई खोप दिनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरिसकेका छौं,’ उनले भने ।

औषधि व्यवस्था विभाग (डीडीए)ले ‘कोभिसिल्ड’लाई गत शुक्रबार नै आपतकालीन प्रयोगका लागि ससर्त अनुमति प्रदान गरिसकेको छ । भारतबाट प्राप्त हुन लागेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ । शुरुमा यसलाई काठमाडौंको विमानस्थलस्थित भण्डारण केन्द्रमा भण्डारण गरिनेछ । त्यसलाई नेपाली सेनाले सुरक्षा दिइने बताइएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिए । मन्त्री त्रिपाठीले भारतले उपलब्ध गराएको खोप बिहीबार नै काठमाडौं आइपुग्ने जानकारी दिएका छन् । बुधबार भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

सरकारले ७७ जिल्लामा एकसाथै खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ । सरकारले खोप आएको सातादेखी लगाउन शुरु गर्ने जानकारी दिइसकेको छ । स्वास्थ्य सचिव अर्यालले खोप अभियान सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए । उनले खोप लगाउनका लागि नामावलीको अनलाइन इन्ट्री भइरहेको जानकारी दिँदै खोप लगाउने व्यक्तिको कार्ड बनाइने जानकारी दिए । ‘हामी खोप लगाउनका लागि काउन्सिलिङ गर्ने, खोप अभियानमा खटिने कर्मचारीलाई अभिमुखीकरण तालिम दिने, खोप ढुवानी गर्ने लगायतका प्रक्रिया पुरा गर्नुपर्ने छ । माघ भित्रै खोप अभियान सुभारम्भ गर्ने तयारीमा लागेका छौँ ।’

सरकारले कुन दिनबाट खोप अभियान सुरु गर्ने र पहिलो खोप लगाएको कति समय पछि दोस्रो खोप लगाउने भन्ने निर्णय गर्न बाँकी छ । स्वास्थ्य सचिव अर्यालले खोप प्राविधिक सल्लाहकार समितिले पहिलो डोज लगाएको कति समयमा दोस्रो डोज लगाउने भन्ने निर्णय गर्ने बताए । भारतमा भने बुधबारसम्म सात लाख बढिले यो खोप लगाईसकेका छन् ।

भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको ‘एजेडडी१२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो । भारतले मंगलबार मात्रै भुटानलाई एक लाख पचास हजार र माल्दिभ्सलाई एक लाख खोप उपलब्ध गराएको छ ।

यसका ‘साइड इफेक्ट’
खोप प्रयोग गरिसकेका व्यक्तिहरुमा थकान महसुस हुने, दुखाई महसुस हुने, रातो हुने, चिलाउने, सुनिने, टाउको दुख्ने, जोर्नी वा मांशपेसी दुख्ने, वाकवाकी लाग्ने जस्ता सामान्य लक्षण देखिन सक्छ । यस्तै खोप लगाएको ठाउँमा गाँठो पर्ने, ज्वरो, वान्ता, फ्लू जस्तै लक्षणहरु उच्च तापक्रम, घाँटी दुखाई, सिगाँन बग्नु, खोकी लाग्नु, काप्नु वा जाडो महसुस हुनु लक्षण हुन् । तर खोप लगाई सकेपनि चक्कर लाग्ने, भोक कम लाग्ने, पेट दुख्ने, अत्याधिक पसिना आउने, छाला चिलाउने वा दाग देखिने जस्ता असामान्य लक्षण समेत देखिन सक्ने विज्ञहरुले बताएका छन् ।

कसले लगाउन मिल्दैन
कोरोना भाइरसविरुद्ध बनेका खोप सबै व्यक्तिका लागि उपयुक्त नहुन सक्छन्। कुनै औषधीको प्रयोग गर्दा केही खाने कुरा खाँदा वा खोप लगाउँदा गम्भीर एलर्जी भएको, ज्वारो आइरहेको, रक्तस्रावको समस्या वा रगत पातलो भएमा, कुनै औषधीको प्रयोग गरिरहेका जसले गर्दा प्रतिरक्षा प्रणलीलाई असर गर्ने भएमा, गर्भवती वा गर्भवती हुने योजना भएमा र स्तनपान गराइरहेकालाई खोप नलगाउन विज्ञहरुले सुझाव दिएका छन् ।

यो खोप पहिलो चरणमा ०.५ मिलिलिटर र दोस्रो चरणमा पनि ०.५ मिलिलिटर गरेर दुई डोज लगाउनु पर्ने छ । पहिलो डोज लगाएको करिव चारदेखि ६ हप्तापछि दोस्रो डोज लगाउने बताइएको छ । तर पहिलो डोज लगाएका व्यक्तिमा गम्भीर एलर्जी देखिएको खण्डमा भने दोस्रो डोज लगाउन पाउने छैनन् ।

प्रतिक्रिया