सिद्धार्थमा जगदीश र प्रियंकाका कला

काठमाडौं । कलाकार जगदिश मोक्तान र प्रियंका सिंह महर्जनको एक महिने कला प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको छ । कोरोना कहरले नेपाली ललितकला क्षेत्रमा लामो समयसम्म पारेको प्रभावका बीच भएको प्रदर्शनीमा कलाकार मोक्तानले त्यसको असरलाई चित्रमा उधिनेका छन् । द हिमालय लाइट आर्ट स्कलरसिप अवार्ड अन्तर्गत मोक्तान र महर्जनको कला प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीको उद्घाटन गर्दै जस्टिन चाओले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने लक्ष्यका साथ अवार्ड प्रदान तथा प्रदर्शनी गर्दै आएको बताए । उनले नेपाली कलाको प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यका साथ चीनका अग्रज कलाकार चाओ जियान्कीले अवार्ड प्रदान गर्दै आएको जानकारी दिए ।

प्रदर्शनीमा राखिएका कलाले समाज र संस्कृतिका विषयलाई कलात्मक रुपमा चित्रण गरेको सिद्धार्थ ग्यालरीका सञ्चालिका संगीता थापाले बताइन् । उनले दुवै कलाकारले रचना गरेका कलामा कला पक्ष र विचार पक्ष निकै गहन रुपमा आएको जिकिर गरिन् । ‘द वे होम इज अवे फर्म होम’ शीर्षकमा कलाकार मोक्तानले कोरोना संक्रमणका बीच सरकारले लगाएको बन्दाबन्दीका कारण गाउँघर फर्किरहेका आममानिसको मनोदशालाई कलात्मक रुपमा प्रकृतिसँग तुलना गर्दै चित्रण गरेका छन् । उनले बादललाई बिम्बात्मक रुपमा प्रस्तुत गर्दै त्यसमा सामाजिक, सांस्कृतिक, राजनीतिक तथा मानवीय मूल्य मान्यतालाई कलात्मक रुप दिने कोशिस गरेका छन् ।

त्यस्तै, उनका कलामा प्रकृति, संस्कृति तथा सामाजिक मनोविज्ञान र मानवीय मूल्य मान्यतालाई केलाउने काम गरिएको छ । मोक्तानले भने, ‘बसाइसराइपछि मानिस जहाँबाट आयो त्यो घर हुने भयो । घर भनेकै गाउँकै हुन्थ्यो र हुन्छ पनि । सहरमा आए पनि गाउँघर नै आफ्नो जस्तोे हुने भएकाले कोरोना कहरको परिवेशसँग तुलना गर्दै मैले कलाकृति रचना गरेको हुँ ।’

उनले सहर अपरिचितजस्तै भए पनि मानवीय सुख–दुःखका अनगिन्ती आयामका बीच मानिसले आफ्नो जीवनयात्रालाई अगाडि बढाइरहेको विषयसमेत कलामा उतारेको जिकिर गरे । उनले कोरोना कहरले निम्ताएको परिवेशपछि सहर पसेका मानिस दुःख सुखका साथ गाउँघर फर्किएको परिदृश्यसमेत कलामा बिम्बात्मक रुपमा उतारेका सुनाए ।

त्यस्तै, ‘इन द रियालम अफ रिकलेक्सनस्’ शीर्षकमा प्रियंका सिंह महर्जनले बनाएका चित्र प्रदर्शनीमा राखिएको छ । उनले आफ्नो विगतको स्मृतिलाई आगतसँग जोडेर कला सिर्जना गरेकी छन् । उनका कलामा परिवार, समाज र स्मृतिको पुरानो कोलाजलाई नयाँ परिवेश र सामाजिक स्तरमा चित्रण गरेको पाइन्छ । उनले भनिन्, ‘पुरानो जुन कुरा याद छ त्यही कुरालाई चित्रमा उतारेको छु ।’ उनका कलामा समाज, संस्कृति, पहिचान र मौलिकताका विषयलाई कारचोपी (इम्ब्रोइडरी) कलामार्फत देखाउने कोशिस गरिएको छ । उनले पुराना तस्बिरलाई बिम्बका रुपमा लिँदै त्यसमा आफ्नो अनुभूति र स्मृतिजन्य भावनालाई कलात्मक रुप दिने कोशिस गरेकी छन् । त्यस्तै, कतिपय कलामा प्रोटे«टलाई मेमोरीसँग जोडेको बताउँदै भनिन्, ‘कलाकृति रचना गरिएको क्यानभासको दुवैतिर विषयवस्तुलाई देखाइएको छ । जसको अर्थ विगत र आगतको मेमोरीलाई पुनर्ताजगी बनाउने मेरो ध्येय रहेको छ ।’ उनका कतिपय कलामा हजुरआमा (नानीमाया÷आशामाया महर्जन) लाई देखाएकी छन् ।

प्रदर्शनी अवलोकनमा आएका अग्रज थाङ्का कलाकार मानबहादुर दोङले नयाँ पुस्ताका कलाकारले समसामयिक विषयमा केन्द्रित रही नयाँ विचार दिने कला बनाएको विचार व्यक्त गरे । उनले भने, ‘कलामा विषय र प्रस्तुति निकै आकर्षक रहेको पाएँ । नयाँ पिँढीका कलाकारले समाज, संस्कृति तथा प्रकृतिलाई संयोजन गरेर कलाकृति रचना गर्नु निकै हर्षको कुरा हो ।’

नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले नयाँ प्रस्तुतिका साथ कलाकारद्वयले आफूलाई प्रस्तुत गरेको बताए । नयाँ पुस्ताकी कलाकार आयुष्मा ढकालले प्रदर्शनीमा राखिएका कलाले समाज, संस्कृति र प्रकृतिलाई निकै गहनताका साथ उतारेको अनुभूति गरेको सुनाइन् । उनले कलाले मानवीय पक्षलाई वैचारिक रुपमा उतारेको बताइन् । कलाकार कविराज लामाले कोरोनापछि भएको प्रदर्शनीले कलाकारमा उत्साह थपेको सुनाउँदै दुवै कलाकारले समय सान्दर्भिक कला रचना गरेको बताए ।

प्रतिक्रिया