नवलपुर क्षेत्रमा नयाँ चरा फेला

नवलपुर । जलपक्षी गणनाका क्रममा नवलपुर क्षेत्रमा पाँच प्रजातिका नयाँ चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा नारायणी नदीका विभिन्न भंगालो र सीमसारमा गणना गरिएको थियो । गत २६ पुसदेखि १ माघसम्म गरिएको गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पाँच प्रजातिका नयाँ जलपक्षी भेटिएका हुन् । निकुञ्जअन्तर्गत पश्चिम क्षेत्रका जलपक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष यस क्षेत्रमा लाल ठुँडे हाँस, पानी चाह, चत्राङ, कैलो टाउके हाँस र मालचरी जलपक्षी गणना गरिएको जानकारी दिए । यी प्रजातिका चरा निकुञ्जको पश्चिम क्षेत्रमा पहिलोपटक देखापरेका उनकोे भनाइ छ । निकुञ्जको पश्चिम क्षेत्रअन्तर्गत पर्ने नारायणीको भंगालो तथा सिमसार क्षेत्रमा विभिन्न ४६ प्रजातिका जलपक्षी भेटिएका समेत उनले जानकारी दिए ।

निकुञ्जको नवलपरासी क्षेत्रमा यसवर्ष जलेवा चराको संख्यामा वृद्धि भएको उनले जानकारी दिए । यसवर्ष गरिएको गणनाका क्रममा पश्चिम क्षेत्रमा २ हजार ८ सय १७ जलेवा भेटिएका थिए । गणनाका क्रममा पानी गौँथली, नेपाली हरिहाँसको संख्यासमेत वृद्धि भएको पाइएको उनले बताए । केही प्रजातिका जलपक्षीको संख्या बढेको भए पनि चखेवाको संख्यामा भने कमी आएको संयोजक चौधरीको भनाइ छ । उनका अनुसार गत वर्ष ६ हजार ३ सय १३ वटा भेटिएको चखेवा यस वर्ष ५ हजार ५ सय ७६ वटा मात्रै भेटिएका छन् । पाँच दिन लगाएर गरिएको चरा गणनाका क्रममा जिल्लाको गैँडाकोटमा पर्ने सिख्रौलीघाटदेखि त्रिवेणीसम्मको क्षेत्रलाई तीन भागमा विभाजन गरेर जलपक्षी गणना गरिएको थियो ।

गणनामा संम्लग्न चराविद् तथा गणकहरूले टेलिस्कोप र वाइनाकुलरको सहायताले जलपक्षीको गणना गर्ने गर्दछन् । हिउँदको समयमा साइबेरियासहितको उत्तरी गोलाद्र्धबाट चरा जाडो छल्न नेपालका विभिन्न सिमसार तथा नदीमा आउने भएकाले यो समयमा जलपक्षीको गणना गर्ने गरिएको छ । मध्य पुसमा नेपालसहित एसियाका २७ देशका विभिन्न ६ हजार १ सय स्थानमा जलपक्षी गणना गर्ने गरिएको बर्ड एजुकेसन सोसाइटीका अध्यक्ष रमेश चौधरीले बताए । मानवीय क्रियाकलापका कारण नदीमा प्रत्यक्ष असर पर्दा पछिल्लो समय जलपक्षीको वासस्थानमा समस्या उत्पन्न भएको अध्यक्ष चौधरीले बताए । नदीजन्य पदार्थको उत्खनन तथा नदीमा जथाभावी फोहर मिसाइँदा जलचरको अस्तित्वसमेत खतरामा परेको उनको भनाइ छ ।

प्रतिक्रिया