पत्रकार सम्मानित

काठमाडौं । संगीतकार संघ नेपालको दशौं वार्षिक साधारण सभाको अवसर पारेर पत्रकार तथा बालप्रतिभालाई सम्मान गरिएको छ । नेपाली पत्रकारिताको क्षेत्रबाट नेपाली संगीतलाई प्रचारप्रसार गर्दै स्रष्टा कलाकारको बौद्धिक सम्पत्ति, प्रतिलिपि अधिकार र रोयल्टी जस्ता विषयलाई स्थापित गराउन उल्लेखनीय योगदान पुर्याएको भन्दै पत्रकार सिताराम बडाल, नवीन प्यासी र नरेश फुँयाललाई नगद २५ हजारसहित सम्मान गरिएको हो । त्यस्तै, कार्यक्रममा बालगायकद्वय प्रितम आचार्य र आयुश केसीलाई बालप्रतिभा सम्मानबाट सम्मानित गरियो ।

संगीतकार शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गीतकार संघ, प्रस्तोता समाज, संगीत उद्योग संघ लगायतका विभिन्न गीत संगीतसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिको पनि सहभागिता रहेको थियो । साधारणसभाबाट संगीतकार संघ नेपालको अध्यक्षमा पारस मुकारुङ चुनिएका छन् । त्यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा, प्रथम उपाध्यक्षमा हरि लम्साल, द्वितीय उपाध्यक्षमा अष्ट लामा, महासचिवमा वसन्त सापकोटा, सचिवमा सुदाम थापा, कोषाध्यक्षमा राजेश थापा र सदस्यमा जेम्स प्रधान, राजन इशान, टंक बुढाथोकी, कालीप्रसाद बास्कोटा चुनिएका छन् । यसअघि संस्थाको अध्यक्षमा शान्तिराम राई थिए ।

समारोहमा संगीतकार बास्कोटाले नेपाली गीत संगीतका क्षेत्रमा संघले महत्वपूर्ण योगदान दिएको बताए । उनले संघले नेपालको सांगीतिक क्षेत्रलाई फराकिलो पार्न र कलाकारको पक्षमा आवाज उठाउन आगामी दिनमा अझै काम गर्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा गीत संगीतसँग सम्बन्धित संस्थाका प्रतिनिधिले नयाँ कार्यसमितिले सशक्त रुपमा स्रष्टाको हक, अधिकार स्थापनाका लागि काम गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया