समृद्धिका लागि युवाशक्तिको सही परिचालन

केबी बस्नेत

यो ध्रुवसत्य हो कि युवा हाँसे मानव समुदाय हाँस्छ र युवा बरालिए मानव समुदाय नै बरालिन्छ । यथार्थमा भन्ने हो भने देश विकास गर्न युवाहरूले व्यक्तिगत स्वार्थलाई त्यागी सबल तथा सक्रिय नेतृत्व प्रदान गर्न प्रतिबद्ध हुनुपर्छ । यस प्रतिबद्धतालाई व्यवहारमा उतार्न यहाँका युवा तथा युवतीहरूबीच समन्वयका आवश्यकता छ ।

युवाशक्तिलाई देशको आधार स्तम्भको रूपमा अंगीकार गरिन्छ । देशको आर्थिक विकासमा युवाशक्तिको महत्वपूर्ण भूमिका हुन्छ । तापनि विगतका वर्षहरूमा नेपाली युवाहरू स्वदेशको आर्थिक विकासमा सन्तोष जनक रूपमा सहयोगी हुन सकेनन् । असहज परिस्थितिले उनीहरू धेरै प्रभावित हुन स्वभाविक नै हो । चाहना गरेर मात्र आर्थिक विकास गर्ने अभिष्ट पूरा हुन सक्दैन । यसका लागि स्वयं युवाहरू सक्रिय एवं सचेत रहन आवश्यक छ । यो सत्यबारे युवाहरू सदैव होसियार रहनुपर्छ । आगामी दिनहरूमा पनि युवाहरूले आफ्नो कर्तव्यबाट विमुख भएर यस देशको आर्थिक विकास गर्ने सम्पूर्ण जिम्मा शासक वर्गलाई नै हस्तान्तरण गरे भने सबै नेपालीको हँसिलो अनुहार हेर्ने इच्छा दिवास्वप्न मात्र हुनेछ । हुन त कुनै पनि राष्ट्रको आर्थिक विकास एक वर्गले मात्र गर्न सक्दैन । तैपनि युवावर्गले समाजका अन्य वर्गहरूलाई हौसला प्रदान गरी विभिन्न कार्यहरूमा एकजुट गराउन सक्छ । विगतमा यहाँको असामान्य अवस्थाले आफ्नो मातृभूमिको माटोमा सुन फलाउनुपर्ने उर्वर युवा मस्तिष्क र पारखी हातहरू विदेश पलायनका लागि विवश भए । फलतः आर्थिक विकास हुनु त कता हो कता राष्ट्रिय क्षतिमाथि थप क्षति बेहोर्नुपर्ने परिस्थितिको सिर्जना भयो ।

आफ्नो देशको आर्थिक विकास गर्ने इच्छा भए युवाहरूले ठूलो योगदान पु¥याउन सक्छन् । यसै सन्दभृमा यहाँ केही युवाहरूले विभिन्न किसिमका संगठनहरू स्थापना गरी केही काम गर्ने प्रयास गर्नु सराहनीय कुरा हो र यसलाई निरन्तरता दिनुपर्छ । नेपाल सरकारले भविष्यका कर्णधार भन्दै युवा विद्यार्थीहरूका लागि प्रत्येक वर्ष अर्बाैँ रुपियाँ परम्परागत शिक्षामा लगानी गरेको छ । परन्तु सरकारले युवाहरूको चाहनाअनुरुप युगानुकूल प्राविधिक शिक्षाका लागि प्रयत्न गर्न ढिलो भएको छ । यसतर्फ यथाशिघ्र सम्बन्धित पक्षको ध्यान जान नितान्त आवश्यक छ । आज सूचना र सञ्चार प्रविधिले विश्वका धेरै परम्परागत प्रणाली र मान्यतामा आमूल सकारात्मक परिवर्तन ल्याएको छ । दक्ष व्यक्तिको निम्ति विश्वमा धेरै रोजगारिका अवसरहरू छन् । यति मात्र होइन, विश्वका धेरै देशहरूमा आर्थिक विकासका लागि सूचना तथा सञ्चार प्रविधि बरदान साबित भएको छ ।

नेपाल सरकारले केही दशकअघि प्रकाशमा ल्याएका नीतिनियमहरूमा सूचना तथा सञ्चार प्रविधिलाई विश्व मानचित्रमा अंकित गर्ने निर्णय लिएको थियो । यसका कार्यनीतिहरूमा यहाँका युवाहरूलाई उक्त क्षेत्रमा आकर्षित गर्न ‘बिजनेस इन्कुबेटर’ को समेत रेखांकन गरिएको थियो । तर, यसलाई व्यवहारमा उतार्न सकिएन । वर्तमान समयमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वमा देखिएका सकारात्मक लहरबाट प्रभावित भएर नेपालमा बर्सेनि सरदर चार हजारभन्दा बढी सूचना तथा सञ्चार प्रविधिका विज्ञहरू रोजगारीको खोजीमा भौतारिन्छन् । तर सरकारको कमजोर व्यवस्थापनका कारणले उनीहरूमध्ये धेरैले स्वदेशमा रोजगारी पाउन सक्दैनन् र विदेश पलायन हुन बाध्य हुन्छन् । सूचना तथा सञ्चार प्रविधिको विकास जुन गतिमा हुँदैछ त्यसलाई व्यापक अभियानको रूपमा सञ्चालन गर्न नेपाल सरकार केही पछि परेको छ । त्यसैले यस क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने उपयुक्त देखिन्छ । तर, यस क्षेत्रमा मात्र प्रचुर लगानी गरी स्वदेशमा ठूलो मात्रामा रोजगारी सिर्जना हुने कार्यलाई खास सहयोग हुने अवसर देखिँदैन ।

वर्तमान अवस्थामा नेपालमा भएको प्रत्यक्ष लगानीमा बैंकिङ क्षेत्र, होटल, रेस्टुराँ, स्वास्थ्य तालिम केन्द्र र सूचना तथा सञ्चार प्रविधि क्षेत्र हो । परन्तु यिनीहरूबाट अपेक्षित मात्रामा रोजगारी सिर्जना गर्न सकिएको छैन र यहाँको आर्थिक क्षेत्रमा पनि ठोस फाइदा हुन सकेको छैन । त्यसैले स्वदेशमा नै पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न सरकारले अधिकतम बेरोजगारहरूलाई रोजगारी प्रदान गर्न सक्ने खालका क्षेत्रहरूको पहिचान गरी यस्ता क्षेत्रहरूमा विशेष आकर्षणसहित लगानीआकर्षित गर्नुपर्ने अपरिहार्य आवश्यकता छ । यसबाट यहाँको आर्थिक विकासमा ठूलो योगदान पुग्न सक्ने आशा तथा विश्वास लिन सकिन्छ ।

कृषिप्रधान देश भएता पनि यहाँ प्रत्येक वर्ष अर्बाैँ रुपैयाँको खाद्यान्न आयात गरिन्छ । जबसम्म यहाँका युवाहरू कृषिमा संलग्न हुँदैनन्, तबसम्म आयात घट्ने सम्भावना देखिदैन । यहाँका युवाहरूलाई कृषिमा आकृष्ट गर्न एकतर्फ कृषिको व्यवसायीकरण गर्न आवश्यक छ भने अर्काेतर्फ मल, जल, उन्नत बीजबिजन र आधुनिक खेती गर्ने तरिकालाई विशेष जोड दिन आवश्यक छ । यति मात्र होइन, कृषिमा आधारित उद्योगहरूको प्रबद्र्धन तथा संवद्र्धनमा ध्यान दिनुपर्छ । यसो गर्न सकेमा आयात घटी निर्यात बढ्नेछ । फलतः यहाँको आर्थिक विकास हुन्छ । आज नेपाल ऊर्जाको संकटले ग्रसित छ । यस्तो अवस्थामा जलबिद्युत्, सौर्य, वायु र गोबर ग्याँस जस्ता ऊर्जाका स्रोतहरू अधिकतम मात्रामा प्रयोग गर्नसके ऊर्जाको संकट मात्र न्यून नभई यहाँको आर्थिक विकासमा समेत ठूलो सघाउ पुग्नेछ । तर यसका लागि यहाँका युवाहरूलाई उपयुक्त प्राविधिक शिक्षा तथा विभिन्न किसिमका तालिम दिई सक्षम पार्न जरुरी छ ।

जनसंख्याको आधा भाग ओगटेका महिलाहरूको विकास नभएसम्म नेपालको आर्थिक विकासले गति लिन सक्दैन । अतः यहाँका महिलाहरूको सर्वतोमुखी विकासका लागि यहाँका युवाहरू विभिन्न क्रियाकलापहरूमा सक्रिय भई आफ्ना जोश र जाँगर देखाउन कटिबद्ध हुनुपरेको छ । कुनै पनि राष्ट्रको अर्थिक विकासका लागि युवाहरू प्रभावशाली हुन्छन् । त्यसैले युवाहरूको आकर्षणलाई सरकारी तथा निजी क्षेत्रले व्यवसायीकरण गर्नु आर्थिक लाभ हो । युवा अवस्था खोज एवंम प्रयोगको अवस्था हो । तर उपयुक्त ज्ञान, अनुभव र परिपक्वताको कमीको कारण यहाँका धेरैजसो युवाहरू आफूमा आइपर्ने जोखिमप्रति पनि सतर्क हुन सकेका छैनन् । त्यसैले सम्बन्धित अभिभावक, शिक्षक र ज्येष्ठ नागरिकहरूले उनीहरूलाई उचित निर्देशन दिएर समयमै उनीहरूको मानसिकता तथा मनोविज्ञानको क्षितिज फराकिलो बनाइदिन जरुरी छ । मानव जीवनको सबैभन्दा सिर्जनशील, उर्जाशील र गतिशील समय भनेको युवा अवस्था हो । वास्तवमा आजका युवा भोलिका कर्णधार हुन् । त्यसैले उनीहरूलाई उपयुक्त शिक्षा दिई सक्षम बनाउनु सरकारको दायित्व हो । यति मात्र होइन, शिक्षा र विकासको घनिष्ठ सम्बन्ध भएकोले युवाहरू शिक्षित भई देशका कुनाकाप्चामा गई शिक्षाको ज्योति फैलाउनुपरेको छ । उनीहरूले एकातिर अन्धविश्वास र सामाजिक विकृतिहरूको विरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपरेको छ भने अर्काेतिर श्रम तथा सीपका उत्कृष्ठ उदाहरण प्रस्तुत गरी आत्मनिर्भर हुनुपरेको छ ।

यो ध्रुवसत्य हो कि युवा हाँसे मानव समुदाय हाँस्छ र युवा बरालिए मानव समुदाय नै बरालिन्छ । यथार्थमा भन्ने हो भने देश विकास गर्न युवाहरूले व्यक्तिगत स्वार्थलाई त्यागी सबल तथा सक्रिय नेतृत्व प्रदान गर्न प्रतिबद्ध हुनुपर्छ । यस प्रतिबद्धतालाई व्यवहारमा उतार्न यहाँका युवा तथा युवतीहरूबीच समन्वयका आवश्यकता छ । विगतमा हाम्रा नेताहरूले यहाँका युवाहरूलाई उपयुक्त जिम्मेवारी दिन नसकी केबल आन्दोलन, बन्द–हडताल, गुण्डागर्दी र ध्वंसात्मक कार्यहरूमा संलग्न गराएर आफूले मात्र फाइदा लिए । परन्तु उनीहरूले युवाहरूको हितको लागि खास केही गरेनन् । बेरोजगारीका समस्या दिन प्रतिदिन बढिरहेकाले कतिपय क्षमतावान् युवाहरू अष्ट्रेलिया, अमेरिका र युरोपका केही देशहरूमा रोजगारीको खोजीमा गएका छन् भने कतिपय कतार र दुबईमा अदक्ष कामदारहरूको रुपमा बाहिरिएका छन् । यहाँका युवाहरूको विदेशिने क्रम प्रतिदिन अन्दाजी १ हजार ५ सय छ । यसरी प्रत्येक दिन यति ठूलो संख्यामा विदेशिने युवाहरूलाई आ–आफ्ना क्षमता अनुसारको रोजगारी दिन सकेको भए देशको विकासमा केही योगदान पुग्न सक्थ्यो । परन्तु यस सम्बन्धमा कुनै पनि राजनीतिक दलका नेताहरूले खासै चासो देखाएनन् र आज यहाँका धेरैजसो युवाहरू उदासीन देखिन्छन् । हुन त विगतमा यहाँ युवा स्वरोजगार कार्यक्रम लागू नगरिएको होइन । परन्तु विभिन्न कमीकमजोरीका उक्त कार्यक्रम सफल हुन सकेन ।

प्रत्येक दलका नेताहरू आर्थिक समृद्धिका कुरा गरेर थाकेका छैनन् । तर उनीहरूले न त कुनै ठोस कार्य गर्न सकेका छन् न त यहाँका युवाहरूको परिचालनका लागि खासै तदारुकता देखाएका छन् । पर्याप्त रोजगारीको अवसर नहुँदा यसको असर जनसंख्यामा परेको छ किनभने रोजगारीको लागि विदेशिनेहरूमा ४४ दशमलव ८१ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका युवाहरू छन् । वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या निकै बढेकोले यहाँको गाउँघरमा श्रमको निकै अभाव छ । फलतः यहाँको कृषि उत्पादनमा ह्रास आई अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ । त्यसैले युवाहरूको लागि उपयुक्त सीपयुक्त तालिमहरू सञ्चालन गरी विभिन्न क्षेत्रमा रोजगारीको अवसरहरू सिर्जना गरी आफ्नै देशमा काम गर्न आकृष्ट गर्न नितान्त आवश्यक छ । यसो गर्न सकेमा भविष्यमा यहाँको आर्थिक विकासमा निकै टेवा पुग्नेछ ।

प्रतिक्रिया