पिएम कप पुरुष क्रिकेट : आर्मीको विजयी सुरुवात


काठमाडौं । कप्तान विनोद भण्डारीको शतक र राजेश पुलामी मगरको पाँच विकेटको सहयोगमा आर्मीले चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार पहिलो खेलमा गण्डकीलाई ९८ रनले हराउँदै आर्मीले विजयी सुरुवात गरेको हो । जितका लागि २ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ४८ ओभरमा विकेट गुमाउँदै १ सय ८९ रन बनायो । तल्लोक्रममा कप्तान बिपिन खत्रीले २५ बलमा २ चौका र ४ छक्का सहित ३७ रनमा अविजित रहे ।

गण्डकीका युवा ब्याट्सम्यान समिर कंडेलले ९० बलमा ५ चौका सहित सर्वाधिक ५० रनको योगदान दिए । युवा तीव्र गतिका बलर आकाश चन्दले चौथो ओभरको पहिलो बलमा ओपनर दीपेश खत्रीलाई १ रनमा एलबिडब्लू आउट गरेका थिए । दोस्रो विकेटका लागि अर्जुन कुमाल र समिरले ५२ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । रोहित कुमार पौडेलले १७ औं ओभरको अन्तिम बलमा जितेन्द्र मुखियाबाट ३६ रनमा क्याच गराउँदै साझेदारी तोडे । अर्जुनले ५४ बलमा ६ चौका प्रहार गरे ।

दीपक डुम्रे ४५ बलमा ४ चौका सहित २६ रनमा क्याच आउट भए । अविषेक थापा ९, विष्णु पान्डे १२, अमृत गुरुङले १, विशाल पौडेलले २ र सुबास भण्डारी शून्यमा क्याच आउट भए । लेग स्पिनर राजेश पुलामी मगरले ९ ओभरमा २ मेडन सहित २५ रन खर्चेर ५ विकेट लिए । अर्का पार्टटाइम स्पिनर भिम सार्कीले ७ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्द र रोहित कुमार पौडेलले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनायो । कप्तान विनोद भण्डारीले ७६ बलमा ९ चौका र ५ छक्का सहित १ सय ११ रनमा अविजित रहे । भण्डारीले ७३ बलमा ९ चौका र ४ छक्का सहित शतक पूरा गरेका थिए । अमृत गुरुङको ४९ औं ओभरको अन्तिम बलमा एक रन बटुल्दै विनोदले शतक पूरा गरेका थिए । भण्डारीको यो अन्तर्राष्ट्रिय र राष्ट्रिय दुबै प्रतियोगितामा पहिलो शतक हो ।
अन्तिम बलमा आउट भएका युवा ब्याट्सम्यान लोकेश बमले ३० बलमा ३ चौका र २ छक्का ४२ रनमा क्याच आउट भए । छैटौं विकेटका लागि विनोद र लोकेशले १ सय ३ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । आर्मीलाई ओपनर हरिकृष्ण झा र राजु रिजालले १८।४ ओभरमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । बाँकी १५ रन जोड्न प्रमुख दुई ब्याट्सम्यान गुमाएपछि गण्डकी खेलमा पूनरागमन गरेको थियो ।

कप्तान बिपिन खत्रीले दीपेश खत्रीबाट झालाई १४ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । २१ औं ओभरको चौथो बलमा बिपिनलेनै विकेटकिपर राजु रिजाललाई ४५ रनमा एलबिडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए । राजुले ७१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । स्पिनर विशाल पौडेलको २२ औं ओभरको तेस्रो बलमा रोहित कुमार पौडेल ठूलो सट खेल्नेक्रममा मिडअनमा चन्द्रकान्त पौडेलबाट १० रनमा क्याच आउट हुन पुगे ।

विशाललेनै २६ औं ओभरको पाँचौं बलमा भिम सार्कीलाई १५ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए । छैटौं विकेटका लागि लोकेश र विनोदले रनको आक्रामक साझेदारी गर्दै बलियो योगफलमा पुर्याए । विनोद र राजेश पुलामी मगरले पाँचौं विकेटका ७३ रनको साझेदारी गरेका थिए । राजेश ५२ बलमा ४ छक्का प्रहार गर्दै ३८ रनमा क्याच आउट भए । ४० औं ओभरको अन्तिम बलमा राजेशलाई दीपेशले समिर कंडेलबाट क्याच गराउँदै अर्धशतकीय साझेदारी तोडेका थिए ।

विशाल पौडेलले १० ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । कप्तान बिपिन खत्रीले १० ओभरमा १ मेडन सहित ७५ रन खर्चेर २ विकेट लिए । दीपेश खत्री र चन्द्रकान्त पौडेलले १–१ विकेट लिए । गण्डकीले दोस्रो खेल माघ ५ मा प्रदेश १ सँग मुलपानीमा खेल्ने छ । आर्मीले माघ ४ मा कर्णालीसँग मुलपानीमा खेल्ने छ ।

प्रतिक्रिया