बिपी सेवा केन्द्रद्वारा निःशुल्क प्राविधिक शिक्षा सञ्चालन

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाको डाइनियाँस्थित बिपी कोइराला सेवा केन्द्रले ग्रामीण क्षेत्रका युवायुवतीलाई प्राविधिक शिक्षामार्फत रोजगारी उपलव्ध गराउन पठनपाठन सञ्चालनमा ल्याएको छ । ग्रामीण क्षेत्रमा बसोवास गर्ने गरीब, विपन्न, सीमान्तकृत नागरिकको छोराछोरीलाई प्राथमिकता दिई प्राविधिक शिक्षामार्फत आफ्नो क्षेत्रमा रोजगारी प्राप्त गरी यस क्षेत्रको विकासमा सहभागी गराउने उद्देश्यले प्राविधिक शिक्षालयको व्यवस्था गरिएको सेवा केन्द्रका सचिव भोजराज कट्टेलले बताए ।

मोरङको सुनवर्षी नगरपालिका–९ स्थित डाइनियाँमा रहेको केन्द्रले आफ्नो तीन बिघा जग्गा रहेको भवनमा सिटिइभिटीमा सम्बन्धन प्राप्त गरी गत वर्षदेखि १८ महिने सिभिल सब ओभरसियर अध्यापन सुरु गरको छ । सुनवर्षी नगरपालिकाकाले अनुदानमा दिएको ४० लाख र प्रदेश–१ सार्वजनिक लेखा समितिका सभापति शिवनारायण सिंह गनगाईले सांसद विकास कोषबाट उपलव्ध गराएको २८ लाख रुपैयाँबाट प्राविधिक शिक्षा सुरु गरिएको हो ।

प्राविधिक शिक्षामा गत वर्ष ४० विद्यार्थी तथा यस वर्ष थप २५ जना गरी जम्मा ६५ जना छात्रछात्राले अध्ययन गरिरहेका छन् । अध्ययन गर्ने विद्यार्थीहरूमा छात्राको संख्या ५० प्रतिशत रहेका छन् भने विद्यार्थीहरू अधिकांश ग्रामीण क्षेत्रका विपन्न, सीमान्तकृत समुदायका रहेका छन् ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू सुनवर्षी, रतुवामाई, रंगेली नगरपालिका र जतुवा गाउँपालिका क्षेत्रमा बसोवास गर्ने रहेका छन् । प्रत्येक वर्ष ४० सिट रहेकामा १६ सिट निःशुल्क छन् । अन्यको न्यूनतम शुल्क रहे पनि सबैलाई चन्दा, अनुदान तथा जनप्रतिनिधिको सहयोगबाट शुल्कको भुक्तान गर्ने गरिएको केन्द्रले जनाएको छ ।

प्रदेश–१ सरकारले केन्द्रमा थप प्राविधिक विषयहरूमा अध्ययनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि ४ लाख ९५ पन्चान्नब्बेको बजेट स्वीकृत गरी आवश्यक भवन निर्माणका लागि ठेक्का स्वीकृत भई भवन निर्माणको कार्य प्रारम्भ हुने अवस्थामा रहेको सचिव कट्टेलले जानकारी दिए । केन्द्रले चालु आर्थिक वर्षमा डिप्लोमा इन सिभिल इन्जिनियरिरिङ कक्षा सञ्चालनका लागि सिटिइभिटीबाट स्वीकृत अन्तिम चरणमा पुगेको जनाएको छ ।

यसैगरी रोजगारीउन्मुख तथा मुलुकमा धेरै माग रहेको डिप्लोमा इन सर्बे इन्जिनियरिङ ( अमिन) विषय आगामी शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याउने भएको छ । अध्ययनरत छात्रछात्राहरूले केन्द्रमा गुणस्तरीय शिक्षा प्रदान भइरहेको, शिक्षक समयमा र दैनिक अध्यापन गराउनुका साथै हालसम्म आर्थिक समस्याको कारण शुल्क भुक्तानी गर्न नसकेको बताएका छन् । नयाँ शैक्षिक सत्रमा अध्ययनरत विद्यार्थीहरूले अध्ययन सुरु गरेको तर अहिलेसम्म शुल्क नबुझाएको बताएका छन् ।

केन्द्रको बुधबार सम्पन्न आठौँ वार्षिक साधारणसभामा नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले पारदर्शी रूपमा आर्थिक कार्य गर्न जोड दिँदै जनप्रतिनिधिहरूलाई केन्द्रमा सहभागी विद्यार्थीहरूलाई रोजगारीमूलक थप प्राविधिक शिक्षा उपलव्ध गराउन ध्यानाकर्षण गराएका थिए ।  सार्वजनिक लेखा समितिका सभापति गनगाईले पूर्वाधार निर्माणका लागि आवश्यक सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गदै कृषिको उत्पादन वृद्धि तथा रोजगार उपलव्ध शिक्षा मुलुकको आवश्यकता रहेको बताए ।

सुनवर्षी नगरपालिकाका कालिप्रसाद दासले किसान र गरिबका छोराछोरीलाई गुणस्तरीय शिक्षा अध्ययनका लागि आवश्यक पर्ने सहयोग नगरपालिकाले उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।  रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले केन्द्रले थप प्राविधिक तथा स्वास्थ्य शिक्षातर्फ ध्यान दिन आग्रह गर्दै नगरपालिकामा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराइरहेको जानकारी दिए ।

प्रदेश सभा सदस्य शान्ता पौडेल, केन्द्रका अध्यक्ष रामानन्द साह, उपाध्यक्ष नागेश्वरप्रसाद सिंह, कोषाध्यक्ष सुरेन्द्रप्रसाद सिंह, नेकाका यदु विष्ट र मदन संगौला, वडा–३ का अध्यक्ष टेकबहादुर विष्ट, सञ्चारकर्मी कुमोद अधिकारीले भवन निर्माणपश्चात थप रोजगारमूलक प्राविधिक शिक्षाको अध्यापन गराउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया