भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’

काभ्रे । नेपाली चलचित्रको विकास र विस्तार गर्ने लक्ष्यका साथ मिनी फिल्म सिटी बन्ने भएको छ । चलचित्र विकास बोर्डले बनेपा नगरपालिका–१० भैँसेपाटीमा अत्याधुनिक चलचित्र छायांकनस्थल (स्टुडियो) को निर्माणार्थ प्रक्रिया अघि बढाएको हो । यसका लागि वातारणीय प्रभाव मूल्यांकन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया सुरु गरिएको बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष दयाराम दाहालले बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणको प्रक्रियागत काम सुरु गरिएको जानकारी दिए । उनले भने, ‘भैँसेपाटीमा सबैभन्दा पहिला सुटिङका लागि एउटा भवन निर्माण हुनेछ, त्यसपछि क्रमशः सुटिङका लागि आवश्यकीय भवनलगायतका संरचना बन्दै जानेछन् ।’ उनका अनुसार ‘आउटडोर’ र यहाँबाट देखिने वातावरणीय सुन्दरतालाई ध्यानमा राखेर छायांकन स्टुडियो निर्माण हुनेछ ।

अध्यक्ष दाहालले इन्डोरमा अस्पताल, प्रहरी चौकी, कारागार, ठूला भवनका भित्री भाग देखिने खालका तथो प्रोटेबल सेटहरू निर्माण गरिने बताए । आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नेहरूका लागि चलचित्र म्युजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशनकक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण निर्माण हुने योजना बनाइएको छ ।

‘मिनी फिल्मी सिटी’ को अवधारणा लिइएको यस योजनाको जमिनका लागि वन मन्त्रालयमा कागजात पुगेको र वातारणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्ने काम अघि बढाइएको हो । स्टुडियो निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरिएको तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । उनले भने, ‘बनेपास्थित भैँसेपाटीमा सुटिङ स्टुडियो बनाउन उपयुक्त देखिएपछि बजेट विनियोजन गरिएको छ, यो पनि सौन्दर्य–विकासको एउटा पाटो हो ।’

चलचित्र छायांकन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको हो । बहुद्देश्यीय परियोजना भएकाले पहिलो चरणमा इन्डोर छायांकन स्टुडियोको डिपिआर बनाई काम सुरु गरिने जनाइएको छ । ‘नेपालमा हाल अत्याधुनिक छायांकन इन्डोर स्टुडियो, चलचित्रको इतिहास अध्ययन, म्युजियम नभएकाले अत्याधुनिक छायाङ्कन स्टुडियोको अवधारणा ल्याएका हौँ’, अध्यक्ष दाहालले भने ।

प्रतिक्रिया