लभ स्टोरीमा आधारित ‘एक लभर’ सार्वजनिक

काठमाडौं । ‘राम्रो इन्टरटेन्टमेन्ट’को ब्यानरमा निर्माण गरिएको लघुचलचित्र ‘एक लभर’ सार्वजनिक भएको छ । नेपालको समसामयिक सामाजिक परिघटनामा केन्द्रित रहेर यो चलचित्र तयार पारिएको हो । नेपाली युवायुवतीको विदेशमोह र त्यसले प्रेमसम्बन्धमा निम्त्याएको विषयलाई चलचित्रमा उठाइएको छ । रामजी ज्ञवालीको निर्देशन र दुर्गाप्रसाद ज्ञवालीको निर्माणमा तयार पारिएको यो चलचित्र आधा घण्टा लामो छ । चलचित्रमा प्रेम, बिछोड, रोदन मात्रै नभइ सुखद् विषयलाई समेत उधिनिएको निर्देशक ज्ञवालीले बताए ।

चलचित्रमा प्रेमीलाई भेट्न अस्ट्रेलिया जान खोजेकी एक युवतीले नेपालका एक धनाढ्य युवालाई प्रेमको नाटक गरी लाखौं खर्च गराएर जब अस्ट्रेलिया पुगेको विषयलाई उठान गरिएको छ । चलचित्रमा त्यो युवतीले नेपालका प्रेमीलाई एकाएक छोडिदिन्छे । तर, एक वर्षपछि जब ती युवती नेपाल फर्किएर पुराना प्रेमी खोज्दै आउँछे, त्यसबेला पहिलाका प्रेमीले बिहे गरेर अर्कै जीवन बाँचिरहेको कथा चलचित्रमा रहेको छ ।निर्देशक ज्ञवालीले यस्तो खालको घटना नेपाली समाजमा निरन्तर घटिरहेकाले चलचित्र बनाएको सुनाए । उनले भने, ‘हामीले सुनेको तर देख्न नपाएका यस्ता धेरै पात्र छन्, जसले कुनै न कुनै सन्देश दिन्छन् ।’

एक महिनाको लामो समयमा खिचिएको चलचित्र त्यसको ३ महिनापछि वल्र्ड प्रिमियर गरिएको हो ।निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखनमा तयारी चलचित्रमा अभिनेता शाहिल खान, अभिनेत्री अनुपमा भण्डारी, कलाकार राजेश थापा, सायसा बायलकोटी, सरु माझी लगायतका कलाकारको अभिनय छ । चलचित्र निर्माणका लागि निर्माता दुर्गाप्रसाद ज्ञवालीले १० लाख लगानी गरेका छन् । राम्रो इन्टरटेनमेन्ट सहनिर्माता रहेको चलचित्रका प्रमुख सहायक निर्देशक आर्यन अधिकारी हुन् । सन्दिप रसाइलीको म्युजिक तथा लिरिक्स रहेको गीतमा असिम केसीको स्वर रहेको छ ।

एलिस कार्कीको ब्याकग्राउण्ड म्युजिक, वसन्त घर्ती मगरको भिएफएक्स, नगिना श्रेष्ठको मेकअप रहेको चलचित्र वाइड क्यानभास फिल्मस् प्रोडक्सनले काम गरेको हो । चलचित्रको पोस्टर डिजाइनर विजय बस्याल हुन् । राजेन्द्र मोक्तान कलरिस्ट रहेको चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् भने शाहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया