‘जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारमाथि सरकारबाट प्रहार भइरहेकाे छ’

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको बताएका छन् । माघ १ गते पर्ने विभिन्न पर्वहरुको उपलक्ष्यमा शुभकामना प्रकट गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

‘थारु, मगर, छन्त्याल लगायतका समुदायहरुले आफ्नो मौलिकता अनुसार मनाउने माघी, माघेसङ्क्रान्ति र माघेसकरातीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘नयाँ वर्षको आगमनको रुपमा मनाइने यो पर्व सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर आफ्ना परिवारका सदस्यहरु माझ हर्षोल्लासपूर्ण मनाउन आग्रह पनि गर्दछौं ।’

नेपाली समाजका आफ्नै मौलिक परम्परा र संस्कृति रहेका उल्लेख गर्दै उनले भनेका छन्, ‘विभिन्न भू–भागमा छरिएर रहेका समुदायका यस्ता चाडपर्वहरु राष्ट्रको समुच्च मौलिक पहिचान हो ।’

उनले अगाडि भनेका छन्, ‘भौगोलिक विविधतायुक्त नेपालका सामुदायिक सांस्कृतिक सहिष्णुता र पारस्परिक एकता परम्परागत धरोहर हुन् । यिनै मार्फत नेपालीहरुमा आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको विकास भएको हो ।’

प्रचण्डले भनेका छन्, ‘नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको हो । तर, नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न यस पर्वको अवसरमा आदिवासी जनजाति लगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा प्रचण्डले अपिल गरेका छन् ।

प्रतिक्रिया