निर्माण हुँदै एकीकृत तामाङ नमुना बस्ती

भूकम्पबाट क्षतिग्रस्त घर नजिकै निर्माण गरिएको जस्ताको टहरामा बस्दै आएका हर्कबहादुर कहिले नमुना घर निर्माण हुन्छ र बस्न पाइएला भनेर पर्खिरहेका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डनको तीनधाराको घरको तल्लोपट्टीको बारीमा बन्दै गरेको नमूनाबस्ती सम्पन्न नहुँदा उनी जस्ताको टहरामै बस्दै आएका छन् । ७३ वर्षीय उनी बस्ती निर्माणको कामले गति लिएकाले अब भने पक्की घरमा बस्न पाइने आशा छन् । उनले आफ्नो बारीसमेत एकीकृत नमुनाबस्ती बनाउन उपलब्ध गराएका छन् । ‘अहिलेसम्म बनाएर घर सम्पन्न भएको छैन, सकेपछि रोजेर बस्न पाइन्छ भन्नेछ,’ उनले भने, ‘बस्ती निर्माणको लागि उपलब्ध गराएको जग्गाको पैसा पनि पाइएको छैन, घर भने निर्माणाधीन अवस्थामा रहेकोले खुसी छु ।’ बस्ने घर पक्की नभएपछि कहिले भूकम्पले चर्केको घरमै टाल्दै त कहिले टहरा सार्दै बस्ने गरेको उनले बताए ।

एकातिर बस्ने घरको अभाव, अर्कोतिर लिफ्टिङ खानेपानीको भरमा बस्नुपर्दा समस्या झेलिरहनुपरेको उनले बताए । अर्का स्थानीय बासिन्दा सार्कीमान तामाङ पनि भूकम्पले चिराचिरा पारेको घरमै जसोतसो टालटुल गरेर बस्दै आएका छन् । ‘केहीले घर बनाएर बसिसकेको छ, केही तल बेँसी झरिसकेका छन्, हामी भने यही बस्तीलाई नमुना बनाउने भनेपछि नयाँ घर बन्ला र बसौँला भन्ने आशामा बसिरखेका छौँ,’ उनले भने, ‘नापजाँच गर्न सुरु गरेको दुई÷तीन वर्षमा बल्ला निर्माणको कामले गति लिएको छ ।’ करिब ५५ घरधुरी रहेको सो बस्तीमा भूकम्पपछि केही परिवार तल बँेसी हल्देटारमा झरिसकेको उनले बताए ।

उनी मात्रै होइन, त्यसरी भूकम्पपश्चात समस्याकै बीचमा बस्दै आएका ३० घरपरिवार निर्माणाधीन नमुना पक्की घरमा बस्न पाउने छन्् । अहिले ३० घरधुरीको लागि निर्माण भइरहेको एकीकृत नमूना बस्तीमा करीब १६ घरको छाना हालिसकेको र बाँकी १४ घरमध्ये केहीको जग राख्दै र केहीको निर्माण भइरहेको छ ।

हाल निर्माण भइरहेको नमूना बस्तीको काममा एक घरपरिवारले सय दिन श्रम गर्नुपर्नेछ । त्यसपछि श्रमको मूल्य पाउँछ भन्ने छ तर कसरी कति पाउँछ भन्ने अहिलेसम्म निर्णय नभएको सार्कीमानले बताए । त्यसरी निर्माण भएको काममा सबै जनशक्ति स्थानीयस्तर बाटै पूर्ति भइरहेका छन् । पुनःनिर्माणको क्रममा पहिला एक साताको तालीम लिएका उनीहरूले इञ्जिनियरको निर्देशनअनुसार निर्माणको काम भइरहेको छ । सो क्रममा निरन्तर इञ्जिनियरले रेखदेख गरिरहेका छन्् ।
सो बस्ती निर्माणका लागि प्राविधिकको रूपमा काम गरिरहेका सबइञ्जिनियर दिनेश सुवालका अनुसार बस्ती निर्माणका लागि जिम्मा लिएका कारितास नेपालले सबै अनुदान उपलब्ध गराउने गरी काम गरेको छ । पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ उपलब्ध गराएपछि बाँकी कामको जिम्मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई नै दिएको थियो । उनले भने, ‘कतिपय घर निर्माण भएर अन्तिम किस्तासमेत पाउने बेला भए पनि अझै दोस्रो किस्ता कहिले आउँछ भन्ने नै टुंगो छैन ।’ कारितासले उपलब्ध गराएको विवरणमा पहिलो किस्ता नै लिएको नदेखेका कारण प्रक्रिया अगाडि बढाउन समस्या भएको भन्ने जानकारी आएको उनले बताए ।

ह््याविट्याट फर हुमानिटी संस्थाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेपछि अहिले निर्माणको काम अगाडि बढेको हो । उनका अनुसार अबको तीन महिनामा सबै सम्पन्न गरिसक्ने छ । पूर्णरूपमा सम्पन्न भइसक्दा एक घर बराबर १० लाख ५० हजार लाग्नेछ । त्यससँगै करिब ५० लाखको लागतमा नमुना बस्तीभित्र नै एक सामुदायिक भवन र सांस्कृतिक भवनसमेत निर्माण गर्ने लक्ष्य छ । सो बस्ती निर्माणमा लागि परेका अगुवा रामबहादुर तामाङकाअनुसार तामाङ एकीकृत नमुना बस्तीमा ३० वटा घर निर्माणको काम तीव्र रूपमा अगाडि बढिरहेको छ । जहाँ घरवास (होमस्ट)को परिकल्पनासहित निर्माण भइरहेको उनले बताए ।

त्यहाँ रहेको सबै तामाङ समुदाय भएकाले तामाङ संस्कार, संस्कृति र रीतिरिवाज झल्किने गरी बस्ती निर्माण हुनेछ । ‘बस्तीसँगै एउटा सामुदायिक भवन र अर्को सांस्कृतिक भवनसमेत निर्माणको काम अगाडि बढिरहेको छ,’ उनले भने, ‘बस्तीबाहेक सामुदायिक भवन निर्माणको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई (भवन)को आर्थिक तथा प्राविधिक सहयोगमा र अर्को सांस्कृतिक भवन वाग्मती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको छ ।’

प्रतिक्रिया