सबै नेपालीको साझा पर्व माघे संक्रान्ति

रमादेवी पौडेल

माघे संक्रान्तिका दिन किराँत वंशले काठमाडौं उपत्यकामा आक्रमण गरी विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रूपमा किराँत संवत सुरु भएको मानिन्छ । माघे संक्रान्तिसँगै बिहीबारबाट किराँत नयाँ वर्ष ५०७९ पनि सुरु भएको छ ।

 

सबैभन्दा धेरै नेपाली सहभागी भएर मनाउने सांस्कृतिक पर्व हो माघे संक्रान्ति । नेपालका धेरैजसो सांस्कृतिक पर्वहरू निश्चित जाति, क्षेत्र तथा समुदाय केन्द्रित छन्, तर माघे संक्रान्ति यस्तो सांस्कतिक पर्व हो, जुन इसाइ र मुसलमानबाहेक नेपालका सबै जातजाति, धर्मावलम्बी, भाषा–भाषी र क्षेत्रका जनताले मनाउँछन् । यसैगरी नेपालका प्रायः सबैजसो सांस्कृतिक पर्वहरू नेपाल संवत्मा आधारित छन् । तर, माघे संक्रान्तिलगायत ज्यादै थोरै पर्व छन् जो विक्रम संवतमा आधारित छन् ।

खसआर्य तथा मधेसी समुदायले माघे सक्रान्ति अर्थात मकर संक्रान्तिका रूपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती भनेर मनाउने गरेका छन् । त्यस्तै थारू समुदायले माघी र खिचरा पर्वका रूपमा मनाउने यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रूपमा मनाउँछन् । काठमाडौं उपत्यकाको नेवार समुदाय ‘घ्यो चाकु सन्हु’मा रमाउँदैछ । लिम्बु समुदायले माघे संक्रान्तिलाई कक्फेक्वा तङनामको रुमा मनाउँदै आएका छन् ।
नेपालका अधिकांश समुदायको साझा चाड रहेकाले माघे संक्रान्तिका दिन सरकारले सार्वजनिक बिदा दिएको छ । समुदाय विशेषमा यो पर्व मनाउने तरिका भने फरक छ । तर, सबैले आपसमा भेटघाट, रमाइलो र आफ्ना परम्परागत परिकारहरूका साथमा यो पर्व मनाउँछन् ।

मगर समुदाय
माघे संक्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे संक्रान्तिलाई मगरहरूको राष्ट्रिय पर्वका रूपमा मान्यता दिइएको छ । मगर समुदायमा तारो हान्ने खेल अत्यधिक प्रचलनमा छ । यस पर्वमा मगरहरूले धुमधामका साथ चेलीबेटी र पितृहरूको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुलबिना मगरहरूको संक्रान्ति अधुरो हुने भएकाले उनीहरू १५ दिनअघिदेखि नै जंगलबाट वन तरुल खनेर ल्याउने र संक्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन् । घरका पुरुषहरूले धनुषकाँडले तारो हान्दै पर्वमा रौनकता थप्छन् । उनीहरूले काठको फ्ल्याकमा अंगारले गोलो चिन्ह लगाई निसाना लगाउँदै तारो हान्छन् । तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तितेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खान दिइन्छ । मगर समुदायका केटाकेटीहरूचाहिँ साँझमा जम्मा भई घरघरमा गई ‘बासी आन्द्रा पाई कि नपाई’ भन्दै सोध्दै रमाइलो गर्छन् । घरमा रहेका मानिसले ती केटाकेटाहरूलाई बचेखुचेका खानेकुरा दिन्छन् अनि केटाकेटीहरू रमाउँदै अर्को घर जान्छन् ।

थारूको माघी महान पर्व
थारू समुदायले माघे संक्रान्तिलाई ‘माघी’ भन्छन् भने यो थारू समुदायका लागि महत्वपूर्ण चाड हो । माघी पर्व मेचीदेखि महाकालीसम्मका थारू समुदायले विशेष उल्लासका साथ मनाउँछन् । मध्य र सुदूरपश्चिमका थारू समुदायको बस्तीमा माघी उत्सव विषेश खालको हुने गर्छ । माघ १ गते थारू समुदायको नयाँ वर्ष सुरु हुन्छ । थारू समुदायमा ‘माघी पर्वमा पुरानो वर्षको समीक्षा र आगामी वर्षका लागि नयाँ योजना बनाउने काम गरिन्छ । मान्यजनहरूसँग आशीर्वाद लिने, आफूभन्दा सानालाई आशिष दिने र सम्बन्धहरू नवीकरण गर्ने दिन हो । माघी मनाउन थारूहरू बिदा लिएर टाढाटाढाबाट आफ्नो गाउँघर फर्किन्छन् । चेलिबेटीहरूलाई घरमा बोलाउने, मीठा परिकार खाने–खुवाउने र नाचगान गाउने चलन छ । माछा, सुँगुरको मासु, मुसाको मासु, घोंगी, ढिक्री, जाँड, रक्सी थारू समुदायका विशेष परिकार हुन् । यी परिकार पकाउनका लागि आवश्यक सामग्रीहरूको जोहो गर्न दुई महिनादेखि दौडधुप सुरु हुन्छ ।

थारू समुदायले गाउँको मुखिया चुन्ने काम पनि माघी संक्रान्तिमै गर्दछन् । साथै कमैया र कम्लहरी प्रथा नहटुन्जेलसम्म उनीहरूले काम जारी राख्ने कि छाड्ने निधो पनि यही दिनमा हुन्थ्यो । हाल कमलरी र कमैया प्रथा हटिसके पनि जमिन्दारहरूको खेतबारी जोत्ने (अधिया लगाउने) काम भने कायमै छ र यसको निर्णय पनि माघ महिनामै गर्ने चलन कायमै छ । माघ महिनामा मघौटा नाच नाच्ने गरिन्छ । सो नाचमा गाइने ‘सखिय हो, माघीक गुरी–गुरी जाँड’ भन्ने गीत निकै चर्चित पनि छ ।

किराँतको नयाँ वर्ष ५०७९
माघे संक्रान्तिका दिन किरात वंशले काठमाडांै उपत्यकामा आक्रमण गरी विजय हासिल गरेको र सोही विजयउत्सवलाई संवतका रूपमा किरात संवत सुरु भएको मानिन्छ । माघे संक्रान्तिसँगै बिहीबारबाट किराँत नयाँ वर्ष ५०७९ पनि सुरु भएको छ । पूर्वमा ताप्लेजुङसँगै पाँचथर, तेह्रथुम, इलाम, धनकुटा र संखुवासभामा बसोवास गर्ने लिम्बू समुदायले सोमबार धुमधामका साथ किराँत नयाँ वर्ष मनाइरहेका छन् । किराँती राजा यलम्बरको शासन सत्तासँग इतिहास जोडिएको किराँत सम्बत नेपाल सम्बतभन्दा ३ हजार ४ वर्ष जेठो रहेको छ । माघे संक्रान्तिलाई किराँत लिम्बूहरूले यले तङबेसँगै ककफेवा तङनाम भनेर पनि मनाउने गर्छन् । माघ १ बाट उच्च पहाडमा पाइने दुर्लभ प्रजातीको सेतो चाँप फुल्ने भएकाले मकर संक्रान्तीलाई ककफेवा तङनाम भनिएको हो । आजको दिन लिम्बूहरू परम्परागत भेषभूषामा सजिएर आफन्तकहाँ जाने, धान नाच र च्याबु्रङ नाच्ने तथा मान्यजनका हातबाट बनतरुल पोलेर टीका ग्रहण गर्ने परम्परा रहेको छ ।

खसआर्य
खसआर्य समुदाय अर्थात बाहुन, क्षेत्री, ठकुरी, सन्यासी तथा पहाडी दलितले बिहानै नुवाइधुवाइ गरेर खिचडी खाने गर्छन् । घ्यु, मासको दाल र चामल मिसाएर खिचडी बनाएर खाने चलन छ । विषेश त सखरखण्ड, तरुल र पिँडालु उसिनेर खाने चलन छ । कतिपयले घरमा मासको फुरौला पनि बनाउँछन् । दिउँसोको खाजाको रूपमा सेलरोटी पकाएर खाने चलन पनि छ ।

धार्मिक मान्यताअनुसार पनि खसआर्यहरूको माघ महिना विषेश हुन्छ । सामान्यतया पुस महिनामा विवाह व्रतबन्धजस्ता कार्यक्रम नहुने हुँदा माघ सुरु भए लगत्तै विवाहलगायत शुभकार्य गर्ने चलन छ । गाउँघरमा माघ लागेपछि जाडो सकिएर गर्मी सुरु हुने विश्वास पनि छ । १२ वटा महिना, ६ वटा ऋतुहरू अनि १२ वटै मसान्त र १२ वटै संक्रान्तीहरू, विक्रम संवतका यी महत्वपूर्ण गणकहरू हुन् । मेष (वैशाख) संक्रान्तीबाट सुरु भएका वर्षका दिनहरू क्रमशः विभिन्न मसान्त र सक्रान्ती हुँदै चैत मसान्तमा अन्त्य हुन्छ ।

माघे सक्रान्तिका दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् । पृथ्वीका उत्तरी र दक्षिणी ध्रुव छन् । सूर्य र पृथ्वीको दिशालाई ध्रुवको अवस्थितीका आधारमा गणना र मापन गरिन्छ, आजवाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछन्, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजवाट हिँउद घट्दै जाने र वसन्तका साथै ग्रिष्म बढ्दै जाने मान्यता छ । यसकारण पनि आजको दिनलाई उत्तरायण पनि भनिन्छ ।

माघे संक्रान्तिका विभिन्न धार्मिक र पौराणिक मान्यताहरू छन् । भीष्म पितामहलाई इच्छा मृत्युको वरदान थियो, रणभूमीमा अर्जुनका धनुवाणहरूले सर्वत्र छेडेका भीष्म पितामहले आजकै दिन मृत्युको इच्छा जाहेर गरेर बिदा भएको कुरा महाभारतमा उल्लेख छ । आजको दिन विभिन्न घाटहरू, नदीहरू अनि पवित्रस्थलमा स्नान गर्ने तीर्थालुहरूको भिड रहन्छ, नवलपरासीको देवघाट, सुनसरिको चतरा, कालीगण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौ शंखमूलको वाग्मती किनार आदि ठाउँहरूमा स्नान गर्ने श्रद्धालुहरूको घुँइचो रहन्छ । यसरी माघी नुहाइसकेपछि तिलको सुकेको बुट्यान बालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पापमोचन हुने जनविश्वास छ । धर्मशास्त्रका अनुसार उत्तरायणलाई सकारात्मकता तथा दक्षिणायनलाई नकारात्मकताको प्रतीक मान्ने गरिन्छ । शास्त्रको अनुसार उत्तरायणको ६ महिना देवताहरूको एक दिन हुन्छ भने दक्षिणायनको ६ महिना देवताहरूको एक रात ।

प्रतिक्रिया