अगुवाको भूमिका

भोजराज पोखरेल

विभिन्न मुलुकमा काम गर्दा वा यात्राको दौरानमा कतिपय सरकार प्रमुखले यात्राको व्यवस्थापन आफैं गरेको, जहाजमा सामान्य नागरिकसरह जहाँ जुन सिट खाली छ त्यसैमा बसेको, सार्वजनिक सवारी प्रयोग गरेको, आफ्नो व्यक्तिगत काममा सरकारी साधन र स्रोत प्रयोग नगरेको वा आफ्ना सामानको आफैंले बोकेको वा व्यवस्थापन गरेको जस्ता कुरा सम्झँदा हामी र हाम्रामा त्यो चेत छिटो आओस् भनेर प्रार्थना गर्ने बाहेकको विकल्प के नै छ र ?

घटना केही वर्ष अघिको हो । जुन बखत नेपालमा भूतपूर्व पदाधिकारीले के सुविधा पाउने, के सुविधा नपाउने वा थोरै–धेरै जस्ता विवाद उत्कर्षमा थिए । त्यो समयमा म जेनेभामा स्विट्जरल्यान्डकी पूर्वराष्ट्रपति रुथ ड्रिफुस गायतलगायत केही पूर्वसरकार प्रमुख वा राष्ट्र प्रमुखसँगको एउटा कार्यक्रममा थिएँ । कुनै एक दिन, साँझको कार्यक्रम सकिएपछि उनै पूर्वराष्ट्रपति र म सँगै निस्कियौँ । बाहिर आएपछि, ऊनीसँग बिदा हुनुअगाडि एउटा सामान्य शिष्टाचारवश उनी गएपछि बाटो लाग्छु भनेर उनीसँगै अडिएँ । पूर्वराष्ट्रपतिको हैसियतले उनलाई लिन सरकारी गाडी आउला भन्ने मैले ठानेको थिएँ । त्यहाँ भएको एकैछिनको भलाकुसारीपछि पो म छक्क परेँ, उनी त्यहाँबाट १० मिनेट पैदल हिँडी २० मिनेटको रेलयात्राबाट घर जाने रहिछन् । मेरो जिज्ञासामा उनले त्यतिखेर आफू सार्वजनिक जिम्मेवारीमा नभएकोले जनताको राजस्वको उपभोग गर्ने अधिकार पनि आफूमा नभएको कुरो प्रष्ट पारिन् । स्विट्जरल्यान्डजस्तो अति सम्पन्न मुलुकले पूर्वराष्ट्र प्रमुखहरूलाई नसकेर यो सुविधा नदिएको पक्कै होइन ।

आयरल्यान्डकी पूर्वराष्ट्रपति मेरी रविन्सन र म एउटा मिसनमा सह अध्यक्षको हैसियतले संलग्न थियौँ । उनको सादगीपन, सरलता, सामान्य जीवन, गहन अध्ययन र रहनसहन देख्ता उनी पूर्वराष्ट्रपति हुन् भनेर कल्पनासम्म पनि गर्न नसकिने पाउँथेँ म । अरूलाई अह्राउने होइन, जुनसुकै काम पनि आफैंले गर्न अग्रसर हुने न कुनै अहं, न कुनै बडप्पन ! अन्तरात्मादेखि नै त्यसै श्रद्धा जाग्ने व्यक्तित्व थियो उनको । यो क्रममा मैले सर्वाधिक आदर गरेका र सहकार्यसमेत गरेका स्वर्गीय कोफी आननको विषयमा केही थोरै नै भए पनि यहाँ उल्लेख गर्न चाहन्छु । आननलाई म एउटा आदर्श पात्रको रूपमा हेर्दछु, जसले मलाई विश्वास गरेर उनको टिममा समावेश भई केही योगदान दिने मौका पनि दिए । उनमा सरलता, सहजता, विवेचनाको अद्भूत क्षमताजस्ता अनेकौँ दुर्लभ गुण उदाहरणीय छन् । आफ्नो सुख र सुविधाको वास्ता नगरी अरूको समस्या र दुःखलाई प्राथमिकता दिने उनको नैसर्गिक प्रकृति नै थियो । सधैँ विश्व–शान्तिका बारेमा सोच्ने आननलाई राष्ट्र संघको महासचिवबाट निवृत्त भएपछि आफ्नो मुलुकको राष्ट्रपतिको पद स्वीकार गर्न अनुरोध गरिएको थियो । यस्तो उत्कृष्ट अवसरलाई पनि अत्यन्त सहजताका साथ त्यागी सामान्य नागरिकका हैसियतले विश्व–शान्तिको काममा आजीवन आफूलाई समर्पण गरे उनले । त्यागीको खडेरी परेका बखत त्यस्ता नेताको संझना मात्रले पनि केही शीतलता दिन्छ ।

विभिन्न मुलुकमा काम गर्दा वा यात्राको दौरानमा कतिपय सरकार प्रमुखले यात्राको व्यवस्थापन आफैंले गरेको, जहाजमा सामान्य नागरिकसरह जहाँ जुन सिट खाली छ त्यसैमा बसेको, सार्वजनिक सवारी प्रयोग गरेको, आफ्नो व्यक्तिगत काममा सरकारी साधन र स्रोत प्रयोग नगरेको वा आफ्ना सामान आफैंले बोकेको वा व्यवस्थापन गरेको जस्ता कुरा सम्झँदा हामी र हाम्रामा त्यो चेत छिटो आओस् भनेर प्रार्थना गर्ने बाहेकको विकल्प के नै छ र ?

हाम्रोमा जीवनको प्रत्येक पाइलामा राजनीतिक दलसँग आबद्ध नभई बाँच्न मुस्किल पर्ने मात्र होइन कि मर्दाका मलामीसमेत नपाउने जस्तो अवस्था छ । हाम्रो जस्तै प्रजातान्त्रिक प्रणाली सयौं वर्षदेखि प्रयोग गर्दै आएका मुलुकमा निर्वाचनको समय वा विशेष कारण परेको बखतबाहेक अरू सामान्य अवस्थामा दलहरू प्रायः अदृश्य अवस्थामा हुन्छन् शीतनिद्रामा सुतेका सर्पजस्तै । सन् २००९–१० ताका हार्वर्ड विश्वविद्यालयमा विद्यार्थी भएर बस्ता त्यहाँका प्रमुख दलका नेता वा अध्यक्ष को छन् भनेर सोधनी गर्दा ९९ प्रतिशत अमेरिकी साथीबाट थाह छैन भन्ने जवाफ मिल्थ्यो ।

त्यस्तै, आफ्नो कार्यकाल सकिएपछि त्यस्ता पदाधिकारी फेरि तेही सत्ता र राजनीतिक तानामानामा नलागी आ–आफ्ना व्यवसाय सम्हाल्न वा निवृत्त जीवनतर्फ लागेको देखेँ । जटिल अवस्थामा बाहेक आफूपछि सत्तामा आएका दल वा व्यक्ति विशेषका बारेमा टीकाटिप्पणी गरेको विरलै सुन्न, देख्न पाइन्छ । दुःखका साथ भन्नुपर्छ, केही अपवादबाहेक हाम्रो नेतृत्व नांगो बादशाहको स्थितिमा पुग्दासम्म सत्तामै रमाउन खोज्दछ ।

क्यानडाका जोय क्लर्क ४० वर्षकै उमेरमा प्रधानमन्त्री बनेका थिए तर एक वर्ष नबित्तै प्रधानमन्त्री पदबाट हात धुन पुगे । त्यसपछि उनी कहिल्यै त्यो पद पुनः प्राप्तिमा लागेनन्, बरु आफूलाई अध्ययन, अध्यापन र अन्तर्राष्ट्रिय शान्तिको कार्यमा लगाएर अहिले ८१ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन् । त्यति कलिलै उमेरमा प्रधानमन्त्री पदबाट बाहिरिएपछि फेरी त्यसमा किन चाहना भएन भन्ने मेरो जिज्ञासामा क्षमतावान् र योग्य व्यक्ति मुलुकले पायो भने आपूm किन वाधक बन्ने भन्ने उनको जवाफ थियो । विकसित मुलुकको मात्र होइन, अफ्रिका लगायतका अन्य गरिब मुलुकका पनि यस्ता उदाहरण छन् । प्रार्थना गरौँ, ढिलो चाँडो हाम्रो नेतृत्ववर्गमा पनि यस्तो भावना जागृत हुन सकोस् ।

वामपन्थी आन्दोलनबाट राष्ट्रपति भएका उरुग्वेका पूर्वराष्ट्रपति होस मुज्जिकाले सरकारी निवास मात्र होइन, सबै खालका शान सौगात त्यागेर आफ्नो पूर्ववत् अवस्थालाई निरन्तरता दिने उदाहरण प्रस्तुत गरेको समाचार हामीमध्ये धेरैलाई ज्ञात छ । हाम्रै सार्क राष्ट्रको कुरा गर्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्रीका लागि भनी व्यवस्था गरिएका महँगा गाडी र हेलिकोप्टर लिलाम गरेर सोको पैसा राजस्वमा जम्मा गराए । स्वेडेनजस्तो सम्पन्न मुलुकका प्रधानमन्त्री सामान्य एउटा अपार्टमेन्टलाई आफ्नो सरकारी निवास बनाउनमै खुसी देखिन्छन् । अगुवा वा विशेष पात्रको व्यवहार र भूमिकाले कस्तो फरक पार्छ भन्ने यी केही उदाहरण मात्र हुन् ।
(पूर्व प्रमुखनिर्वाचन आयुक्त पोखरेलद्वारा एक समारोहमा व्यक्त धारणाको अंश)

प्रतिक्रिया