एट्लेटिकोको ४ अंकको अग्रता

स्पेन । स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले ४ अंकको अग्रता कायम गरेको छ । मंगलबार राति भएको खेलमा सेभियामाथि २–० को जित निकाल्दै दुई खेल कम खेलेको एट्लेटिकोले सहरी प्रतिद्धन्द्धी रियल म्याड्रिडलाई ४ अंकले पछि पारेको हो । एट्लेटिकोको १६ खेलबाट ४१ अंक पुगेको छ । जसमा १३ जित २ बराबरी र १ हारको नतिजा छ । १८ खेल खेलेको दोस्रो स्थानको रियल म्याड्रिडको ३७ अंक छ । पराजित भएको सेभियाले चौथो स्थानमा उक्लने अवसर गुमाउदा छैटौ स्थानमा खुम्चिएको छ । सेभियाको १७ खेलबाट ३० अंक छ ।

घरेलु मैदान वान्डो मेट्रोपोलिटानोमा एट्लेटिकोको जितमा एन्जल कोरेय र साउल निग्वेजले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो । खेलको १७औं मिनेटमा नै एन्जेल कोरेयको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो । उनले काइरन ट्रिपिएरको पासमा गोल गरेका थिए । ७६औं मिनेटमा सउल निग्वेजले मार्काेस लोरेन्टेको पासमा गोल गर्दै एट्लेटिकोलाई २–० को सहज जित दिलाए । घरेलु टोलीविरुद्ध सेभियाले केही सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

प्रतिक्रिया