गणितिज्ञ पाइथागोरसको संघर्षगाथा

मिलन आफन्त

पाइथागोरस नै एक यस्ता गणितिज्ञ हुन्, जसले पहिलोपटक ज्यामितीय प्रमेयका लागि उत्पत्ति प्रणालीको जग बसाले । पाइथागोरसले यो पनि सिद्ध गरे कि कुनै पनि त्रिभुजका तिनै अन्तः कोणहरूको योग दुई समकोण हुन्छ । पाइथागोरसको प्रमेयको उपयोग विश्वभरी हुन्छ । उनको प्रमेयको नियमअनुसार कुनै समकोण त्रिभुजमा दुई भुजाहरूको वर्गको योग तेस्रो भुजाको वर्गको बराबर हुन्छ । त्यतिमात्र नभएर यिनले गणितको क्षेत्रमा धेरै महानकार्यहरू पनि गरेका छन् ।

महान् गणितिज्ञ तथा दार्शनिक पाइथागोरसको जन्म आजभन्दा करिब २५०० वर्ष अगाडि तत्कालीन युनानको नजिक सामोस नाम गरेको द्वीपमा भएको थियो । उनी बालककालदेखि नै गणित विषयमा चाख राख्दथे । उनी दार्शनिक प्रवृत्तिका व्यक्ति थिए । उनको समयमा त्यो ठाउँमा लिखित अभिलेख राख्ने कलाको विकास भएको थिएन तसर्थ उनका लिखित प्रमाणहरू हामी भेट्टाउँदैनौ तथापि उनको बारेमा पछिका विद्वान तथा लेखकहरूले जे भनेका छन्, जे लेखेका छन् त्यसलाई नै प्रर्याप्त आधार मान्नुपर्ने हाम्रो बाध्यता छ ।

इसापूर्व छैटौँ शताब्दीमा युनानीहरू धेरै नै धनी र अत्याधिक सभ्य थिए । पाइथागोरस पनि धनी परिवारमा जन्मेका थिए । उनले गरिबी कुन चराको नाम हो त्यो भोग्नु परेन । उनले शिक्षा पनि अत्यन्तै राम्रोसँग पाएका थिए । बालककालमै उनी अत्यन्तै प्रतिभाशाली थिए । १६ वर्षको किशोर अवस्थामा नै पाइथागोरसको बौद्धिक प्रतिभा यति उच्च भएर आयो कि उनको प्रश्नको उत्तर दिन शिक्षकहरू असमर्थ हुन्थे । उनको बौद्धिकताको कदर गर्दै उनलाई थेल्स अफमिलेटसको रेखदेखमा अध्ययनको बन्दोबस्त मिलाइयो । उनैसँग पाइथागोरसले विश्वविख्यात प्रमेयको सूत्रपात गरे र त्यस प्रमेयको प्रयोगात्मक प्रदर्शन पनि गरे । वास्तवमा पाइथागोरस नै एक यस्ता गणितिज्ञ हुन्, जसले पहिलोपटक ज्यामितीय प्रमेयको लागि उत्पत्ति प्रणालीको जग बसाले । पाइथागोरसले यो पनि सिद्ध गरे कि कुनै पनि त्रिभुजका तिनै अन्तः कोणहरूको योग दुई समकोण हुन्छ । पाइथागोरसको प्रमेयको उपयोग विश्वभरी हुन्छ । उनको प्रमेयको नियमअनुसार कुनै समकोण त्रिभुजमा दुई भुजाहरूको वर्गको योग तेस्रो भुजाको वर्गको बराबर हुन्छ । त्यति मात्र नभएर यिनले गणितको क्षेत्रमा धेरै महानकार्यहरू पनि गरेका छन् । अंक गणितका अंकहरूलाई यिनले शक्तिमा विश्वास राख्दै २ को अंक रेखा, ३ को अंक सतह, ४ को अंक घनत्व, ६ अंकआत्मा, ७ को अंक स्वास्थ्य र प्रकाश र ८ को अंकलाई प्रेमको द्योतकका रूपमा वर्गीकरण गरेका थिए ।

पाइथागोरसको समयमा अध्ययनका लागि यथेष्ट पुस्तकहरूको अभाव थियो । ज्ञानको लागि देश, विदेश चाहार्नु पर्दथ्यो र त्यहाँका विद्वानहरूसँग सम्पर्क गर्नुपर्दथ्यो । ज्ञान र शिक्षाका भोका पाइथागोरसले पनि ज्ञान र शिक्षाको लागि ३० वर्षसम्म फास्स, बेबीलोन, अरेबिया र भारतसम्मको भ्रमण गरे । उनले विदेश भ्रमण गर्दाका बखत गौतम बुद्धले आफ्नो धर्मको प्रचार गरिसकेका थिए । ५० वर्षको उमेरसम्म पाइथागोरसले धेरै ज्ञान प्राप्त गरिसकेका थिए । उनी एउटा यस्तो स्कुल खोल्न चाहान्थे, जहाँ उनले प्राप्त गरेको ज्ञानलाई बाँड्न सकियोस् ।

इसादेखि ५३२ वर्ष पहिला अत्याचारी शासनबाट बच्नका लागि पाइथागोरस आफ्नो गृह स्थान समोसबाट इटली भाग्नुप¥यो । इटलीको क्रोटोनमा इसापूर्व ५२९ मा पाइथागोरसले एउटा स्कुलको स्थापना गरे । त्यस स्कुलमा अंक गणित, ज्यामिति, संगीत र ज्योतिष विज्ञान गरी चार विषय पढाइहुन्थ्यो । त्यसको अलावा त्यस स्कुलमा युनानी दर्शनको शिक्षा पनि दिइन्थ्यो । पाइथागोरसको विचार थियो कि मानिसहरूलाई पवित्र जीवन बिताउन आवश्यक छ । उनमा विश्वास थियो कि पवित्र जीवनद्वारा मात्र मानिसको आत्मालाई शरीरको बन्धनबाट मुक्ती दिन सकिन्छ । उनको मृत्युपश्चात यो सिद्धान्तको थप विकास भयो, उनको दर्शनलाई पाइथागोरियन मत भन्न थालियो । पाइथागोरसजस्ता महान् गणितिज्ञ तथा दार्शनिक आज हाम्रोसामु नभए पनि उनको योगदान अमूल्य छ । त्यस्तै इ.पू. ५०७ तिर ७५ वर्षको उमेरमा उनको मृत्यु भएको थियो । उनको मृत्यु भए पनि उनले प्रतिपादन गरेको गणितका नियम, सूत्र र दार्शनिक मान्यता विश्वसामु यथावत् छन् । मृत्यु भएको दुई सय वर्षपछि पाइथागोरसको सिनेटमा विशाल मूर्ति बनाइयो र ती महान् गणितिज्ञ तथा दार्शनिकलाई युनानको महानतम् बुद्धिमान व्यक्तिको सम्मान दिइयो । महान् गणितिज्ञ तथा दार्शनिक पाइथागोरलाई विश्वासिले हिजो पनि सम्मानको दृष्टिले हेर्दथे, आज पनि हेर्दछन् र भोलि पनि हेर्नेछन् ।

प्रतिक्रिया