होबार्टको लगातार तेस्रो हार

सिड्नी । विग ब्यास लिग २०२०र२१ अन्तर्गत ३७ औं खेलमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सम्मिलित होबार्ट हरिकेन्स पर्थ स्कोचर्ससँग ९ विकेटले पराजित भएको छ । जितका लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको पर्थले १६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । पर्थका ओपनर जेसन रोय ५२ बलमा ८ चौका र ३ छक्का सहित ७४ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि लिभिङस्टोन र जेसन रोयले १४.२ ओभरमा १ सय २३ रनको साझेदारी गर्दै सहज जित नजिक पुर्याएका थिए । लिभिङस्टोनले ३९ बलमा ४ चौका र ४ छक्का सहित ५४ रन जोडे । स्कट बोल्यान्डले डेविड मलानबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । सन्दीपले ३ ओभरमा २३ रन खर्चिदा विकेट भने लिन सकेनन् ।

त्यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको होबार्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । होबार्टका ओपनर डार्सी सर्टले ४७ बलमा ७ चौका सहित सर्वाधिक ५४ रनको योगदान दिए । सिंगापुरका ब्याट्सम्यान टिम डेभिड २३ बलमा २ चौका र २ छक्का सहित ३१ रनमा अविजित रहे । कोलिन इनग्राम १८, पिटर ह्यान्डसकोम्ब १३ र मिचेल ओवेनले ११ रनको योगदान दिए । आरोन हार्डीले सर्वाधिक दुई विकेट लिए । यो होबार्टको लगातार तेस्रो हार हो । यसअघि मेलबर्न स्टार्ससँग १० रन र सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको थियो । होबार्टले अव जनवरी १८ मा सिड्नी थन्डरसँग खेल्ने छ ।

यस्तो रह्यो सन्दीपको तीन ओभर
होबार्टले सन्दीपलाई पाँचौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलो बलमा इंग्ल्यान्डका ओपनर जेसन रोयलाई दुई रन खर्चेका थिए । त्यसपछि सन्दीपले दोस्रो र तेस्रो बल लगातार डट राखे । चौथो बलमा भने रोयले सन्दीपलाई चौका प्रहार गरे । पाँचौं बलमा एक रन खर्चिए । अन्तिम बलमा इंग्ल्यान्डका ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई एक रन दिँदै आफ्नो पहिलो ओभर सके ।

सातौं ओभरको पहिलो बलमा सन्दीपलाई रोयले चौका प्रहार गरेका थिए । दोस्रो बल डट राख्दा तेस्रो, चौथो, पाँचौं र छटौं बलमा एक एक रन खर्चिए । सन्दीप ११ औं ओभरमा बलिङमा आउँदा पर्थ ८६ रन जोड्दा कुनै विकेट गुमाएको थिएन । रोयले पहिलो बलमा एक र दोस्रो बलमा लिभिङस्टोनले चौका प्रहार गर्दै सन्दीपमाथि दबाब बढाएका थिए । तेस्रो र चौथो बलमा एक एक रन खर्चिए । पाँचौं र छैटौं बल डट राखे ।

प्रतिक्रिया