राष्ट्रनिर्माताको संझना

आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती देशव्यापी रूपमा मनाइँदै छ । पृथ्वीजयन्ती सरकारी स्तरमा मात्रै होइन जनस्तरमा पनि त्यतिकै भव्यताका साथ मनाउने गरिन्छ । वास्तवमा नेपालमा कुनै व्यक्तिको जन्मजयन्ती जनस्तरमा सबैद्वारा भव्यताका साथ मनाइन्छ भने गौतम बुद्धपछि पृथ्वीनारायण शाहकै मनाइन्छ । जसरी गौतम बुद्धलाई एसियाको गौरवका रूपमा लिइन्छ, त्यसरी नै पृथ्वीनारायण शाह नेपालका गौरब हुन् । आज हामीले नेपालीका रूपमा विश्वभरी शिर ठाडो पार्दै जसरी गौरव गरिरहेका छौँ त्यो पृथ्वीनारायण शाहको देन हो । उनैको नेतृत्वमा निर्माण भएको देशमा हामी छौँ । गणतन्त्र स्थापनापछि केही वर्ष राज्यस्तरबाट पृथ्वीजयन्ती मनाइएन । राज्यस्तरमा निर्णायक तहमा रहेका पार्टीहरूले गणतन्त्र स्थापनापछि पृथ्वीजयन्ती मनाउनुको सान्दर्भीकता नदेखे पनि जनस्तरबाट भने निरन्तरता दिइयो । पृथ्वीनारायण शाहलाई भूतपूर्व राजाको रूपमा मात्रै हेर्नु भयंकर गल्ती हुने निष्कर्षमा करिबकरिब सिंगो मुलुक पुगिसकेको छ । उनी राजा मात्रै नभएर राष्ट्रनिर्माता पनि हुन् । त्यो युगमा राजाबाहेक अरूले एकीकरणको नेतृत्व गर्न नसकिने अवस्था थियो । त्यो खा“चो पृथ्वीनारयाण शाहले पूरा गरे ।

महामानवहरूको स्मरणमा विभिन्न कार्यक्रम गरिनु कर्मकाण्ड मात्रै होइन । उसका योगदानद्वारा नयाँ पुस्ताले प्रेरणा लि“दै जाउन् भन्नका लागि महामानवहरूको जन्मजयन्ती मनाउने परम्परा बसालिएको हो । तर, नेपालका सन्दर्भमा पृथ्वी जयन्ती कर्मकाण्डका रूपमा मात्रै सीमित हुँदै आएको छ । शासकहरूको अदूरदर्शिताका कारण पृथ्वीजयन्ती कर्मकाण्डका रूपमा सीमित हुन पुग्दा अनेक थरी विकृति उत्पन्न भए । पृथ्वीनारायण शाह को हुन् ? उनले कसरी योगदान पु¥याए, नेपाल एकीकरणका बेला उनले कसकसको कसरी साथ लिए ? के के चुनौतीको सामना गरे ? लगायतका पक्षहरूलाई कि त ओझेलमा पारियो, कि त गलत व्याख्या गरियो । पृथ्वीनारायण शाहको वीरताले नेपाल एकीकरण भएका कारण उनका वंशजले निर्वाध निरंकुश शासन गर्न पाउनुपर्छ भन्ने ढंगबाट मात्रै प्रचार अघि बढाइयो । जसका कारण पृथ्वीनारायण शाह बारे जनतामा भ्रम उत्पन्न भयो । यही भ्रमका कारण उनलाई विवादमा ल्याइयो । यतिसम्म कि उनको शालिकलाई निरंकुशताको प्रतिमूर्तिका रूपमा कतिपयले बुझ्न थाले ।

लोकतन्त्रका कारण जनतामा आएको जागरणसँगै पृथ्वीनारयाण शाहको योगदानबारे प्रायजसो नेपाली केही हदसम्म सुसूचित भइसकेका छन् । ढालिएका शालिकहरू उठिसकेका छन् । तर, धेरै कुरा सुसूचित गर्न बाँकी नै छ । मुख्य कुरा पृथ्वीरानायण शाहले गोरखा राज्य बिस्तार गरेको नभएर नेपाल एकीकरण गरेका हुन् भन्ने यर्थाथताबारे अझै पनि धेरै नेपाली अनभिज्ञ छन् । एकीकरण भनेको सहमतिका आधारमा गरिने काम हो । बिस्तार भनेको बलपूर्वक गरिने काम हो । तर पृथ्वीनारायण शाहले बलपूर्वक गरेको अभियानलाई मात्रै प्रचारमा ल्याइएको छ, गौरवगाथा बनाइएको छ । बलपूर्वक गरिएको अभियानका सहभागीहरूको कदर गरिनु सकारात्मक पाटो हो । तर, सहमतिका आधारमा एकीकरण गर्न जो जो खटिए उनीहरूको नामोनिशान छैन । सहमतिका आधारमा उनले गरेका काम तथा यो काममा संलग्न पात्रहरूलाई पूरै ओझेलमा पारिएको छ ।

जम्मा १२ हजार घरधुरी भएको अत्यन्त गरिब गोर्खा राज्यले नेपालजस्तो अत्यन्त धनी राज्यलाई सैन्यकारबाहीबाट मात्रै जित्यो भन्ने गाथा लेखिँदा नयाँ पुस्ताले पत्याउँदैन । यस्तै अपत्यारिला कतिपय प्रसंगले पनि पृथ्वीनारण शाहको योगदान विवादमा परेको हो । साथै पृथ्वीनारण शाहले सानातिना निर्णयमा पनि लोकको सहमति खोजेको पाइन्छ । बिसे नगर्ची उनका आर्थिक सल्लाहकार थिए । तर, यो पाटोलाई उनका उत्तराधिकारीहरूले पूरै बेवास्ता गर्दै निरंकुश शासन चलाउन खोजेका कारण पनि धेरै गडबढी भयो । वास्तवमा पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्ने हो भने मुलुकबाट लोकतन्त्र ‘डिरेल’ हुन दिनु हुँदैन ।

प्रतिक्रिया