काठमाडौं । नेपाली कला क्षेत्रमा योगदान दिएका करिब एक दर्जन कलाकारलाई सम्मान तथा पुरस्कृत गरिएको छ । नेपाल व्यावसायिक कलाकार संघले सानेपास्थित क्लासिक भेन्युमा बिहीबार आयोजना गरेको कार्यक्रममा चित्र, मूर्ति तथा डिजाइनका क्षेत्रमा योगदान दिएका कलाकारलाई पुरस्कृत र सम्मानित गरेको हो । अरनिको स्मृति दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा ‘क्रोधकला शिरोमणि परम्परागत कला पुरस्कार’ बाट मूर्तिकार श्याम दास (अशान्त), हेम–गंगा नारीप्रतिभा पुरस्कार भद्रकुमारी घले, अमात्य कला पुरस्कार कृष्ण प्रकाश शाह, सुरेन्द्र प्रधान दीर्घ कला साधना सम्मान वरिष्ठ कलाकार कृष्ण गोपाल रञ्जित, क्यान आइडियल व्यावसायिक कला अवार्ड अग्निराज पौडेल, हेम–गंगा युवा कला पुरस्कार कान्छाकाजी भासिमा, मुल्मी ग्राफिक डिजाइन अवार्ड कृष्णगोपाल श्रेष्ठ, निर्वाण कला सम्मान २०७७ मा सुनसरीका विक्रम श्री, क्यान सिग्देल आर्ट पुरस्कार कलाकार एवं कला लेखक दीपक कुँवर क्षेत्री र बालकृष्ण स्मृति कला पुरस्कार कलाकार दामोदार बराललाई प्रदान गरियो । साथै सो अवसरमा अग्रज कलाकार गोविन्दनारायण ज्यापु, समाजसेवी एवं रक्तदाता प्रेमसागर कर्माचार्य र हाल अमेरिकामा कलासाधना गरिरहेका कलाकार राजेन्द्र केसीलाई सम्मान गरियो ।
नेपाली कलाको विकासमा कलाकारको योगदान विशिष्ट रहँदै आएको जनाउँदै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले संघले कलाक्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए । उनले भने, ‘कलाकार र कलाक्षेत्रमा व्यवसायिक कलाकारको भूमिका सधैं सम्भनालायक रहिआएको छ । संघको संयोजनमा यस्ता कार्यक्रम आगामी दिनमा अझै परिष्कृत रुपमा अगाडि बढ्ने आशा राखेको छु ।’ सो कार्यक्रममा शताब्दी वाङ्मय पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशी, संघका अध्यक्ष आइबी मल्ल, प्रेम श्रेष्ठ, भोला पौडेल, क्यान सिग्देल आर्ट पुरस्कारका संस्थापक विष्णुप्रसाद सिग्देल, क्यान आइडियल व्यावसायिक कला अवार्डका संस्थापक सुन्दर श्रेष्ठ, हेम–गंगा कला पुरस्कारका संस्थापक गंगा पौडेल, मुल्मी ग्राफिक डिजाइन अवार्डका संस्थापक प्रा. राधेश्याम मुल्मी लगायतले बोलेका थिए ।
प्रतिक्रिया