दुईदिने कला महोत्सव

रुपन्देही । ललितकलाको संरक्षण, प्रवद्र्धन तथा विकास गर्ने लक्ष्यका साथ सुरु भएको दुईदिने ‘कार्यशाला, गोष्ठी तथा रुपन्देही कला महोत्सव २०७७’ सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभाग र अरनिको स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजनामा भएको दुई दर्जन बढी कलाकार सहभागी भएका थिए । नेवा पुच नेवा समाज विकास परिषद् र नेपाल व्यावसायिक कलाकार संघको सहयोगमा भएको सो कार्यक्रमको कार्यशालाको मंगलबार समाजसेवी तथा जनप्रतिनिधि ज्ञानु लिगलले उद्घाटन गरेका थिए । उनले नेवारी कला र संस्कृतिलाई जगाउँदै पर्यटनसँग जोडेर अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरिन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागका प्रमुख तथा प्राज्ञपरिषद सदस्य सुषमा राजभण्डारीले ललितकलाको विकासमा प्रतिष्ठानले निरन्तर काम गर्दै आएको बताइन् । उनले केन्द्रिकृत रुपमा रहेको कला वातावरणलाई प्रतिष्ठानले विकेन्द्रित गर्दै आएको जिकिर गर्दै त्यसैको कडीका रुपमा रुपन्देहीमा कार्यशाला तथा गोष्ठीको आयोजना गरेको सुनाइन् ।

उनले भनिन्, ‘कलाको विकास र विस्तारमा प्रतिष्ठानले योजनाबद्ध रुपमा काम गरिरहेको छ । यस कार्यमा सरकारसँग समन्वय गर्दै प्रतिष्ठानले देशव्यापीरुपमा कला माहोल निर्माणमा स्थानीय कलाकारसँग सहकार्यमा काम गर्ने आशा राखेको छु ।’ नेवा पुच कार्यालय भवन बुटवलमा मंगलबार र बुधबार भएको कार्यशालामा कलाकारले नेपाली, नेवारी संस्कृति र परम्परा झल्काउने बनाएका पुचका अध्यक्ष काजीमान श्रेष्ठ बताए । उनले परिषद्ले संस्कृति जगेर्नाका लागि विभिन्न दिवसमा कार्यक्रम गर्दै आएको जानकारी दिए । कार्यक्रममा कलाकार मन गोल्डीले कला र सभ्यताले मात्रै मानिसलाई चिनाउन सक्ने धारणा राखे । उनले रुपन्देहीमा चार पाँच दशकदेखि कलाको काम हुँदै आएको जनाउँदै कला र संस्कृतिको जर्गेना, विकास, संरक्षण तथा प्रवद्र्धनमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष तथा कलाकार केशव राज खनालले रुपन्देहीको कला विकासमा यस्ता कार्यशालाले विशिष्ट योगदान दिने विश्वास व्यक्त गरे । कार्यशालामा सहभागीमा कलाकार सुमित्रा रानाले मोफसल हुने यस्ता कलाशाला तथा गोष्ठीले कलाकारमा उत्साह र प्रेरणा भर्ने बताइन् । सो कार्यशालामा कलाकार प्राज्ञ गोविन्द चौधरी, मन गोल्डी, केशव राज खनाल, एचबी रम्तेल, लक्ष्मण श्रेष्ठ, नरबहादुर बिके, सुमित्रा राना, राजकुमार लिगल, शान्ता गिरि, बेनु थापा, भावना गोल्डी, डोलबहादुर आले, उदय घर्ती, अनुप बिक., विक्रम तरामु, जया थापा, राजु खड्का, अमर क्षेत्री, पुरन परियार, दीलिप रसाइली, विवेक शर्मा, सुमन नेपाली, विक्रम गुरुङ लगायतका कलाकार सहभागी भएका थिए । यसैबिच अरनिको स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजनामा २३ पुसमा अरनिको दिवसमा कार्यक्रम गरिने अध्यक्ष मन गोल्डीले बताए । अरनिको स्मृति प्रतिष्ठान र नेपाल व्यावसायिक कलाकार संघको आयोजनामा बिहीबार कार्यक्रम गरिँदैछ ।

प्रतिक्रिया