हिमाली क्षेत्रमा चिसो छल्न आगोको साहारा

मुगु । पछिल्लो समय चिसो बढ्दै गएपछि सदरमुकाम गमगढी बजारमा वसोबास गर्दै आइरहेका व्यापारी, गाउँघरका सर्वसाधारणहरू आगो ताप्दै दिन बिताइरहेका छन् । मुगुलगायतका कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा चिसोले जनजजीवन कष्टकर समेत बन्दै गएको छ । आइतबार अपराह्नदेखि मुगुलगायत कर्णालीका उच्च हिमाल क्षेत्रमा हिमपात भएको र बेसौमी वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदे महिना सुरु भएपछि हिमाली जिल्लाका मुगु, हुम्ला, जुम्ला, डोल्पा लगायतका स्थानहरूमा अत्यधिक मात्रामा चिसो हुने गर्दछ ।

अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्दछन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढ्दै गएपछि मुगुलगायत उच्च हिमाली क्षेत्रको जनजीवन झनै कष्टकर बनेको स्थानीयले बताएका छन् । तापक्रम पनि माइनस आठमा झरेको छ ।
चिसाले सरकारी तथा गैरसरकारी संघ संस्थामा सेवा प्रवाहमा पनि कठिनाइ भएको छ । चिसो बढेसँगै दैनिक रूपमा कार्य गर्दै आइरहेका काम पनि ठप्प भएका छन् । चिसोले गाई बाख्रा मेलापातमा पनि समस्या भएको स्थानीय रामकुसुम कार्कीले बताइन् ।

चिसोले शैक्षिक क्षेत्रमा पनि उत्तिकै असर पारेको छ । विद्यालयमा पठनपाठन गराउँदा आगो बाल्नुपर्ने अवस्था रहेको शिक्षकहरूको भनाइ छ । छाया क्षेत्र प्राथमिक विद्यालय तलीतुमका शिक्षक विराज कार्कीका अनुसार चिसो ह्वात्तै बढेकाले पठनपाठनमा पनि समस्या आउने गरेको बताए । चिसोमा आगो बालेर भए पनि पठनपाठन गराउँदै आएको बताए । यो वर्ष कोराना भाइरसका कारण लामोसमय विद्यालय क्षेत्र प्रभावित भएका र हिउँदे बिदा दिइँदै आएकोे विद्यालयमा पनि यो वर्ष हिउँदे बिदा नदिइएको स्थानीयतहहरूको भनाइ छ । गएका वर्षहरूमा मौसमअनुसार विद्यालय बन्द गरिने भएका भए पनि यो वर्ष त्यस्तो नभएको जनाइएको छ ।

प्रतिक्रिया