हुम्ला । पश्चिमी वायुको प्रभावले हुम्लालगायत कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाहरूमा हिमपात सुरु भएको छ । हिमपातले अधिकांश कर्णालीका उच्च भूभाग सेताम्य हुँदा चाँदीजस्तै टल्केका छन् । हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिका सदरमुकाम सिमकोटबाट सम्पर्क विच्छेत भएको छ । हुम्लाको अत्यधिक हिउँ पर्ने नाम्खा गाउँपालिका भएको कारण त्यहाँ दुई फिटसम्म हिउँ जमेको छ । नाम्खा गाउँपालिकाको वडा–६ मा पर्ने लिमी उपत्यकाको तिल, जाङ र हल्जी गाउँ जाने न्यालुलेक पनि बन्द भएको छ । त्यसको अलावा हिल्सा नाका पनि बन्द भएको छ । चीनबाट नेपालतर्फ जोड्ने हिल्सा नाका अब जेठ महिना सम्मका लागि बन्द हुँदा त्यहाँका वासिन्दा पूर्ण रूपमा सम्पर्कविच्छेद भएका छन् ।
हिमपात भएसँगै नाम्खा गाउँपालिकाको लिमी तिल, जाङ, हल्जी, चाला, मुचु, याङगार, यारी केर्मी लगायतका ठाउँमा चिसोले जनजीवन कष्टकर भएको छ । हिमपातको बेला घरभन्दा बाहिरसमेत निस्कन गाह्रो भएको छ । अब नाम्खा गाउँपालिकाको लिमीका वासिन्दा पनि जेठ महिनासम्म हुम्लाका अन्य भागमा आवतजावत गर्न नसक्ने गरी बन्द भएको छ । हिमपातले चिसो बढेपछि सदरमुकामलगायत जिल्लाका अन्य भूभागका पशु चौपायालाई घाँस र पानी खुवाउन समस्या देखिएको छ ।
त्यसै गरी हिमपातले उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा स्थापना यसै वर्ष भएको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल (बिओपी) लाई खानेपानीको समेत समस्या भएको छ । चिसोले खानेपानीको पाइपमा पानी जमेपछि नदीको पानी खान बाध्य भएको सीमा सुरक्षा हिल्सामा खटिएका सशस्त्र प्रहरीका इन्चार्ज सुरज केसीले जानकारी दिए । २२ जना सशस्त्र प्रहरी र १२ स्थानीयवासी गरी ३४ जना हिल्सामा रहेको केसीले बताए ।
चिसोले गर्दा हात मुख धुन पनि समस्या हुने गरेको छ । इन्धनको रूपमा प्रयोग हुने दाउरा लगायतका बन्दोबस्तीको सामान जोहो गर्न पनि अहिले हुम्लाका वासिन्दालाई समस्या भएको छ । हाल हुम्लाको तापक्रम माइनस सातभन्दा बढी रहेको छ । मंसिर महिनादेखि तापक्रम शून्यमा झर्ने हुम्लाको जनजीवन हिउँले गर्दा समस्या भएको छ । सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको समेत संख्या ह्वात्तै घटेको छ । गाउँबाट आउनका लागि प्रयोग हुने सबै घोडेटो बाटोमा हिउँ जमेको कारण एक गाउँबाट अर्को गाउँ जानका लागि समस्या भएको छ । हिउँ पहिरो, ढुँगा खस्ने लगायतको डरले ज्यान जोगाउनसमेत कठिन हुने हुम्लाका अधिकांश बाटो हाल जोखिममा रहेका छन् ।
हिमपातले चिसो मात्रै होइन एक जिल्लाबाट अर्को जिल्ला जानका लागि प्रयोग हुने विमानको हवाई सेवासमेत अवरुद्ध भएको छ । बाक्लो हिमपातका कारण हुम्लास्थित सिमकोट विमानस्थलमा हिजो प्राविधिक समस्याले रोकिएका तारा एयरका दुई विमान दिउँसो १२ बजे उडान नेपालगञ्जतर्फ गरेका थिए । विमानस्थलको हिउँ गाडीले सफा गरेपछि विमान प्राविधिक समस्या समाधान गरी नेपालगञ्जतिर विनायात्रु खाली नै उडान गरेका थिए । त्यसै गरी सदरमुकाम सिमकोटबाट सात किलोमिटर दक्षिणको खार्पुनाथ र पश्चिमको हेप्का सम्मको कच्ची सडक पनि हिउँ जम्दा गुड्न सकेका छैनन् । विकास निर्माणका काम पनि अवरोध भएका छन् ।
अर्कातर्फ किसानहरू जेठासी बालीको लागि सिँचाइ हुँदा खुसी भएका छन् । कात्तिक र मंसिर महिनामा छरेको गहुँ, जौ, उवा लगायतको बाली लामो समयदेखि हिमपात नहुँदा उम्रन नसक्दा किसान चिन्तित भएका थिए तर हिजो अपराह्नदेखि हिमपात हुँदा बालीनाली सप्रने भएको कारण किसान खुसी हुन थालेका हुन् । हिउँ पर्यटन भने बढेको छ । आन्तरिक रूपमा सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्ने कर्मचारी, स्थानीय हिउँमा फोटो भिडियो खिच्न पाउँदा दंग भएका छन् । कहिल्यै हिउँ नखेलेका कर्मचारीको लागि भने यो हिउँ वरदान भएको बताउने गरेका छन् । हुम्ला हिउँ आउने विहीबारसम्म पर्न सक्ने र शुक्रबारदेखि मात्र मौसम सफा हुने मौसम विभागको अनुमान रहेको छ । स्थानीय तहले हिमपातबाट बालबालिका र वृद्धवृद्धालाई विशेष चिसोबाट जोगिन गरिने विभिन्न उपाय अपनाई जिउ ज्यानको ध्यान पु¥याउन सूचना गरेको छ ।
प्रतिक्रिया