बन्द विद्यालय खोल्ने तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)महामारी कम हुन थालेको भन्दै विद्यालय खोल्ने तयारी शुरु गरेको छ । कोरानाभाइरस महामारीपछि बन्द भएका विद्यालयहरू खुल्नका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिने भएको हो । यद्यपी तत्कालै खुल्ने सम्भावना भने नरहेको स्रोतको भनाई छ ।  आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुला गर्ने निर्णय गरेको छ । विद्यालयहरु गत चैत महिनादेखी बन्द भएका छन् । केही पालिकामा भने विद्यालयहरु सञ्चालनमा आइसकेका छन् भने राजधानीका पनि केही विद्यालय खुलिसकेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले सरकारको पूर्वनिर्णय अनुसार रोक लगाइएको सबै क्षेत्रहरूमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिने निर्णय भएको बताए । कोभिडको संक्रमण कम भएको, बजारमा भीडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए÷नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय पनि गरेको छ ।

नयाँ प्रकारको कोरोनाभाइरस देखिएका संयुक्त अधिराज्य बेलायत लगायतका विभिन्न देशबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टिनमा बस्ने व्यवस्थाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसी निर्देशक समितिले गरेको छ । यस्तै, तेस्रो मुलुकबाट आउने व्यक्तिहरूलाई अनलाइन फारम भर्ने व्यवस्था मिलाइएकोमा त्यसलाई नयाँ भाइरसको कारणले अझ प्रभावकारी रूपमा भराउने सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले एअरलाइन्सहरूलाई निर्देशन दिने सम्बन्धी निर्णय भएको पनि सचिव गुरागाईंले बताए ।

प्रतिक्रिया