राज्यमन्त्रीको विश्वकीर्तिमान

काठमाडौं । लामो समयसम्म एकल गायन गरेर सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन थालेका मन्त्री मानन्धरले लगातार ४ घण्टा ५ मिनेट २० सेकेन्डमा गीत गाएका थिए । यसक्रममा उनले ५९ वटा गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । राज्यमन्त्री मानन्धरले वल्र्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका हुन् । उनले सबै गीतको रोयल्टीसमेत तिरेर गाएका थिए ।

सो कार्यक्रममा उनले राष्ट्रिय, आधुनिक र नेवारी गीत गाएका थिए । मन्त्री मानन्धरले गायक नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ लगायतले गाएका गीतको ट्रयाकमा आफ्नो प्रस्तुति दिएका थिए । यस विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहलो भएकोले वल्र्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको हो ।

बेलायतमा मुख्यालय रहेको वल्र्ड बुक अफ रेकर्डले मन्त्री मानन्धरको गायन प्रयासलाई विश्वकै पहिलो भएको जनाएको छ । मन्त्री मानन्धरले नेपालको कला र संगीत विश्वलाई चिनाउने प्रयास स्वरुप आफूले लामो समयसम्म एकल गायन गरेको बताए । सो कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्यले राजनीति र गायनलाई सँगै अगाडि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिइन् । उनले यस्ता कार्यत्रले नेपाललाई विश्वमा चिनाउन मद्दत पु¥याउने विचार व्यक्त गरिन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्री मानन्धरको प्रयासले नेपाललाई विश्वमा थप पहिचान दिने बताउँदै राज्यले कला तथा संस्कृतिको क्षेत्रमा काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया