जिल्लामा डेंगु र स्क्रब टाइफस संक्रमण

चितवन । जिल्लाका अस्पतालमा उपचार गर्न आएकामध्ये २ सय ४३ जनामा डेंगु र २ सय ८६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । गत साउनयता विभिन्न अस्पतालमा उपचार गर्न आएका उनीहरूमा संक्रमण पुष्टि भएको हो । डेंगु संक्रमितमध्ये चितवनका मात्रै १ सय ४९ र बाहिरी जिल्लाका ९४ जना छन् । डेंगुका सबै बिरामीको अवस्था सामान्य देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा डेंगुको संक्रमण दर गत वर्षभन्दा यस वर्ष कम छ । गत आर्थिक वर्षमा ४ हजार ८ सय ३ जनामा डेंगु संक्रमण देखिएको थियो । तीमध्ये तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख दीपक तिवारीले यस वर्ष डेंगु र स्क्रब टाइफस दुवैको जोखिम नरहेको जानकारी दिए । उनका अनुसार गत वर्ष रोकथामको काम प्रभावकारी भएकाले यस वर्ष कम संक्रमित भेटिएका हुन् । लक डाउनका समयमा चार÷पाँच महिना मानिस घरभित्रै बसेकाले पनि यसको संक्रमण दर बढ्न नपाएको उनले बताए ।

डेंगुले हरेक तीन÷तीन वर्षमा महामारीको रूप लिने बताइएको छ । जिल्लामा गत वर्ष नै डेंगुले महामारीको रूप लिएकाले यस वर्ष संक्रमण दर कम भएको कार्यालय प्रमुख तिवारीको भनाइ छ । डेंगु नियन्त्रणका लागि स्थानीयतहले पनि सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
यसैगरी हालसम्म जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये २ सय ८६ जनामा स्क्रब टाइफस संक्रमण भेटिएको छ । तीमध्ये चितवनका मात्रै १ सय ४९ तथा जिल्ला बाहिरका १ सय ३७ जना छन् । स्क्रब टाइफसको पनि जोखिम नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत आवमा १ सय २७ जनामा संक्रमण देखिएको तथा दुई जनाको मृत्यु भएको थियो । यस वर्ष एक जनाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी गीताञ्जली ढकालले जानकारी दिए । मुसाको शरीरमा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस रोग लाग्छ । खेतबारीमा एवं विशेषगरी घरबाहिर काम गर्ने व्यक्तिमा सो रोग लाग्ने उनले जानकारी दिए । रोग गर्मी र वर्षाका समयमा देखिन्छ । किर्नाले टोकेको सामान्यतया पाँचदेखि २० दिनभित्र सो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेका ठाउँमा घाउ हुने, कमलपित्त हुने र पेट दुख्ने लक्षण देखिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया