नातिकाजी पुरस्कार घोषणा

काठमाडौं । नेपाली संगीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टालाई सम्मान तथा पुरस्कार घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले २०७६ सालको नातिकाजी विशिष्ट सम्मान एवं पुरस्कार सार्वजनिक गरेको हो । नेपाली संगीतका शिखर पुरूष नातिकाजी श्रेष्ठको ९६औं जन्मजयन्तीका अवसरमा कुटुवहाल चावहिलमा सम्मान एवं पुरस्कार घोषणा गरिएको हो । अग्रज गायक योगेश वैद्यको संयोजकत्वमा गठित तीन सदस्यीय सम्मान एवं पुरस्कार छनोट समितिको सिफारिसअनुसार सम्मान एवं पुरस्कार घोषणा गरिएको समाजले जनाएको छ ।

समाजका अध्यक्ष संगीतकार शम्भूजीत बाँस्कोटाका अनुसार, नेपाली संगीतको विकासमा योगदान पु¥याउने व्यक्तित्वलाई हरेक वर्ष सम्मान एवं पुरस्कार प्रदान गरिन्छ । उनका अनुसार, २०७६ सालको ‘नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान’ संगीतकार नोर्बु छिरिङ लामालाई प्रदान गरिने भएको छ । यस्तै, बालकृष्ण सजिव, सुरेन्द्र राना, राजु अग्रवाल, सुनिल मास्के, राजु सिंह, मदन सिंह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, चुडामणि देवकोटा र महेश खड्कालाई ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान–२०७६’ प्रदान गरिने भएको छ । यसैगरी, पुरस्कारतर्फ गायक तथा संगीतकार चेतन सापकोटा, सुगम पोखरेल, प्राश्ना शाक्य र दयाराम पाण्डेलाई ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७६’ प्रदान गरिने भएको छ ।

यस्तै, गायक तथा संगीतकार वसन्त सापकोटा, गायिका मेलिना राई, सुरज थापा र हर्क साउदलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७६’, जीवित जल्मीलाई ‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार–२०७६’ प्रदान गरिने भएको छ । यसैगरी, विकासनाथ योगीलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार–२०७६, बद्री पंगेनीलाई ‘नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कार–२०७६’ र पत्रकार विदुर गिरी एवं श्याम स्मृतलाई ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७६’ प्रदान गरिने जनाइएको छ ।

कार्यक्रममा समाजका अध्यक्ष शम्भूजीत बाँस्कोटाले नेपाली संगीतको इतिहास खोज्ने हो भने नातिकाजीको अध्ययनबाट मात्र पूरा हुने जिकिर गरे । संगीतकार शान्तिराम राईले नेपाली मौलिक संगीतको राजमार्ग निर्माणमा नातिकाजीको महत्वपूर्ण भूमिका रहेको जनाउँदै नेपाली संगीतका हरेक पारखीले यो सत्यलाई अनुशरण गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा गायक सुगम पोखरेलले नेपाली संगीतको सागरका रुपमा नातिकाजीको योगदान रहेको धारणा व्यक्त गरे । लोकगायक बद्री पंगेनीले लोकसंगीतको धरातलमा नातिकाजीले आफ्ना हरेक संगीत सिर्जना गरेको विचार व्यक्त गरे । समाजका सचिव दीपक श्रेष्ठले स्वागत गरेको कार्यक्रममा गीतकार भूपेन्द्र खड्काले नेपाली मौलिक संगीतको विकास र विस्तारमा नातिकाजीको योगदानको चर्चा गरे । सम्मान एवं पुरस्कार प्रदान केही समयपछि तय गरिने समाजले जनाएको छ ।

प्रतिक्रिया