नेकपाको विवाद पुनः स्थायी कमिटीमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको पट््यारलाग्दो विवाद पुनः स्थायी कमिटीमा पुगेको छ । सचिवालय बैठकमा लामो समय थाती रहेर बहुमत पक्षले स्थायी कमिटीमा सो विवाद लगेका हुन् । सचिवालयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिका बीच स्थायी कमिटीमा अध्यक्षद्वयको प्रस्ताव लैजाने निर्णय भएको छ । यसअघिको विवाद लामो प्रयासपछि २६ भदौमा बसेको स्थायी कमिटी बैठकले टुंगो लगाएको थियो । तर, सो विवाद केही साता नबित्दै ब्युतिएपछि दुवै अध्यक्षले आरोपपत्र र जवाफपत्र भन्दै सचिवालयमा प्रतिवेदन पेस गरेका थिए । ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको सोही प्रतिवेदनलाई लिएर सचिवालयमा राम्रोसँग छलफल हुन सकेको छैन । प्रधानमन्त्री ओलीले पटकपटक पहिला सहमति कायम भएपछि मात्रै बैठक बस्ने विधानमा भएको बताउँदै सचिवालय बैठक अस्वीकार गरेका थिए । प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार चार घण्टाभन्दा बढी बसेको सचिवालय बैठकले आइतबार एक बजे बस्ने स्थायी कमिटी बैठकमा दुवै प्रस्ताव पेस गर्ने र त्यसमा छलफल गराउने निर्णय गरेको छ ।

स्रोतका अनुसार स्थायी कमिटी बैठकमा प्रस्ताव पेस भएपछि केही समय अध्ययनका लागि सदस्यलाई दिने र त्यसक्रममा सहमति खोजिने भएको छ । तर, स्थायी कमिटी बैठकमा ओली पक्ष अनुपस्थित हुने सम्भावना बलियो रहेको छ । शनिबारको सचिवालय बैठकमै ओलीले स्थायी कमिटीको एजेन्डा के हो ? भनी प्रश्न उठाएका थिए । उनले एजेन्डाबिना बस्ने कुनै पनि कमिटीको बैठकले निष्कर्ष निकाल्न नसक्ने बरु त्यसले झन् विग्रह निम्त्याउने बताएका थिए । त्यसकारण सो पक्ष बैठकमा उपस्थित हुन्छ वा हँुदैन भन्ने संशय देखिएको छ ।

ओलीले स्पष्ट रूपमा आपूmलाई हटाउने योजनामा रहेको भए त्यो पूरा नहुने चेतावनीसमेत आपूm इत्तरलाई बैठकमा गराएका थिए । ‘तपाईंहरूले विधि, पद्धति, प्रक्रिया बैठक भन्दै बहस गरिरहनुभएको छ । तलतल पनि बहस लगिराख्नुभएको छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सचिवालयका नेताले भने, ‘महाधिवेशन अघि पार्टी अध्यक्ष र आमचुनावअघि नै मलाई प्रधानमन्त्रीबाट हटाउन लागिएको हो भने बैठकको कुनै औचित्य छैन । म यी दुवै पद छाड्दिनँ ।’

उनले ठोस प्रस्ताव, कार्यसूची र तयारी पनि नभएकाले स्थायी कमिटी बैठक रोक्नुपर्ने बताएका थिए । तर, अरू सचिवालय सदस्यहरूले रोक्न नहुने र सचिवालयमा पेस भएका सबै दस्तावेज छलफल गर्नुपर्ने धारणा राखेका थिए । ‘कुनै प्रस्ताव छैन । तयारी पनि छैन । सहमतिमा के गर्ने भन्ने पनि तय भएको छैन’, ओलीको भनाइ उद्धृत गदै ती सदस्य भन्छन्, ‘स्थायी कमिटी बैठक राखेर के गर्नुहुन्छ ? केका लागि बैठक चाहिएको हो ।’

सचिवालय बैठकमा असहज अवस्था आउने थालेपछि गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापाले कार्यदल गठन गर्ने विषय प्रवेश गराएका थिए । तर, सो प्रस्तावलाई बहुमतले अस्वीकार गरिएको छ । स्रोतकाअनुसार दाहाल–वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बहुमतकै आधारमा पार्टीबाट निर्णय गराएर ओलीलाई एक पदबाट राजीनामा गराउने दाउमा रहेका छन् । पहिला अध्यक्षबाट हटाउने र त्यसपछि प्रधानमन्त्रीबाट फिर्ता बोलाउने प्रयास सो पक्षको छ ।
यता, ओली पक्षका नेताहरू भने बहुमत–अल्पमतमा गए त्यसको नतिजा तुरुन्तै पार्टीमा पर्ने चेतावनी दिएका छन् । उनीहरू स्पष्ट रूपमा पद चाहिए महाधिवेशन र आमनिर्वाचन कुर्न आग्रह गरेका छन् । सचिवालयमा विवाद नमिलेपछि यो विषय स्थायी कमिटीले पनि मिलाउने सम्भावना न्यून रहेको छ । त्यसपछि यो विवाद केन्द्रीय कमिटी पुग्ने र बहुमत अल्पमतमा जाने निश्चित जस्तै रहेको नेताहरूको भनाइ छ ।

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार बस्ने स्थायी कमिटीमा दुवै अध्यक्षको प्रतिवेदन पेस हुने जानकारी दिए । ‘एक बजे स्थायी कमिटी बैठक धुम्बाराहीमा हुने निश्चित गर्दै पार्टीको संकट निवारण गर्नेबारेमा छलफल हुनेछ’, प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीको संकट निवारणका बारेमा प्रस्तुत भएका प्रस्ताव र विषयहरू स्थायी कमिटीमा छलफल हुनेछन् ।’

गत २८ कात्तिकमा सचिवालय बैठकमा दाहालले ओलीमाथि विभिन्न आरोप लगाउँदै राजनीतिक प्रस्तावको नाममा ‘अभियोग पत्र’ पेस गरेपछि १३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रत्युत्तरपत्र’ खाममा हालेर सचिवालय सदस्यलाई अध्ययन गर्न दिएका थिए । ‘अभियोग पत्र’ र ‘प्रत्युत्तर पत्र’ लाई कमिटीगत छलफल गर्ने कि नगर्ने भन्ने विषयमा ओली र दाहालले नेतृत्व गरेको असन्तुष्ट समूहका बीचमा विवाद साम्य नभएपछि स्थायी कमिटीमा पुगेको छ ।

प्रतिक्रिया