खोजखबर

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा रामग्राम स्तूप र पण्डितपुर क्षेत्रको अवलोकन

सौर्य अनलाइन २०७७ मंसिर १८ गते १८:२८ मा प्रकाशित

परासी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुद्धस्थलहरु प्राचीन रामग्राम स्तूप र पण्डितपुरको अवलोकन गरेका छन् । अध्यक्ष तिमिल्सिनाले नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को रामग्राम नगरपालिका–७ मा अवस्थित स्तूप र रामग्राम–१८ मा अवस्थित पण्डितपुर क्षेत्रको आज स्थलगत अवलोकन गरेका हुन् ।

रामग्राम स्तूप गौतम बुद्धको उत्खनन नगरिएको सिङ्गो अस्तुधातु रहेको एक मात्र स्थल हो । पण्डितपुर प्राचीन कोलीय गणराज्यको राजधानी एवं बुद्धको सम्भाव्य मावली स्थलका रुपमा चिनिन्छ । दुवै पुरातात्विकस्थल महत्वपूर्ण क्षेत्र भएर पनि विकासमा पछि परेको जनाउँदै अध्यक्ष तिमिल्सिनाले यस क्षेत्रको विकासमा विशेष चासो राख्दै आएका छन् ।

सो अवसरमा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले दुवै पुरातात्विक क्षेत्रको अवस्था र विकासको लागि भइरहेका पहलका बारेमा जानकारी गराएका थिए । लुम्बिनी विकास कोषका अनुसार शाक्यमुनि बुद्धको महापरिनिर्वाणपछि तत्कालीन आठ गणराज्यले आआफ्नो भागमा पाएका अस्तुधातुमध्ये कोलीय गणराज्यले आफ्नो भागमा पाएको अस्तुधातु राखी रामग्राममा स्तूप निर्माण गरेको हो ।

सम्राट अशोकले इसापूर्व २४९ मा लुम्बिनीलगायत बुद्धस्थलको भ्रमण गरी आठ राज्यले बुद्धको अस्तुधातु राखी बनाएका स्तूप उत्खनन गरेर त्यसलाई विभाजन गरी ८४ हजार ससाना स्तूप बनाउने क्रममा रामग्राममा आउँदा यहाँका नागराजाले रोकेर अस्तुधातु उत्खनन गर्न नदिएकाले रामग्राममा अवस्थित स्तूप मात्र पवित्र मानिन्छ ।

इतिहासविद् डा. डब्लु होईद्वारा सन् १८९९ मा रामग्राम स्तूप पत्ता लगाइएको हो । स्तूप क्षेत्रको संरक्षण तथा विकासको जिम्मेवारी लुम्बिनी विकास कोषको रहेको छ । पुरातत्त्व विभागका अनुसार पण्डितपुर क्षेत्र पनि नेपालकै महत्वपूर्ण पुरातात्विक क्षेत्र हो ।

रामग्राम स्तूपदेखि ९ किलोमिटर उत्तरपश्चिममा रहेको सो स्थलमा सन् २००२ मा विभागका पुरातत्त्वविद् शुक्रसागर श्रेष्ठले गरेको प्रारम्भिक उत्खननको अनुसरण गर्दै विभागका पुरातत्त्वविद्ले सन् २०१२ देखि २०१५ सम्म सो क्षेत्रको थप उत्खनन गरेका थिए ।

उत्खननका क्रममा प्राप्त सांस्कृतिक तह, प्राचीन संरचना र महत्वपूर्ण पुरातात्विक वस्तुको प्राप्तिले सो ठाउँ लुम्बिनी र कपिलवस्तुको समकालीन भएको पुष्टि गरेको थियो । करीब ६० विघा क्षेत्रफलमा फैलिएको पण्डितपुरलाई उत्खननमा संलग्न पुरातत्वविद्ले प्राचीन कोलीय गणराज्यको राजधानी भएको संकेत गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय