मत-विमत

आधुनिक दास अर्थात दलका झण्डे कार्यकर्ता

सन्दर्भ : ७१औँ दासप्रथा उन्मूलन दिवस

रमादेवी पौडेल २०७७ मंसिर १७ गते ७:२६ मा प्रकाशित

रमादेवी पौडेल

राजनीतिक दलका झण्डे कार्यकर्तालाई पनि आधुनिक दासका रूपमा लिन सकिन्छ । १० वर्षे सशस्त्र द्वन्द्वपछि नेपालमा बढ्दैगएको दन्डहीनताले धेरै हदसम्म अपराधी अनि गैरमानवीय दासताउन्मुख व्यवसाय अनि क्रियाकलापलाई प्रश्रय नदिएको होइन । एकतर्फ हरेक दिन १५ सय बढीको संख्यामा युवाहरू विदेश पठाउने देश हो नेपाल ।

संयुक्त राष्ट्र संघको आह्वानमा दासप्रथा उन्मूलन दिवस मनाउन थालिएको ७० वर्ष नाघेको छ । हरेक वर्षको डिसेम्बर २ का दिन दासप्रथा उन्मूलन दिवसका रूपमा संयुक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रहरूलगायत संसारभरि मनाउने चलन छ । सन् १९४९ देखि यस दिवस मनाइने गरेको छ । नेपालमा कानुनी रूपमा दासप्रथा उन्मूलन भएको ९५ वर्ष नाघिसकेको छ । तर, अहिले पनि कुनै न कुनै रूपमा विश्वभर दासप्रथा कायम नै छ । स्वरूप मात्रै परिवर्तन भएको छ । पहिले कुनै मानिस तथा उसको परिवारलाई दास बनाएर पूरै जीवन शोषण गरिन्थ्यो, तर अहिले शोषणको रूप परिवर्तन भएको छ । श्रम शोषण अहिले पनि धेरै मुलुक तथा समाजमा छ । खासरी धनी वर्गले गरिब वर्गलाई शोषण गर्ने प्रवृत्तिको अन्त्य हुन सकेको छैन ।

आधुनिक दासताका घटनाहरू नेपालजस्ता देशमा धेरै छन् । किनभने हामी विकासोन्मुख छौँ तर विडम्वना राज्य यस्तो अवस्थामा बलियो र प्रभावकारी रूपमा उभिएको अनूभूति हुँदैन । राजनीतिदलका झण्डे कार्यकर्तालाई पनि आधुनिक दासका रूपमा लिन सकिन्छ । १० वर्षे सशस्त्र द्वन्द्वपछि नेपालमा बढ्दैगएको दन्डहीनताले धेरै हदसम्म अपराधी अनि गैरमानवीय दासताउन्मुख व्यवसाय अनि क्रियाकलापलाई प्रश्रय नदिएको होइन । एकातर्फ हरेक दिन १५ सय बढीको संख्यामा युवाहरू विदेश पठाउने देश हो नेपाल । हरेक दिन नेपालीका दर्जनौँ काठका बाकसमा फिर्ता आएका नागरीकहरूको शव भिजेका आँखाले पाइरहेको हुन्छ, वैदेशिक रोजगारीका आयाम अनि नेपाली कामदारहरूको सुरक्षालाई ध्यान दिनतर्फ सरकारको ध्यान आज जान जरुरी छ । स्वाभिमानी नेपाली कुनैदेशमा दास बन्न होइन अनि दुःख पाएर मर्न नभई पसिनाको मूल्य र रोजगारका लागी मात्र गएका हुन् भन्ने आवाज सरकारका कुर्सीहरू अनि रोजगार दिने देशहरूले पनि बुझ्न जरुरी छ ।

नेपालमा श्री ३ चन्द्र शमशेर जंगबहादुर राणाले आजभन्दा करिब ९५ वर्ष अगाडि विसं १९८३ मा दासप्रथा उन्मूलनको घोषणा गरेका हुन् । तथापि विभिन्न स्वरूप र तवरमा दासताका घाउ बनाउने भिन्नाभिन्नै सामाजिक स्वरूपहरू नेपालीमाझ कायम नै छ । अहिले पनि पश्चिम नेपालमा पिढीदरपिढी मालिकको घरमा बधुवा कम्लरी बस्नुपर्ने प्रथाको नमिठो अनुभूतिबाट बाहिर पूर्णतः निस्कन सकेको छैन । फेरि दाहो¥याउन मनलाग्यो कि सुरुआतमा ललाइफकाई चेलीबेटीहरूलाई भारत लगेर बलजफ्ती यौनदास बनाउने अर्थात् बेचबिखनको कार्यले धेरै नेपाली चेलीहरूले आफ्नो अनमोल सपना र जीवनको तिलाञ्जली दिएका छन् भने दासताको नविनतम स्वरूपका रूपमा वैदेशिक रोजगारीमा गएका नेपालीहरू अनि उनीहरूमाथि गरिने शारीरिक, मानसिक दमनका विभिन्न अमानवीय व्यवहारका समाचारहरू बेलाबखत आइ नै रहेका हुन्छन् । हरेक दिनजसो प्रवासबाट फर्केर आएका काठका बन्द बाकसले गवाही दिइरहेका छन् कि दासताको कठोर स्वरूप भयावह छ । निरीह सरकार र मौन नागरिक समाजको कानमा भरिएको तेल झरोस् अनि असुरक्षित बन्दै गइरहेको वैदेशिक रोजगारीले बनाउँदै गरेको गुलामी र दासताको नवप्रयोगहरूका विरूद्ध मापदण्डहरू तयार होऊन् र रोजगारीमा गएका श्रमिक कामदारहरू स्वस्थ्य अवस्थामै स्वदेश फिरेर केही गर्न सकून् । ०७२ सालको भुइँचालोपछि नेपालीहरूले सात समुन्द्र पार गर्ने क्रमले थप दर्दनाक घटना वृद्धी गरेको छ ।

कलम समाउनुपर्ने हातहरू गलैँचा उद्योग होस् या इँटा भट्टा, माइक्रो बस अथवा अन्य सार्वजनिक यातायातका साधनमा झुण्डिएको देखिन्छ । कथित मुक्त कमैयाका घाउका खतहरू, कम्लरीका पीडाहरू या वादी महिलाले भोगेका पीडादायी चलनका इतिहास किन नहुन् चौतर्फी रूपमा दासताका स्वरूपहरू घुमिरहेका छन् । तिनलाई न्याय दिन अनि अन्त्य गर्न सबैको साथ, नैतिक सहमति र साझा धारणा व्यवहारमा आउन जरुरी छ ।

आज ७१औँ अन्तर्राष्ट्रिय दासप्रथा उन्मूलन दिवसका सन्दर्भमा केही पुराना तथ्यहरूको चर्चा गर्नु सान्दर्भिक हुन्छ । सन् १७७९ बाट फ्रान्सबाट बलेको प्रजातन्त्र र समानता आन्दोलनको बिगुलले संसारलाई झक्झक्याउँदै गयो, क्रमशः अन्य देशहरूमा पनि प्रजातन्त्र र समानताको यो लालसा बढ्दै गयो । अहिलेको विश्व शक्ति केन्द्र अमेरिका पनि उतिबेला बेलायतको अधिनमा थियो । भारतमा इस्ट इन्डिया कम्पनीका नाममा बेलायतले राज गरेको थियो, विभिन्न देश अनि भू–भागलाई शक्तिशाली राज्यहरूले आफ्नो उपनिवेश बनाएका थिए र उपनिवेशको क्रमसँगै दासताको प्रथाले प्रश्रय पाउँदै गएको विभिन्न ऐतिहासिक दस्तावेजहरूको अध्ययनले बताउँछ । अफ्रिकी भूभागहरूबाट दास बनाएर जनावर सरी सिक्रिले बाँधेर बेलायत, अमेरिका र अन्य धेरै विकसित देशहरूका विशाल सहरहरूको विकास अनि निर्माण गरिएको इतिहास छन् ।

दास अर्थात् कहीँकसैको सम्पूर्ण अधिनमा मानव नै मानवको पशुजस्तो नोकर रहने चलन हो । पशुवत व्यवहार अनि बलजफ्ती कुनै पनि कार्यमा लगाउने यी दासहरूको चलन यसभन्दा अगाडि ग्रिसको युद्धमैदान अर्थात् रणभूमीमा कुस्ती लडाएर मृत्यूवरण नहुञ्जेलसम्म खेलाइने हृदयविदारक लडाइँका क्रमदेखि नै पाइन्छ । एक किसिमले भन्ने हो भने शक्तिशाली र धनी समाजले गरिब र निरीह मानवहरूमाथि गर्ने यो पशुवत चलन व्यापक अमानवीय थियो । ग्रिक एरिनामा नमरुञ्जेलसम्म खेलाइने कुस्तीमा ग्लाडिएटरहरूको प्रयोग गरिन्थ्यो, बजारमा बाँधेर बिक्री गरिने अनि दासका रूपमा राखिने यी बलिया ग्लाडिएटरको कुस्ती, दुःखदायी जीवन अनि उनरूका प्रेम कथाहरू अझै पनि धेरै पुस्तक अनि चलचित्रमा देख्न पाइन्छ । अझ परापूर्वकालमा कुनै राज्यमा अर्को राज्यका सैनिकले विजय गरेपछि हारेको राज्यवासीलाई दास राख्ने चलन पनि थियो ।

अझै पनि मानव तस्करी गरेर अमानवीय र जोखिमपूर्ण काम गराउने, यौन धन्दामा लगाउने, मानव अंग तस्करी गर्ने गिरोहहरूले दास प्रथाको झ–झल्को दिन्छ । कमैयाप्रथा, हलिया, कम्लरी या अन्य स्वरूपका चलनहरू एकप्रकारको शोषण अनि दासताको उदाहरणका रूपमा नेपालमा कहिँकतै अझै पनि कायम नै छ । सुरुआत अनि चलन जे–जसरी चलेको भए पनि वर्तमान विश्वको प्रजातान्त्रिक अभ्यासमा दासप्रथा अक्षम्य छ । पक्कै पनि समाज र संसारमा शताब्दी पुराना तरिकाका दास तथा दासताका उदाहरणहरू अब जीवित छैनन् तर दासताको परिवर्तित स्वरूपहरू मानव तस्कर, अंग तस्कर र जबरजस्ती यौन व्यवसायमा लगाइने तौरतरिकाहरूमा जीवन्त सक्रिय छन् । अझै पनि बालबालिकालाई विभिन्न नाम अनि ढंगमा जोखिमपूर्ण तथा गैरकानुनी कार्यमा लगाइन्छ । चाहे त्यो खुला सिमानाबाट गैह्रकानुनी तस्करीको स्रोतको रूपमा प्रयोग गरिँदै आएका उदाहरण होउन अथवा होटल तथा लजहरूमा खाना तथा भाँडाका टल्काउने ससाना बाबु–नानीहरूको रोदनले आधुनिक स्वरूपको दासप्रथा झल्काउँछ ।

अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार संसारभर ४१ लाख श्रमीकहरूलाई जबरजस्ती जोखिमपूर्ण कार्यगर्न विनाकुनै परिश्रममा लगाइन्छ र यस्ता श्रमीकमा महिला र बालबालिकाको संख्या प्रशस्त छ । दासताको यो आधुनिक युगमा संसारभरिका सरकार र राष्ट्रप्रमुखहरू एक हुनका लागि आजको दिनले कानको जाली फोड्ने खालको बिगुल बजाउन मद्दत गरोस् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय