प्राचीन अग्निशालामा तामाको छाना हालिने

ललितपुर । ललितपुर महानगरपालिका–१९ स्थित प्राचीन अग्निशालामा जस्ताको छाना हटाएर अब तामाको छाना राखिने भएको छ । महानगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर गौरवशाली योजनाअन्तर्गत उक्त काम अघि बढाउन लागेको हो ।

पुरानो सम्पदालाई जोगाइराख्न महानगरपालिकाले ४० लाख बजेट छुट्याइसकेको प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘अब तुरुन्तै यो काम अघि बढाइनेछ । एकदम राम्रोसँग काम सम्पन्न गर्न सबैलाई आग्रह गर्दछु ।’ कुमारीपाटीमा रहेको कोरियन सप नजिकैको पेट्रोल पम्पबाट हिँडेर दुईदेखि तीन मिनेट परका ती अग्निशालामा पाँच छुट्टाछुट्टै धुनी छन् । यसमा निरन्तर आगो बलिरहने अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले बताए । उनले भने, ‘धार्मिक मान्यताअनुसार काठ बालेर निकालिएको आगो काष्ठाग्नि, ढुंगा रगडेर निकालिएको पासाग्नि, सूर्यको रापबाट निकालिएको सूर्याग्नि, पानीबाट निकालिएको जलाग्नि र अग्निहोत्री बज्यैको नाइटाबाट निकालिएको जठराग्नि नामक अग्नि पाँच धुनीमा बालिन्छ ।’

चार हजार वर्षअघि सो अग्निशाला निर्माण भएको अनुमान गरिएको र सोबारे उल्लेख भएका शिलालेख हालसम्म कतै नभेटिएको पुजारीहरूको भनाइ छ । सो अग्निशालामा पूजापाठ गर्दा लागेको ग्रहदशा हटेर जान्छ भन्ने मान्यता छ ।

प्रतिक्रिया