श्रेष्ठको यात्रा वृत्तान्त

काठमाडौं । पत्रकार पुष्करलाल श्रेष्ठले लेखेको यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक भएको छ । कामना न्युज पब्लिकेसन्सले प्रकाशन गरेको यस पुस्तकमा श्रेष्ठले विभिन्न देशमा गरेका भ्रमणका अनुभूतिलाई समेटिएको छ । पुस्तकमा अमेरिका, युरोप, अफ्रिका र एसियाका विभिन्न देशको भ्रमणका अनुभव तथा अनुभूतिहरु समेटिएको प्रकाशन संस्थाले जनाएको छ ।

त्यसैगरी, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौतीका विषयसमेत पुस्तकमा समावेश छन् । राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश र विदेशमा घटेका प्रभावशाली घटना लगायतका विविध पक्ष पुस्तकमा अटाएका छन् । माओवादी सशस्त्र द्वन्द्वका कारण मुलुक छोडेर अमेरिका विस्थापित हुने संघारमा पुगेका श्रेष्ठले विषयलाई समेत पुस्तकमा उधिनेका छन् ।

पुस्तकमा श्रेष्ठले लेखेका छन्, ‘हाइटीका कयौं मन्त्री त ज्यान बचाउनै मुस्किल भएका कारण छिमेकी मुलुक अमेरिकाको मायामीमा बस्छन् र आफ्नो विभागीय मन्त्रालयको निर्णय गर्नुपर्ने टिप्पणीका फाइलहरु मायामीमै झिकाएर हस्ताक्षर गरी पठाइदिन्छन् ।’ ३४८ पृष्ठको पुस्तकको मूल्य एक हजार २५० रुपैयाँ राखिएको छ । सञ्चारकर्मी श्रेष्ठको २०७६ वैशाख ४ मा निधन भएको थियो ।

प्रतिक्रिया