मत-विमत

बुद्धधर्म र मूर्तिपूजा

वसन्त महर्जन २०७७ मंसिर १६ गते ७:०० मा प्रकाशित

वसन्त महर्जन

‘बुद्ध’ भन्नु ठूलो कुरा हो, अर्थात् गौतम बुद्ध व्यक्तिको नाम नभएर बुद्धत्व प्राप्त गर्ने बुद्ध हुन् । यति धेरै गुण भएकालाई ‘भगवान्’ भनिन्छ, अर्थात् बौद्ध धर्मदर्शनमा भगवान् शब्दले विशिष्ट अर्थ राख्छ । यसअनुसार ६ प्रकारको भाग्य भएकालाई मात्र भगवान् भन्न सकिन्छ । ६ प्रकारका भाग्य भन्नाले…।

बौद्घ धर्मावलम्बीले गौतम बुद्घको मूर्तिलाई एउटा आलम्बनबाहेक साक्षात् बुद्घको रूपमा लिएका हुँदैनन् भन्ने व्यावहारिक जानकारी नहुँदा बेग्लै भाष्य निर्माण हुन पुगेको छ । बुद्ध मूर्तिको प्रसंग उठ्दा ‘मूर्तिपूजाको विरोधी बुद्धकै मूर्ति बनाएर पूजा गरेको’ टिप्पणी सुनिन्छन् । टिप्पणीकर्ताहरू मूर्तिपूजाबारे बुद्धले कुन प्रसंगमा के भनेका थिए र त्यसको स्रोत के हो भन्ने कुरा भने खुलाउँदैनन् । वास्तवमा बौद्ध वाङ्मयका कुनै पनि स्रोतमा मूर्तिपूजा गर्नु वा नगर्नु भन्ने सन्दर्भ पाइँदैन ।

‘बुद्ध’ भन्नु ठूलो कुरा हो, अर्थात् गौतम बुद्ध व्यक्तिको नाम नभएर बुद्धत्व प्राप्त गर्ने बुद्ध हुन् । यति धेरै गुण भएकालाई ‘भगवान्’ भनिन्छ, अर्थात् बौद्ध धर्मदर्शनमा भगवान् शब्दले विशिष्ट अर्थ राख्छ । यसअनुसार ६ प्रकारको भाग्य भएकालाई मात्र भगवान् भन्न सकिन्छ । ६ प्रकारका भाग्य भन्नाले, ईश्सरीय भाग्य (आफ्नो चित्तलाई बसमा राख्न सक्ने तथा अनन्त ऋद्धिसिद्धिले सम्पन्न भई काम गर्न सक्ने), धम्म भाग्य (नौ लोकोत्तर धम्म), यश भाग्य (मनुष्यलोक, देवलोक, ब्रह्मलोक, जलचर, थलचर, आकाशचर जहाँ पनि कीर्ति फैलिरहने), सिरि भाग्य (श्रीशोभाले अत्यन्त सुवर्णमय रूप, रिष्टपुष्ट र अति कोमल, सुन्दर रमणीय ३२ लक्षण र ८० व्यञ्जन सुलक्षणले परिपूर्ण हुने भाग्य), काम भाग्य (इच्छानुसार काम गर्न सक्ने, आफ्नो र अरूको उपकार गरिदिन सक्ने भाग्य) र पयत्त भाग्य (बुद्धत्व प्राप्त नहुँदासम्म दृढ भइरहन सक्ने साहसी र प्रयत्नशील भइरहनसक्ने भाग्य।)

भंग राग, भंग द्वेष, भंग मोह, राग आदि हटाइसकेका, द्वेष नामको क्लेशलाई पनि जडदेखि नै उखलेर बारबार जन्माउने तृष्णारूपी गृहकार र अविद्यारूपी अन्धकारलाई हटाइसकेकाले उनलाई ‘भगवान्’ भनिएको बौद्ध मान्यता छ ।
गौतम बुद्धको प्रशंसा अनेक प्रकारले गरिन्छ । यद्यपि उनी भौतिकवादी होइनन् । तर, भौतिकवादलाई स्पष्ट शब्दमा ‘मिथ्यादृष्टि’ भनेको पाइन्छ । तर, बुद्धलाई भौतिकवादीहरू पनि प्रशंसा गर्छन् । विविध आयामका उपदेश तथा त्यसलाई समयअनुसार प्रस्तुत गर्नसक्ने पछिल्ला होनहार आचार्यका कारण यो सर्वसुलभ भइरहेको छ । व्यक्तिको क्षमता र रुचिअनुसार हरेक वर्ग, क्षेत्र, सम्प्रदाय, लिंग, वर्ण, भाषाभाषी तथा अन्यले ग्रहण गर्ने हुन् । बुद्धमा निहित माथि उल्लिखित गुणहरू कतिपयका लागि अलौकिक वा पत्याउन नै नसकिने हुन्छन् । तर, यहाँ विचार पु¥याउनु पर्ने कुरा के हो भने एक सर्वसाधारण र बुद्धमा अवश्य पनि फरक पर्छ ।

‘बुद्ध’को उपमा पनि त्यति सस्तो र हलुको बनाएर प्रयोग गर्नु बुद्ध गुणलाई नदेख्नु हुन्छ । यही भएर उनलाई बौद्धहरू ‘भगवान्’ भन्दै दश अञ्जली र दुई हात जोडी काय, वचन, चित्तले पूजा तथा वन्दना गर्छन् । संसारमा सबभन्दा बढी मूर्ति बुद्धकै बनेका छन् भन्ने मानिन्छ । सबभन्दा ठूलो र सानो मूर्तिको प्रतिस्पर्धा पनि बुद्धकै मूर्तिमा देखिन्छ । नेपालमै पनि अचेल बुद्धको ठूलो मूर्ति बनाउने होड चलेको छ । गौतम बुद्धको जीवनकालमै उनको मूर्ति र चित्र सिर्जना भएका प्रसंगहरू पाइन्छन्, तर महापरिनिर्वाण (इ.पू.४८३) पछि लामो समयसम्म त्यस्तो गतिविधि भएन । कलामा बुद्धलाई दुरुस्त उतार्न नसक्दा श्रद्धामा ठेस पुग्छ भनेर चित्र वा मूर्ति नबनाई प्रतीकको माध्यमबाट बुद्धलाई सम्झिइन्थ्यो ।
गर्भप्रवेशका लागि हात्ती, गृह त्यागका लागि घोडा, बोधिज्ञान लाभका लागि पीपल वृक्ष, धर्मचक्रप्रवर्तनका लागि मृगलगायतका प्रतीकमार्फत श्रद्धा अर्पण गर्ने परम्परा बसेको बौद्ध कलाको इतिहासबाट थाहा हुन्छ । यो इतिहास बुझ्न नसक्दा बुद्धले मूर्तिपूजालाई प्रतिबन्धित गरेको अर्थ लगाउनु र बौद्धहरू सोही अनुसार हिँड्नुपर्छ भन्ने मान्यता राख्नु गलत बुझाइ हो । गान्धार र मथुरामा इस्वी सम्वतको सुरूदेखि मात्र बुद्धको मूर्ति बनाउन थालिएको थियो भने पछि मात्रै यसले व्यापकता पाएको हो ।

सुर्खेतस्थित काँक्रेबिहार प्राचीन खस साम्राज्यको ठूलो बौद्ध केन्द्र थियो । बौद्धहरूको एक समूहले २०७० सालको बुद्ध पूर्णिमाका दिन त्यहाँ ठूलो बुद्ध मूर्ति राख्न खोजेका थिए । त्यसमा प्रशासनले स्वीकृत नदिँदा चर्को विवाद भयो । स्वीकृत दिएकै भए पनि आजको मितिसम्ममा स्वयं बौद्ध समाजले त्यसलाई त्यहाँबाट हटाइसक्थे वा अर्कोले प्रतिस्थापन गरेर पुरानो मूर्ति लुकाउँथे । बुद्धको मूर्ति निर्माणमा कुन हदसम्मको लापरवाही हुन थालेको छ भन्ने कुराको ज्वलन्त नमुना त्यही मूर्ति बनेको छ । त्यो बेढंगे मूर्तिमा हातको मुद्रा नै उल्टोपाल्टो परेको छ ।

काठमाडौं उपत्यकाको स्वयम्भू चैत्य बौद्ध समुदायको लागि ठूलो श्रद्धास्थल हो भने धर्म–संस्कृति र इतिहासका अध्येताहरूका लागि ज्ञानको भण्डार । यही महत्वको कारण पनि स्वयम्भू चैत्य विश्वसम्पदा सूचीमा परेको छ । यस्ता क्षेत्रहरूको ऐतिहासिकता र मौलिकतामा आँच नआओस् भनेर नयाँ निर्माण गतिविधिमा रोक लगाइएको हुन्छ । तर, स्वयम्भूमा उद्यान बनाउने नाममा बीचमा बुद्ध, त्यसको दायाँ षड्क्षरी लोकेश्वर र बायाँ पद्मसंभवको विशाल मूर्ति ठड्याएर विश्वसम्पदाकै खिल्ली उडाइएको छ । निर्माण गतिविधिमा अनुगमन नगर्नु पुरातत्व विभागको अकर्मण्यता हो भने मूर्तिको निर्माणमा आपत्ति जनाउँदा धार्मिक आस्थामा प्रहार गरेको भनी प्रचार गर्नु बौद्धभावना प्रतिकूलको अन्धभक्ति हो ।

बुद्धको मूर्ति सिर्जना वा स्थापना अत्यन्त मिहीन र श्रद्धाका साथ हुनुपर्छ । बुद्धको मूर्ति सिर्जना वा स्थापनामा तामझम, प्रोपोगन्डा र आर्थिक उपार्जनको नियत हावी हुनु खेदको विषय हो । बुद्ध वा अन्य कुन देवीदेवताको मूर्ति राख्दा दाता, स्थानीय निकाय तथा राज्यकोषबाट बजेट झर्न र पर्यटकलार्ई लोभ्याउन सकिन्छ भन्ने हिसाबकिताब हुने गरेबाट बुद्धप्रति वर्तमान समाजको दृष्टिकोण कलुषित हुँदै गएको ठम्याउन सकिन्छ । बौद्ध धर्म वा बौद्ध अध्ययनमा कुनै सरोकार नभएका वा भए पनि अर्कै नियतका व्यक्तिहरूको अगुवाइमा बुद्ध मूर्ति निर्माण समिति बन्ने, सक्दो चन्दा उठाउने, बैठकहरूमा जाँडरक्सी तथा माछामासुको खपत गर्नेजस्ता कार्यहरूलाई बौद्ध भावनामाथि चुनौतीको रूपमा बुभ्mनुपर्छ ।

बुद्ध मूर्ति भनेपछि गौतम बुद्धकै हुनुपर्छ भन्ने मान्यता पनि गलत छ । गौतम बुद्धभन्दा अघि पनि बुद्धत्व लाभ गर्ने मानव बुद्धहरू थिए भन्ने बौद्ध मान्यता छ र बुद्धत्वको प्रतीकको रूपमा पञ्चबुद्धको पनि मूर्ति बनाइन्छ । कल्पनामा आधारित मुखाकृति भएकाले बेग्लाबेग्लै बुद्ध भए पनि सबैको मुखाकृति एउटै बनाइन्छ । विभिन्न बोधिसत्व (भविष्यमा बुद्ध हुनका लागि अभ्यासरत सत्वहरू) का मूर्तिहरू पनि लोकप्रिय छन् । त्यस्तै, निश्चित बौद्ध दर्शन वा ज्ञानलाई बुझाउन मानवीयकरण गरिँदा मूर्तिको स्वरुपमा आएका हुन् । तर, हरेक मूर्तिमा हुने बेग्लाबेग्लै मुद्रा तथा अन्य सूक्ष्म पक्षले सोही दर्शन वा ज्ञानलाई दर्शाउने हुन्छ । मूर्तिहरू बौद्ध अध्ययनमा सहायक मात्र हुन्, न साक्षात् बुद्ध हुन् न त वर दिने कुनै अलौकिक शक्ति ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय