सन्दीपको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । नेपाली राष्ट्रिय टीमका स्पिनर सन्दीप लामिछाने ह्याम्स अस्पताल भर्ना भएका छन् । शनिबार कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि सन्दीपलाई आइतबार साँझ अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना भए पनि सन्दीपको स्वास्थ्य अवस्था सामान्य भएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले बताए । उनले भने, ‘सन्दीपको अवस्था सामान्य छ। कमजोर महसुस गरेका कारण अस्पताल लगिएको हो । घरमा एक्लै भएका कारण हेरचाह पुगेको थिएन । अस्पतालमै भए राम्रो हेरचाह हुन्छ भनेर भर्ना भएको हो । स्वास्थ्यमा कुनै समस्या छैन ।’

सन्दीपले शनिबार ट्विटरमार्फत् आफू कोभिड–१९ संक्रमित भएको बताएका थिए । उनले शनिबार ट्विट गर्दै बुधबार शरीर दुखेको भए पनि स्वास्थ्य समान्य रहेको बताएका थिए । राष्ट्रिय टीम अहिले बन्द प्रशिक्षणमा छ । बन्द प्रशिक्षणअघि गरिएको कोभिड–१९ परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र टीम सदस्य प्रदीप लामाको नतिजा पोजिटिभ आएको थियो । चारैजना अहिले कोरोना भाइरस संक्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया