‘स्वास्थ्य क्षेत्रमा क्रान्तिको दिन’

स्याङ्जा । सरकारले देशभर पहिलो चरणमा ३ सय ९६ स्थानीय तहमा पाँचदेखि १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्न शिलान्यास कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रमअन्तर्गत स्याङ्जा जिल्लाको चार वटा स्थानीय तहमा १५ शय्याको अस्पताल शिलन्यास गरिएको छ । यहाँको भिरकोट, वालिङ र गल्याङ तीन वटा नगरपालिकामा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १५ शय्याको अस्पताल शिलान्यास गरिन् । यसैगरी हरिनाश गाउँपालिकाको चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रमा संघीय सांसद नारायण मरासिनीले शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री अर्याललले आजको दिन स्वास्थ्य क्षेत्रका लागि क्रान्तिको दिन भएको बताइन् । आफू स्वास्थ्य राज्यमन्त्री हुँदा ल्याएको कार्यक्रम ‘एक पालिका एक अस्पताल, एक वडा एक स्वास्थ्यचौकी’ अभियानको रूपमा रहेको बताउँदै मन्त्री अर्यालले भनिन्, ‘स्वास्थ्य क्षेत्रमा मुलुकभर एकैपटक ठूलो संख्यामा अस्पताल निर्माण भएको ऐतिहासिक दिन आज हो । वर्तमान सरकार विकास र समृद्धिको नेतृत्व गर्दै अघि बढिरहेको छ ।’ उनले भनिन्, ‘अबको विकास पहुँचको आधारमा नभई आवश्यकताको आधारमा हुनुपर्छ ।’

यसैगरी गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहनप्रसाद रेग्मीले सुखी जीवन बिताउन स्वास्थ्य आवश्यक रहेको बताउँदै उनले भने, ‘सहज ढंगले स्वास्थ्यमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको यो अभियानले सार्थकता दिनेछ ।’ यदि जिल्लामा सुविधा सम्पन्न अस्पतालको स्थापना हुनसके यहाँका सर्वसाधारण उपचार गर्न पोखरा बुटवल पाल्पा जानपर्ने बाध्यताको अन्त्य हुनेछ । गण्डकी प्रदेशभित्र ५३ स्थानीयतहमा आधारभूत अस्पताल निर्माण गर्न स्वास्थ्य संस्था तोकिएको छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया