कर्णालीका हरेक स्थानीयतहमा अस्पताल निर्माण हुने

हुम्ला । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा हुम्लाका स्थानीय तहमा अस्पताल निर्माण हुने भएका छन् । कर्णाली प्रदेशको हरेक स्थानीयतहमा १५ शैय्याको अस्पताल निर्माणको निरन्तरताअन्तर्गत अस्पतालको शिलान्यास हुन थालेका छन् । यही आर्थिक वर्षमा सम्पन्न हुने गरी भवन निर्माणका लागि प्रदेश सरकार लागिपरेको छ ।

कर्णालीका जनता स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहन नपरोस् भनेर जिल्लाका हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण अनि सोहीसँग आवश्यक पर्ने स्वास्थ्यकर्मीको बन्दोबस्त गरी जिल्ला सदरमुकामसम्म सामान्य उपचारका लागि जनताले उपचार गर्न कठिनाइ नपरोस् भन्नका लागि यस्तो कार्यक्रम प्रदेश सरकारले ल्याएको सामाजिक विकास मन्त्री दल रावलले बताए । स्वास्थ्यचौकीको भरमा सामान्य उपचार गराइरहेका कर्णालीका जनताले अब विशेषज्ञ डाक्टरको सुविधासहित स्थानीयतहमा नै उपचार गर्न पाउने र सर्वसुलभ रूपमा स्वाथ्यको पहुँचमा पुग्नसक्ने मन्त्री रावलले बताए ।

नेपालमा आधारभूत स्वास्थ्य सेवा विस्तारका लागि आजको दिन एक माइलस्टोन भएको मन्त्री रावलले बताए । हुम्लाको सर्केगाड गाउँपालिकाको सर्केगाडमा १५ शैय्याको अस्पतालको शिलान्यास गर्दै मन्त्री रावलले नेपाल सरकारले अति दुर्गम जिल्ला हुम्लाको सर्केगाड गाउँपालिकाबाट सुरु गरिएको बताए । त्यसैगरी हुम्लाको अदानचुली र नाम्खा गाउँपालिकामा पनि १५ शय्याको अस्पताल सुरु हुने भएको छ । बाँकी रहेको चंखेली र खार्पुनाथ गाउँपालिकामा अस्पताल निर्माणका लागि नेपाल सरकारको संघीय सरकारलाई अनुरोध गरिएको रावलले बताए । सुर्खेतबाट हेलिकोप्टरमा गएको मन्त्री रावल संलग्न टोलीले अस्पताल निर्माणबाट नेपाल सरकारले नयाँ कामको थालनी गरेकोले स्थानीयका लागि यो दिन सम्झनलायक भएको स्थानीय तुलराज रोकायाले बताए ।

उपचारका लागि पाँच दिनसम्म पैदल यात्रा गरी सदरमुकाम सिमकोट पुग्नुपर्ने समस्याको समाधान अब हुनेमा सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले बताए । सामान्य स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा नपाउँदा स्थानीयले पाउने दुःखका दिन अब सकिएको रोकायाले बताउँदै अब सर्वसुलभ रूपमा छिमेकमा नै अस्पताल निर्माणका लागि काम अगाडि बढेकोप्रति खुसी व्यक्त गरे । त्यसैगरी जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा समेत सोमबार एक कार्यक्रमको बीचमा १५ शय्याको अस्पताल शिलान्यास गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले एक औपचारिक कार्यक्रमकाबीच सोमबार नै नाम्खामासमेत १५ शय्याको अस्पताल निर्माणको कार्य अगाडि बढाउँदै नाम्खावासीले उपचारका लागि लाखौँ खर्च गर्ने दिन सकिएको बताएका छन् । उपचारका लागि पाँच दिन पैदल यात्रा गरी सरदरमुकाम सिमकोट र सहरी क्षेत्र सुर्खेत, नेपालगञ्ज, काठमाडौं लगायतका ठाउँमा जानु पर्दा यहाँको वासिन्दालाई सामान्य उपचार गर्न समेत दुई लाखसम्म खर्च गर्ने गरेका छन् । विशेषज्ञ डाक्टरको उपचार सेवा सदरमुकाम सिमकोटभन्दा बाहिर नहुँदा हुम्लीवासीले सास्ती भोग्दै आइरहेका छन् । हरेक स्थानीयतहमा निर्माण हुने अस्पताल अब स्वास्थ्य सेवा उपलव्ध नभएका कर्णालीका सबै स्थानीय तहमा विशेषज्ञ डाक्टर सहितको सेवा उपलव्ध हुने भएको छ ।

प्रतिक्रिया