छायांकनमा ‘कृष्ण–लीला’

काठमाडौं । चलचित्र ‘कृष्ण–लीला’ को शुक्रबारबाट छायांकन सुरु गरिएको छ । दसंैअघि नै निर्माण घोषणा गरिएको पूर्वी नेपालको झापाबाट सुटिङ थालिएको चलचित्रको युनिट अहिले इलाम पुगेको छ । दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रको सुटिङ ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको रोमान्टिक गीतबाट सुरु भएको कार्यकारी निर्माता रत्न श्रेष्ठले जानकारी दिए ।

गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा श्रेत्री रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । गायिका अञ्जु पन्त र गायक सुगम पोखरेलको आवाज रहेको उक्त गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको कोरियोग्राफी रामजी लामिछान तथा बाबु श्रेष्ठको छायांकन रहेको छ ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण–लीला’ मा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारको मुख्य भूमिका रहेको निर्माण पक्षले जनाएको छ । प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको चलचित्रको कोशी नदी किनारमा सेट लगाएर सुटिङ आरम्भ गरिएको थियो भने युनिट हाल इलामको पानीटार पुगेको छ । त्यहाँ गीतको छायांकन सम्पन्न गरेर दृश्य खिच्न थालिने जानकारी निर्देशक वलीले दिए । चलचित्रको सम्पूर्ण छायांकन पूर्वी नेपालमै सक्ने गरी काम भइरहेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया