बन्द विद्यालयको ढोका कहिले खुल्ला ?

अशिम सापकोटा

एक त गाउँघरमा पढ्ने वातावरण नै हुँदैन त्यसैमा बत्ती नियमित रूपमा आउँदैन । अभिभावकहरू खेतिपाती, बस्तुभाउमा व्यस्त हुने भएकोले आफ्ना नानीको पढाइमा ध्यान दिन सक्दैनन् । कहाँ कसरी पढाइ भइरहेको छ भन्ने कुराको जानकारीसमेत किसान अभिभावकलाई हुँदैन । यस्ता विभिन्न समस्याहरूले गर्दा पनि वैकल्पिक शिक्षाको प्रभावकारिता हुन नसक्ने हुन्छ । यसले विद्यार्थी र शिक्षक दुवैलाई मानसिक रूपमासमेत तनावको अवस्था सिर्जना हुन्छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण ०७६ चैत ६ देखि देशभरका विद्यालयहरू बन्द छन् । लामो समयदेखि विद्यार्थीको पढाइ प्रभावित भएको छ । घरमा बस्दाबस्दा दिक्क भएका विद्यार्थीहरू कहिले विद्यालय खुल्लान् र पठनपाठन होला भनेर प्रतिक्षामा बसिरहेका छन् । ससाना बालबालिकाहरू पहिले विद्यालय जानु परेमा पेट दुख्यो, टाउको दुख्यो भनेर विभिन्न बहाना गरेर विद्यालय जान नमान्नेहरू पनि आजभोलि भने कहिले विद्यालय खुल्ला र साथीसंगीहरूसँग खेल्न रमाउन पाइएला भनेर आत्तिएका छन् ।

कोरोना संक्रमणका कारण देशभरका करिब ७५ लाख विद्यार्थी पढाइबाट वञ्चित भएका छन् । यो कठिन अवस्थामा पनि रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन परियोजना पाठहरू, स्वअध्ययन, दूर तथा खुला शिक्षा लगायतका वैकल्पिक माध्यमबाट अध्ययनअध्यापन विधि सुचारु रहेको छ । यस्तो प्रविधि प्रयोगको पहुँच हुनेहरूमा प्रायः सहरका बालबालिकाहरू छन् । गाउँका बालबलिकाहरू यसबाट वञ्चित हुने नै छन । त्यसैमा पनि निजी र सामुदायिक विद्यालयका बालबालिकाहरूको हकका राम्रो पारिवारिक पृष्ठभूमि भएका केहीको हकमा यो प्रविधिको पहुँच पुग्ला तर सबैमा यो कुराको सम्भव नहुने देखिन्छ ।

अनलाइन कक्षाले विद्यार्थीलाई प्रविधिसहित र प्रविधिरहितको बनाएको छ । जसको कारणले गर्दा अभिभावक र विद्यार्थीले आर्थिक विभेद भोग्नुपर्ने वातावरणको सिर्जना भइरहेको अवस्था छ । हालै मात्र भारतको केरलामा १४ वर्षीया बालिकाले आप्mनो घरमा इन्टरनेट र ल्यापटपको पहुँचसमेत नहुँदा आत्महत्या गरेको सामाचार आएको छ । सबैको घरमा प्रर्याप्त मात्रामा प्रविधिहरू पनि छैनन्, एउटा मोबाइल हुन्छ, दुई÷तीन जना बच्चाको कक्षा एउटै समयमा हुन्छ, त्यसैमा पनि अभिभावकले आफ्नो अफिसको काम पनि त्यसैबाट गर्नुपर्ने हुन्छ । सबैको घरमा अनलाइन वा टिभीको पहुँच पनि हँुदैन । गाउँघरमा नियमित बिजुली बत्तीको पनि उत्तिकै समस्या छ ।

एक त गाउँघरमा पढ्ने वातावरण नै हँुदैन त्यसैमा बत्ती नियमित रूपमा आउँदैन । अभिभावकहरू खेतिपाती, बस्तुभाउमा व्यस्त हुने भएकोले आफ्ना नानीको पढाइमा ध्यान दिन सक्दैनन् । कहाँ कसरी पढाइ भइरहेको छ भन्ने कुराको जानकारीसमेत किसान अभिभावकलाई हुँदैन । यस्ता विभिन्न समस्याहरूले गर्दा पनि वैकल्पिक शिक्षाको प्रभावकारिता हुन नसक्ने हुन्छ । यसले विद्यार्थी र शिक्षक दुवैलाई मानसिक रूपमा समेत तनावको अवस्था सिर्जना हुन्छ । त्यसमा पनि अझै यो कोरोना भाइरसले कहिलेसम्म दुःख दिने हो भन्ने कुराको कुनै टुंगो नै छैन । यो वर्ष विद्यार्थीहरूको पढाइ अन्योलतामा सीमित नरहला भन्न सकिने अवस्था छैन ।

सरकारले वैकल्पिक माध्यमबाट पठनपाठनलाई प्राथमिकता दिए पनि कतिपय विद्यार्थी वैकल्पिक माध्यमबाट वञ्चित हुन विवस र बाध्य भएका छन् । ग्रामीण क्षेत्रमा मात्र नभई राजधानी काठमाडौं उपत्यकाका कतिपय विद्यार्थीलेसमेत यसबाट प्रभावित हुनुपरेको छ ।

करिब नौ महिनासम्मको बन्दाबन्दीका कारण शिक्षा क्षेत्र ठप्प भएपछि मुलुकको शैक्षिक क्षेत्र भूकम्पले ध्वस्त पारेको संरचनाजस्तै लथालिंग भएको छ । कोरोना भाइरस पछिलो केही दिन यता उग्ररूपमा उकालो लागेको छ । कोरोना भाइरस गत केही महिनाअघि तराई तथा सीमानाकाहरूमा उग्ररूप लिएको थियो भने हिजोआज उपत्यकामा यसले मुख्य केन्द्रविन्दु बनाएको छ । उपत्यकालाई केन्द्रविन्दु बनाए पनि उपत्यका बाहिरसमेत जोखिम रहेको छ । पठनपाठन ठप्प भएपछि कोरोना जोखिम नभएका र जोखिम कम हुँदै गएका जिल्लाका विद्यालयहरू आलोपालो गरी सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ को तय गरिसकेको छ । स्थानीयतहमार्फत विद्यालय सञ्चालन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृती दिएसँगै देशका कतिपय नगरपालिका गाउँपालिकामा सञ्चालनमा आएका छन् ।

ग्रामीण भेगका कतिपय विद्यालय सञ्चालनमा आए पनि काठमाडौं उपत्यकामा भने पठनपाठन ठप्प रहेको छ । कोरोना भाइरसले उग्र बनेको उपत्यकामा अझै पनि पूर्णरूपमा विद्यालय सञ्चालन हुन सकेको छैन । यसको प्रत्यक्ष असर विद्यार्थीलाई परेको छ । आप्mनो भविष्यको चित्र कोर्ने अठोट लिएर राजधानीमा कोठा लिएर बसेका विद्यार्थीहरू चिन्तित भएर घरमा बस्न विवश भएका छन् भने उनीहरू स्वास्थ्यको दृष्टिकोणमा मेन्टली रूपमा प्रभावित भएका छन् ।

पछिला केही दिनयता कोरोना भाइरस दिन प्रतिदिन बढ्दै गएपछि विद्यालय सञ्चालन गर्न नसकिने काठमाडौं महानगरपालिकाले जनाए पनि उपत्यका नजिक रहेका कतिपय विद्यालय खुलेका छ । कतिपय पालिकाका स्वास्थ्यको मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा रहेका छन् । उपत्यकाको भक्तपुर, ललितपुर, काठमाडौं जिल्लामा अहिले धेरै कोरोना संक्रमित देखिन थालेका छन् । कोरोना संक्रमणको जोखिमका कारण तत्काल विद्यालय कलेज विश्वविधालय पुनः सञ्चालन गर्न सकिने अवस्था न्यून छ ।

विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ जारी गरे पनि मुलुकभर कोरोना भाइरसको जोखिम उत्तिकै छ । सरकारले विद्यालयको पठनपाठनको जिम्मा स्थानीय सरकारलाई दिए पनि कतिपय अभिभावक रुष्ट बनेका छन् । कोरोना संक्रमणको जोखिम मुलुकभर उस्तै भएकाले विद्यालय सञ्चालन गर्दा कोरोना संक्रमण फैलिने हो कि भन्दै कतिपय विद्यालय व्यवस्थापन समितिहरू अझै पनि अन्योलमा छन् । लामो समयदेखि ठप्प पठनपाठन अब स्वास्थ्यको मापदण्डलाई मध्यनजर गर्दै चलायमान बनाउनुको विकल्प छैन ।

किनकी कोरोना संक्रमण लम्बिने संकेत देखिएको छ । हाम्रोजस्तो मुलुकमा सबै विद्यार्थी तथा शिक्षकले खोप पाउन अझै कम्तिमा एक वर्ष पर्खनुपर्ने हुन्छ । त्यसैले त्यति लामो समयसम्म शिक्षण संस्था बन्द गर्नु प्रत्युत्पादक हुन्छ । स्कुल कलेजमा विद्यार्थीहरूको हुलमुल हुने क्रियाकलापलाई केही समयलाई बिट मार्दै प्रविधिलाई प्राथमिकता दिनु उचित उपाय हुन्छ । कोरोना भाइरसले पठनपाठनलाई भत्केको संरचना जस्तै उजाडलाग्दो भए पनि अब प्रविधिलाई जोड दिनुपर्ने ज्ञान यो संकटले हामीलाई दिएको छ । प्रविधिको सुविधा सम्भव भए पनि यसलाई हामीले बेवास्ता गरेका थियौँ । अब प्रविधिमैत्री बन्नुपर्छ भन्ने सिकाएको छ ।

प्रतिक्रिया