अपांगप्रति सकारात्मक धारणा ल्याउन जोड

अर्घाखाँची । अपांगता भएकाहरूप्रतिको व्यवहारमा सकारात्मक धारणा ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । २९औँ अपांगता दिवसको अवसरमा मालारानी गाउँपालिकामा अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले अपांगता भएकालाई अवसरसँगै सकारात्मक धारणा जरुरी रहेको बताइन् । उपाध्यक्ष क्षेत्रीले अपांगता भएकाहरू पनि अवसर पाएको खण्डमा उल्लेख्य प्रगति गरेको उदाहरण रहेको उल्लेख गरिन् ।

बिकलांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रको आयोजना, मालारानी गाउँपालिकाको समन्वय र सिर्जनशील अपांगता सरोकार केन्द्रको सहकार्यमा भएको कार्यक्रममा मालारानी गाउँपालिका–८ का वडाध्यक्ष नरेन्द्रकुमार बस्नेतले नीतिगत रूपमै मालारानी गाउँपालिकाले अपांगता भएकाहरूलाई विभिन्न अवसर सिर्जना गरिँदै आएको बताए ।

वडा–६ का वडाध्यक्ष खड्कप्रसाद भुसालले अपांगता भएकाहरुको क्षेत्रमा पुनःस्थापनाका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । वडा–३ का वडाध्यक्ष शोभाखर खनालले सामाजिक रूपमा उच्च समानको वातावरण सिर्जना गर्दै लगिने बताए । गाउँपालिकाका योजना अधिकृत तथा सूचना अधिकारी नेत्र खनालले अपांगता भएकाहरूको आवाजको बहिष्करणमा नपार्ने गरी गाउँपालिकाले अवसरहरूको प्रदान गर्दै आएको बताए । साथै उनले नयाँ बन्ने कार्यालयका संरचनाहरू अपांगमैत्री बनाउन थालिएको जानकारी दिए ।

कार्यक्रममा सिर्जनशील अपांगता सरोकार केन्द्रका अध्यक्ष फर्सुराम पाण्डेले अपांगता भएका व्यक्तिहरूको अधिकार तथा सवालमाथि प्रकाश पारेका थिए । सक्षम परियोजनाका पुनःस्थापन सहायक रक्षा पाण्डे, नारायण खनाल लगायतले परियोजनाले गरेको कार्यहरूमाथि प्रकाश पारेको कार्यक्रममा पत्रकार महासंघका जिल्ला सदस्य वसन्त श्रेष्ठले सहजीकरण गरेका थिए । परियोजनाले १८ वर्षभन्दा कम उमेरका वालबालिकाको उपचार तथा पुनःस्थापनाको क्षेत्रका काम गर्दै आएको छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया