नेपालीको मनमा म्याराडोना

सन् १९८६ ताका नेपालमा आएको एउटा परिवर्तनसँग म्याराडोना र नेपाली फुटबल समर्थकबीच गहिरो सम्बन्ध छ । त्यति बेला नेपालमा टेलिभिजन भर्खर भित्रिएको थियो । टिभीमा झुम्मिनु त्यतिबेला शानको कुरा थियो । त्यसैबेलातिर अर्थात् सन् १९८६ मा विश्वकप फुटबलको आयोजना भएको थियो, नेपाली समर्थकहरू खेल हेर्न टिभीमा झुम्मिन पुगेका थिए र उक्त विश्वकपमा म्याराडोनाले छरेको जादुले नेपालीलाई पनि छोयो । सन् १९८६ को विश्वकपमा म्याराडोना फुटबल देखेर मन्त्रमुग्ध भएका नेपालीका मनमा उनको विशेष स्थान बन्न गएको कैयौँ खेल प्रशंसकको भनाइ छ । राष्ट्रिय टोलीका पूर्वखेलाडी श्रीराम रञ्जितकार भन्छन्, ‘एउटा टिभीमा सय जनाभन्दा बढी झुम्मिन्थ्यौँ । चाडजस्तै माहोल थियो । टिभी हुनेको शान बेग्लै थियो । पैसा तिरेरसमेत फुटबल हेरियो ।’

उता १० नम्बर जर्सीमा कप्तान म्याराडोना विश्वका महान् खेलाडीको परिचय दिँदै थिए, यता नेपालीहरू मनमस्तिष्कमा गहिरो गरी वास बस्दै थिए । उनको चर्चा पनि कतिकति । इंग्ल्यान्डविरुद्ध ह्यान्ड अफ गड अर्थात् ‘ईश्वरको हात’, शताब्दीको महान् गोल पनि त्यहीँ खेलमा अनि आर्जेन्टिनालाई विश्वकपको उपाधि । म्याराडोना र आर्जेन्टिनाप्रति नेपाली समर्थकहरूमा त्यतिबेला परेको गहिरो छाप अहिलेसम्म कायम देखिन्छ । हुन त आर्जेन्टिनाका समर्थकहरूलाई अहिलेका क्लब फुटबलका पारखी युवा पुस्ताले विस्तारै चुनौती दिन थालेका छन् । तर, आर्जेन्टिनाका ती अद्भुत खेलाडीको किस्सा देखेर सुनेर प्रभावमा परेकाहरूको संख्या कम छैन ।

अहिले पनि विश्वकपजस्ता ठूला फुटबलका बेला हल्का नीलो रङको धर्के जर्सीमा सजिने नेपाली समर्थकहरूले बजार भरिने गर्छ । म्याराडोनाले संसार छोड्दा सन् १९८६ देखि उनका समर्थक बनेको पुस्ताको मन निकै दुःखेको छ । उनीहरू ती पुराना दिनहरू र म्याराडोनालाई सम्झिरहेका छन् । म्याराडोना र आर्जेन्टिनाको छाप नेपालमा गहिरो हुनुमा थप केही कारणहरू पनि छन् । नेपाली मनमा म्याराडोनालाई जिउँदै राख्ने अर्का पात्र हुन् स्टार खेलाडी मणि शाह । जसरी आर्जेन्टिनी टोलीमा म्याराडोना प्ले मेकरको भूमिकामा महान् थिए, त्यसरी नै नेपाली राष्ट्रिय टोलीमा मणि शाह ।

यी दुईको खेल शैली मात्र होइन थुप्रै कुरामा समानता थिए । बायाँ खुट्टाको उस्तै कमाल, छोटो कद, घुम्रिएको कपाल, १० नम्बर जर्सी अनि सफलता र स्वाभाव पनि उस्तै । अनि खेल जीवन जति महान्, मैदान बाहिरको जीवन त्यति नै भद्रगोल र विवादास्पद । मणि शाहले दक्षिण एसियाली खेलकुद (१९९६) मा नेपाललाई स्वर्ण (नेपालको लागि विश्वकप सरह) दिलाउन अहं भूमिका खेले । म्याराडोनाले विश्वकप जिताउन । दुवै अनेक विवादमा परिरहे । उता म्याराडोना कोकिनको लतमा फस्दै गए, यता मणि शाह रक्सीको लतमा । भनिन्थ्यो, नेपालमा जन्मेको भए म्याराडोना मणि शाह हुन्थे अनि मणि आर्जेन्टिनामा जन्मेको भए म्याराडोना ।

यति धेरै समानता विश्व फुटबलमा अनौठो संयोग नै मान्नेहरू धेरै छन् । दुवैको अन्त्य पनि असामयिक नै भयो । मणि शाहले दुई वर्षअगाडि ५१ वर्षको उमेरमा देह त्याग गरे, म्याराडोनाले बिहीबार । सन् १९८६ को विश्वकप र त्यसको चार वर्षअगाडि फकल्यान्ड टापुलाई लिएर इंग्ल्यान्ड र आर्जेन्टिनाबीच भएको युद्धमा फुटबल, म्याराडोना र नेपाल एकसाथ जोडिएर आउने गर्छ । ८२ को उक्त युद्धमा इंग्ल्यान्डले आर्जेन्टिनालाई पराजित ग¥यो र उक्त टापु कब्जा ग¥यो । उक्त युद्ध इंग्ल्यान्डले जित्नुको कारण थियो गोर्खा सेनाको बहादुरी ।

८६ को विश्वकपमा यी दुई राष्ट्रबीच क्वार्टर फाइनलमा भेट हुँदा त्यसलाई फकल्यान्ड टापुजस्तै अर्को युद्ध ठानिएको थियो । त्यसको रोष ८६ को विश्वकपमा आर्जेन्टिनाले इंग्ल्यान्डलाई पराजित गरेर लिए । धेरै थोक म्याराडोनाले त्यही खेलमा गरेका हुन् । म्याराडोनाले फकल्यान्ड युद्ध गोर्खाली सेनाले गर्दा हारेको भन्दै गोर्खा सेनाविरुद्ध नराम्रो प्रतिक्रिया दिए । कतिपय नेपाली समर्थकहरू, जो अर्जेन्टिना छाडेर ब्राजिलको समर्थन गर्न रुचाउँछन्, उनीहरू त्यसको कारण म्याराडोनाको उक्त विवादास्पद अभिव्यक्तिलाई मान्छन् ।

नेपाली खेलाडीहरूमा म्याराडोनाको प्रभाव नहुने कुरै भएन । १९९० ताका राष्ट्रिय टोलीका प्रायः खेलाडीहरूको लामो लामो कपाल पाल्ने फेसन थियो । राजुकाजी शाक्य, उमेश प्रधान, राजेश मानन्धरदेखि प्रायः सबै खेलाडीले लामा कपाल पालेका थिए । त्यो ठ्याक्कै अर्जेन्टिनाका खेलाडीहरूको नक्कल थियो । नेपाली क्लब फुटबलमा पनि त्यसको प्रभाव थियो । मनाङ मस्र्याङ्दी क्लबले त त्यसको ठ्याक्कै अनुसरण नै ग¥यो । मनाङले आर्जेन्टिनाको जस्तै हल्का नीलो सेतो धर्के जर्सी नै रोजे । आर्जेन्टिनाको जस्तै जर्सी अनि मणि शाह मनाङमा मुख्य खेलाडी । मनाङ–मस्र्याङ्दी क्लबका समर्थक नेपालमा ह्वात्तै बढ्नुमा यी कारण पनि कहीँ कतै जोडिएकै मानिन्छ ।

थापा र म्यारोडोना
म्याराडोनाभन्दा गणेश थापा २१ दिनले जेठा हुन् । दुवैको करिअरसँगै सुरू भयो । दक्षिण अमेरिकी राष्ट्र र दक्षिण एसियाबीच फुटबल मैदानमा दुबैको भेट त सम्भव नै थिएन । नेपाल र आर्जेन्टिनाको फुटबल नजिकिएको भनेको सन् १९८३ मा मलेसियामा २७औँ मर्डेका कप खेल्दा हो । आर्जेन्टिनाबाट आएको सो क्लबमा म्याराडोनासँगै खेलेका खेलाडीहरू थिए रे भनिन्थ्यो ।

यद्यपि अन्य जसरी थापा पनि म्याराडोनाको कट्टर समर्थक हुन् र म्याराडोनालाई नजिकबाट नियाल्न पाउने नेपाली पात्र पनि । पूर्वराष्ट्रिय कप्तान हुँदै अखिल नेपाल फुटबल संघ एन्फामा लामो समय नेतृत्व गरेका थापा एसियाली फुटबल महासंघको उपाध्यक्ष सम्मको यात्रा क्रममा म्याराडोनालाई भेटेका हुन् ।

म्याराडोनासँग उनको जम्काभेटको कथा पनि रोचक छ । सन् २००२ को दक्षिण कोरिया र जापान विश्वकपमा थापा विश्वकपको अनुशासन समितिका सदस्य थिए । ‘जापानमा म्याराडोना आउने भएपछि म रोमाञ्चित भएँ । भिआइपी कक्षमा म्याराडोनाको सिट छुट्टयाइएपछि म उनलाई कुरेर बसेँ । मेरो आँखा बारम्बार भिआइपी कक्षको द्वारमा अडिरह्यो, तर उनी आएनन् ।’ त्यो साल थापाको उनलाई भेट्ने रहर पूरा भएन ।

चार वर्षपछि थापा अनुशासन समितिकै सदस्यका रूपमा पुनः जर्मनीमा आयोजित विश्वकपमा पुगे । त्यहाँ भने भिआइपी कक्षमा थापा र म्याराडोनाको भेट भयो । बायाँ सिटमा म्याराडोना, बीचमा उनकी छोरी र त्यस पछिको सिटमा थापा ।
उत्साहित थापाले म्याराडोनासँग फोटो खिच्न आग्रह गरे । तर म्याराडोनाले टेरेनन्, वास्तै गरेनन् । ‘खेलको सुरूमा, मध्यान्तरमा अनि खेल सकिएपछि गरी जम्मा १ सय १५ मिनेट म उनी सँगै बसेँ, तर फोटो खिच्न पाइनँ ।’ थापा सम्झिन्छन् । थापा भन्छन्, ‘त्यो बेला सेल्फीको जमाना थिएन । नत्र फोटो आफैँ खिचिन्थ्यो होला ।’

थापाका अनुसार त्यो बेला म्याराडोना निकै तनावमा थिए र बारम्बार बहुलाहा जसरी उफ्रिरहेका थिए । कारण उनले पछि बुझेछन् । ‘मेसीलाई बेञ्चमा राखेका थिए । त्यसैले म्याराडोना उनलाई खेलाएनन् भनेर रिसले उफ्रेका रहेछन् । अर्जेन्टिनाले त्यो खेल हा¥यो पनि । हारेको झोकमा म्याराडोनासँगै आएका साथीहरूले मेच पनि भाँचिदिए ।’

म्याराडोना सन् २०१० मा आर्जेन्टिनाले विश्वकप खेल्दा राष्ट्रिय टोलीका प्रशिक्षक थिए । आर्जेन्टिनाको अर्को खेलको लागि पनि म्याराडोना भिआइपी कक्षमा आउने कुरा थियो । तर मेच भाँच्ने उनका साथीहरूलाई भने आउन प्रतिबन्ध लगाइयो । अनि म्याराडोना पनि आएनन् । थापा भन्छन्, ‘अर्को दिन फोटो खिचाउने धुनमा कस्सिएको थिएँ । उनी त दर्शकदीर्घामा बसेर हेर्न गए । मेरो चाहना अपूरै रह्यो ।’ (बिबिसी)

प्रतिक्रिया