२५ वर्षीय युवक मृत भेटिए, तालीमप्राप्त कुकुरद्वारा अनुसन्धान

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका–४ सुनार टोलका २५ वर्षीय कमल दमाईं मृतावस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिए । मृतकका शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ ।

कञ्चनपुर प्रहरीले दमाईंको हत्या गरिएको आशङ्कामा अनुसन्धानका लागि धनगढीबाट तालीमप्राप्त कुकुरसमेत ल्याएर अनुसन्धान गरिरहेको छ । ‘मृतकका बुबाले दिएको प्रारम्भिक जानकारी अनुसार दमाईं गत असोजमा मजदूरी गर्न स्याङ्जा गएका थिए’, प्रहरी नायब उपरीक्षक थापाले भने, ‘विस्तृत अनुसन्धान हुँदैछ ।’

प्रतिक्रिया