रंग‍-विविध

कोरोनाबीच कात्तिक नाच : १८ वर्षमुनि र ६० वर्ष माथिकालाई संलग्न नगराइने

सौर्य अनलाइन २०७७ मंसिर १२ गते ७:५९ मा प्रकाशित

ललितपुर । कोरोना कहरका कारण कात्तिक नाट्य महोत्सवमा १८ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई कलाकारमा संलग्न नगराइने भएको छ । आगामी शुक्रबार र शनिबार मञ्चन हुने भनिएको दुई दिन मञ्चन हुने नाचमा यस वर्ष कोरोनालाई मध्येनजर गरी उक्त निर्णय गरिएको हो ।  कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले कोरोना संक्रमण महामारीका रुपमा फैलिरहेकाले अठार वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धमा कोरोनाको जोखिम बढी रहने यो निर्णय गरिएको जनाए । उनले यसबाहेक अन्य उमेर समूहका मानिसलाई कलाकारका रूपमा छनोट गरिने बताए । उनले भने, ‘कात्तिक नाट्य महोत्सवमा भाग लिने हामीसँग आठ वर्षदेखि ८० वर्षसम्मका कलाकार हुनुहुन्छ । यस वर्ष २० देखि ४० वर्ष उमेरका मानिसलाई शुक्रबार वराह र शनिबार नृसिंह अवतारको नाच देखाउने तयारीमा राखिरहेका छाँै ।’ चित्रकारका अनुसार गत वर्ष १२ दिन देखाइएको नृत्यमा लगभग १५० कलाकार सहभागी थिए । तीमध्ये ७० जना नाटक प्रस्तुत गर्ने कलाकार र अन्य बाँकी ८० वाद्यवादक, सहयोगी र स्वयंसेवक रहेका थिए ।

यस वर्ष कात्तिक नाच देखाउँदा सामाजिक दूरी कायम गर्ने, स्वास्थ्य सावधानी पूर्णरूपमा अपनाउने वचनबद्घताका साथ मात्र परम्परा धान्न जिल्ला प्रशासन कार्यालय ललितपुरले अनुमति दिइसकेको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए ।  उनले वराह नृत्य कलाको प्रदर्शन कात्तिक शुक्लपक्ष द्वादशी र नृसिंह अवतार नाट्य मञ्चन कात्तिक शुक्लपक्ष त्रयोदशीकै दिन करिब तीनदेखि चार घण्टा देखाइने तयारी गरिरहेको जानकारी दिए । उनका अनुसार सिद्धिनरसिंह मल्लका नाति योगनरेन्द्र मल्लले कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेको यस नाचमा १७ विधाको कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो । यी विधामा सुदामा, भक्त सूरदास, माधवानर लीला, ल्यवःलाय्गु अर्थात् सुखुली तुल्यगु, च्वलेखुदाँ अर्थात् दाँखुदाँ…, कौलाखिचा, माकः सि मियेगु, खुसी छिकेगु अर्थात् जीचा, तिंखिकाँ अर्थात छ्योँध्वग्गि, सतिवनेगु अर्थात् महामुर्ख, उषाहरण लीला, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला, दधिलीला र बौद्ध अवतार लीला रहेका समितिले जनाएको छ ।

भगवान् विष्णुले मानव कल्याण र धर्मरक्षाका लागि लिएका विभिन्न अवतारमध्ये यस वर्ष वराह अनि नृसिंह अवतारको मात्र नाट्य महोत्सव आयोजना गरिने बताइएको छ । हरेक वर्ष पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा सो नृत्य मञ्चन गरिन्छ । यो नृत्यको कथामार्फत शुक्रबार हिरण्याक्ष दैत्यको वध र शनिबार दानव हिरण्यकशिपुको वध गरेर लोकलाई शान्तिको सन्देश छर्ने काम हुनेछ । मुलुकमा कात्तिक नाचको थालनी भएसँगै इतिहासमै कुनै वर्ष पनि नरोकिएको जानकारको भनाइ छ । किंवदन्तीअनुसार विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ यस नाच चलाएका थिए । यो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवको रूपमा सम्पूर्ण नेपालीसामु रहन सफल भइरहेको छ । कात्तिक नाचको माध्यमद्वारा मानिसलाई मनोरञ्जन दिनुका साथसाथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिन्छ । कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय