दाहाललाई ओलीको ४० पृष्ठे जवाफ : ‘भ्रष्टचारी पुष्टि गरेर जेल हाल्नुहोस् ?’

काठमाडौं । प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई ४० पृष्ठे जवाफ तयार पारेका छन् । विगत केही दिनदेखी तयार पारेको प्रतिवेदन १३ मंसिरमा बस्ने सचिवालय बैठकमा पेश गर्ने तयारी गरेका हुन् । उनले आफुलाई लगाएका आरोप पुष्टि गरेर कानुनको दायरामा ल्याउन दाहाललाई चुनौति समेत दिएका छन् ।

प्रतिवेदनमा ओलीले आफुलाई लगाएको आरोपको जवाफ र दाहालमाथी मुख्यगरी १२ वटा गम्भिर आरोप लगाएका छन् । पाँच हजार जनताको खुल्लेआम स्विकार गरेको, शान्ति प्रक्रियामा बदमासी गरेको, छोरी जिताउन मतपत्र च्यातेको, सरकार सात महिनामै ढाल्न खोजेको, आलोपालो सहमति नहुँदासम्म सरकारमा नआएको, विदेश भूमिमा गएर अस्थिरताको सन्देश दिएको जस्ता आरोप लगाइएको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालले लगाएको भ्रष्टचारको आरोपमा माफी मागेर मात्र नपुग्ने र फैजदारी कानून नै आकर्षित हुने खालको भएको उल्लेख गरेका छन् । ‘मलाई भ्रष्टाचारको आरोप लगाइएको छ। तर तपाईँको विगत र हालको चाहना जनतासँग स्पष्टरुपमा पुग्यो भने के हुन्छ? यो यति गम्भीर विषय हो, जसलाई यतिकै छोड्न मिल्दैन’, ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्,‘तपाईले पार्टीका नीति या विधानसम्बन्धी प्रश्नमा मात्रै मलाई लान्छित गर्नु भएको छैन । मुलुकको संविधान र कानुन आकर्षित हुने फौजदारी प्रकृतिका आरोपसमेत लगाउनु भएको छ । यति गम्भीर आरोप लागेको मानिस आत्मालोचना गरेर मात्रै उम्किन सक्दैन ।’

ओलीले आरोप पुष्टि हुँदा राज्यको कानुन र पार्टीको विधान अनुसार कारवाहीको भागीदार बन्नुपर्ने बताएका छन् । ‘तपाईँलाई मेरो चुनौती छ कि आरोप पुष्टि गर्नुहोस् र राज्यको कानुन र पार्टी विधान अनुसार मलाई कारबाही गर्नुहोस् । कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भंग गर्ने दृष्टताको जवाफदेही बन्न तयार हुनुहोस्’, ओलीले प्रतिवेदनमा उल्लेख गरेको स्रोतको भनाई छ ।


ओलीले दाहालमाथी अर्को गम्भिर आरोप लगाएका छन् । जुन बोलीले दाहाल युद्ध अपराधमा हेगसम्म तानिने उल्लेख गरेका छन् । टुँडिखेलमा आयोजित कार्यक्रममा पाँच हजार जनता मारेको जिम्मा लिन्छु भन्ने भनाई र बाँदरमुडे घटनाले दाहालको हेगसम्म यात्रा हुनसक्ने विश्लेषण प्रतिवेदनमा गरिएको छ । स्रोतका अनुसार यस्ता विषय बोलेर दाहालले आफुले आफुलाई नै फसाएको बताइएको छ ।

दाहालले टुडिखेलमा आयोजित कार्यक्रममा भनेका थिए, ‘मैले १७ हजार मान्छे मारेर आएको भन्ने तथ्यांक भन्ने गरिएको छ । साथीहरु र आदरणीय जनसमुदाय यो सत्य होइन् । सत्य के हो, मलाई भन्न दिनुहोस् । सत्य के हो भने हिजो सामान्ती राजाहरुले १२ हजार मारेका हुन् । मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु ।’ नेपालमा भएका युद्ध अपराध गरेकालाई हेगमा पु¥याउने रोम स्ट्याचुटमा सरकारले यसअघि नै हस्ताक्षर गरिसकेको छ । यही विषय थाहा भएर दाहालले तत्कालिन अवस्थामा अष्ट्रेलियाको भ्रमण अन्तिम समयमा आएर स्थगित गरेका थिए ।

आलोपालोको सहमति नगरेसम्म सरकारमा सहभागी हुने तत्कालिन माओवादीतर्फका मन्त्रीको नाम दाहालले नदिएको दुखेसो समेत ओलीले उल्लेख गरेका छन् । फागुन सात गते राति दुई अध्यक्षबीच सहमति भएपछि मात्र उनले नाम दिएको र सरकारले पूर्णता पाएको बताएका छन् । साथै दाहालले अस्थिरता मच्चाउनबीचमै सो सहमति भएको भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उल्लेख गरेको पनि लेखेका छन् ।

ओलीले दाहाल सँधै सहमतिका संवाहक हुन भनेर भ्रम फिजाउन खोजेको भन्दै पुरानो प्रसंग उल्लेख गरेका छन् । चुनावका बेला एउटै चुनाव चिन्ह सुर्यमा लड्ने भनेर लिखित सहमति गरेको भोली पल्टै कसको दवाव र प्रभावमा त्यसबाट पछि हटेको ? भनि प्रश्न समेत गरेका छन् । ओलीको प्रतिवेदन लगभग तयार भएपनि शुक्रबार वा शनिवार विहान छपाईका लागि पठाउने तयारी भएको स्रोतको भनाई छ । मुख्यरुपमा यही विषय रहेपनि ओलीले फाइनल रुपमा भने प्रतिवेदन तयार गरी नसकेको बालुवाटारस्रोतले जानकारी दिएको छ । फाइनल प्रतिवेदन तयार हुँदा पृष्ठ केही तलमाथी हुन सक्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले विशेषगरी दाहाललाई मात्रै इंगित गरेर प्रतिवेदन तयार पारेका छन् । उनले वरिष्ठ नेता माधवकुमार नेपाल लगायत पूर्व एमालेका नेताहरुको भने नाम उल्लेख नगरेको स्रोतले जानकारी दिएको छ । २८ कात्तिकमा बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले गम्भिर प्रकारका आरोप लगाएपछि ओलीले त्यसको जवाफसहितको प्रतिवेदन ल्याउन ३ मंसिरको सचिवालय बैठकमा समय माग गरेका थिए । सचिवालयले अनुमति दिएपछि उनि प्रतिवेदन लेख्न व्यस्त बनेका थिए । यसबीचमा उनि एक पटक ताप्लेजुङको कार्यक्रममा सरिक भए भने सरकारका नियमित बैठकमा मात्र उपस्थित भए ।

प्रतिक्रिया