हरिवोधनी एकादशी र तुलसीको महत्व

रमादेवी पौडेल

वैदिक सनातन धर्मशास्त्रमा आयुर्वेदसमेत महत्वपूर्ण भूमिका लिएको तुलसीको बिरुवाको महत्व ठूलो छ । धार्मिक र सांस्कृतिक अनि वैज्ञानिकरूपमा पनि अति उपयोगी यस वनस्पतिलाई आँगनमा तुलसाको मठ बनाएर रोप्ने चलन छ । तुलसी पूजाको ठूलो महत्व छ । हजारौँ वर्षदेखि सनातन संस्कारीहरू प्रातकालमै उठेर तुलसीमा पानी चढाएर अनि नमन गरेर मात्र आआफ्नो दैनिकीमा लाग्ने गरेका छन् ।

आज हरिबोधिनी एकादशी हो । हरिबोधनी एकादशीलाई सबैभन्दा ठूलो अर्थात ठूली एकादशी पनि भन्ने गरिन्छ । हरिशयनी एकादशीबाट चिरनिन्द्रामा सुत्नुभएका विष्णु भगवान् हरिवोधनी एकादशीमा उठ्नुहुन्छ भन्ने जनविश्वाश रहेको छ । औपचारिक रूपमा हरिशयनी एकादशीमा रोपिएको तुलसीको विरुवा हरिबोधिनी एकादशीसम्ममा धेरै ठूलो भइसकेको हुन्छ । आजको दिन विधीपूर्वक जप, होम गरेर तुलसीको होम लगाइन्छ भने यसरी आषाढ शुक्ल हरिशयनी एकादशीमा रोपिएको तुलसीलाई आज पीपलसँग विवाह गरिदिने परम्परा पनि रहेको छ । तुलसीको मठको चारैतर्फ बाँसको लिंगो गाडेर अनि रगंरोगन गरेर श्रृंगारिन्छ । यसरी होम लगाँउदा रुद्री पूजा पनि गरिने चलन छ ।

वैदिक सनातन धर्मशास्त्रमा आयुर्वेदसमेत महत्वपूर्ण भूमिका लिएको तुलसीको विरुवाको महत्व ठूलो छ । धार्मिक र सांस्कृतिक अनि वैज्ञानिकरूपमा पनि अति उपयोगी यस वनस्पतीलाई आँगनमा तुलसाको मठ बनाएर रोप्ने चलन छ । तुलसी पूजाको ठूलो महत्व छ । हजारौँ वर्षदेखि सनातन संस्कारीहरू प्रातकालमै उठेर तुलसीमा पानी चढाएर अनि नमन गरेर मात्र आआफ्नो दैनिकीमा लाग्ने गरेका छन् । जन्म, मृत्युदेखि हरेक सनातन संस्कारमा तुलसीको बिरुवा अनि पातको महत्व हुन्छ । तुलसी पात हालेर अनि भगवान्लाई अर्पण गरेर मात्र भोजन फलाहार आदि सेवन गर्ने चलन अझै पनि कैयन् घर अनि परम्परामा विद्यमान छ । आँगनको छेउको तुलसी मोठ विवाह ब्रतबन्धलगायत मृत्युशैया सम्मका लागि पवित्र स्थान मानेर उपयोग गरिने चलन छ । तुलसीको फूललाई सुकाएर राखेर प्रयोग गरिन्छ, यी फूललाई मञ्जरी भनिन्छ । त्यस्तै तुलसीको डाँठलाई काटेर सुकाएर आएका मसिना काठजस्ता टुक्राका पवित्र माला अत्यन्त पवित्र मानिन्छ ।

पद्म पुराणमा बिन्दा देवीले पृथ्वीमा आएर भगवान् विष्णुलाई आफ्नो पति रूपमा पाउन गरेको तपस्यासँग तुलसीको महत्वलाई गाँसिएको पाइन्छ । त्यस्तै श्रीमद्भागवतको ३ को ५ को १९औँ खण्डमा तुलसी बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको पाइन्छ । भोजनलाई सदैव तुलसीको पात राखेर मात्र सेवन गर्ने भगवान् श्री कृष्णलाई तुलसीसँग जोडिएका प्रसंगहरू धेरै छन् । गौतमीय तन्त्रअनुसार भक्तहरूले हत्केला भरिको पानी र तुलसीको पात मात्र सफा हृदयले अर्पण गरेमा श्री कृष्णको कृपाले सम्पूर्ण फल प्राप्त हुने महिमा छ । स्कन्द पुराणले पनि तुलसीको पूजा गरेमा अनन्त फल प्राप्त हुने व्याख्या गरेको छ ।

आजको दिन भक्तालुहरू बिहानैदेखि नुहाइधुवाई अनि चोखो भएर व्रत बस्ने अनि फलाहार तथा कन्दमूल चोखोनितो खानेकुरा लिने चलन छ । विष्णु भगवान्लाई नारायणका नामले पनि पूजिन्छ र यिनै नारायण र काठमाडांै उपत्यकाको एउटा परम्परागत र परापूर्वकालीन सम्बन्धको समेत आज यहाँ चर्चा गर्न जाँदै छौँ । परापूर्वकालमा काठमाडांै सहरमाथि भगवान् विष्णुको अनुकम्पा रहिरहोस् भनी उपत्यकाको चारैतर्फको कुनामा विष्णुको प्रतिमा राखिएको हो जसको प्रतापका कारण विष्णुको अनुग्रह काठमाडौं सहरमा हरेक पिढी दरपिढी कायम रहने सामाजिक मान्यता रहेको पाइन्छ । काठमाडांैको पश्चिममा इचंगु नारायण, पूर्वमा चाँगु नारायण, उत्तरमा विशंखु नारायण अनि दक्षिणमा शेष नारायणका रूपमा विष्णुले काठमाण्डौलाई हेरिरहेको जनविश्वाश छ ।

पहिले पहिले हरिवोधनी एकादशीमा भक्तहरू विष्णु प्रतिमा रहेको आफूलाई पायक पर्ने मन्दिरमा खाली खुट्टा हिँडेर सूर्य उदाँउदादेखि अस्ताँउदासम्म पूजापाठ गरेर बस्ने चलन थियो । यसक्रममा भक्तजनहरू उपत्यकाको चारै नारायण एकैदिनमा हिँडेर पुग्ने पनि गर्दथे भन्ने कथन छ । यसरी हिँडेर चारै नारायण पुग्ने तिर्थालुहरू अन्त्यमा फर्पिङको शेष नारायणमा पुगेर आफ्नो तीर्थाटन समापन गर्ने गर्दथे । शेषको अर्थ अन्त्य भन्ने हुन्छ र नारायण दर्शनको समापनविन्दु पनि त्यहीँ हुने गरेको भनाइ छ । यसरी चार वटै नारायणको दर्शनार्थ पुग्नसक्ने भक्तालुहरूका लागि पाटनको कृष्ण मन्दिरको छेउमा चारनारायण मन्दिरमा उपत्यका वरिपरिका चारै नारायणको प्रतिमा राखिएको र सहज रूपमा दर्शन गर्ने व्यवस्था गरिएको हो ।

उतिबेला मानिससँग धेरै समय र भक्तिका लागि समय भएकाले पनि दिनभरि मन्दिर परिसरमा बस्ने गर्दथे र साँझ परेपछि फर्किने चलन भएको उपत्यकामा अझै पनि वृद्धवृद्धाले बताउने गर्दछन् तथापि अहिले पनि यी नारायणहरूमा भक्तजनहरूको प्रशस्तै भिड हरिबोधिनी एकादशीको दिन देख्न सकिन्छ । कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी, ठूलीएकादशी वा तुलसी विवाहको नामले प्रसिद्ध यस दिन विशेषगरी विष्णु भगवान्को पूजनसहित तुलसी विवाहको उत्सव मनाइन्छ । सनातन धर्मअनुसार आषाढ शुल्क एकादशीदेखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट उठेको यस पवित्र दिनमा भगवान् विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्नुभएको यसै दिन तुलसीको विवाह विष्णु भगवान्सँग भएको थियो, शालिग्राम वा पीपलसँग तुलसीको विवाह भगवान् विष्णु र लक्ष्मीजीको विवाहको प्रतीकात्मक विवाह हो ।

यस दिन बिहान सूर्योदयभन्दा पहिले उठेर स्नान गर्ने र विष्णु भगवान्को पूजनसहित तुलसी विवाहगरी व्रत वस्ने परम्परा रहेको छ । तुलसी विवाहका लागि तुलसीको मठ या गमलामा गेरु वा रंग आदिले रंगरोगनगरी सजाएर चारैतिरबाट ऊखु, साल, बाँस या नियालोलो मण्डप बनाएर त्यसमाथि फूल तथा कपडाले सजाएर तुलसीलाई वस्त्र तथा सौभाग्य लगाएर शृंगार गर्नु पर्दछ । दियो, कलश, गणेशसहित सबै देवी–देवताहरूको र श्री शालिग्रामको श्रद्धा एवं भक्तिपूर्वक पूजन गर्नु पर्दछ र आजकै दिनबाट नयाँ धान कुटेर चामलको न्वागी भगवानलाई अर्पणगरि प्रसाद स्वरूप न्वागी खाने प्रचलन पनि रहेको छ ।

पूजन गर्दा ॐ तुलसी दामोदराभ्यां नमः भन्दै पद्म जल, अघ्र्य, आचमनी, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ तत्पश्चात् शुद्ध जलले स्नानगराई तुलसी तथा शालिग्राममा आफ्नो गच्छेअनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दुर, टिका, वस्त्र, सौभाग्य चढाउनु पर्दछ र जौ, तिल, फूल, माला, सहित सम्पूर्ण उपचारले पूजा गर्दै धूप, दीप, नैवेद्य, ऋतुफल, कन्दमूल, पान, सुपारी आदि द्वारा गरिएको पूजाबाट मनोवाञ्छित फल प्राप्त हुने शास्त्रक्त कथन रहेको छ, त्यसपछि पहेँलो फूल हातमा लिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ र एउटा नरिवल, दक्षिणासहित भगवान् शालिग्राम हातमा लिएर तुलसीजीको सातपटक परिक्रमा गर्नुपर्दछ तत्पश्चात् आरती गरी तुलसी विवाह उत्सव पूर्ण गरिन्छ र यसदिन विष्णुभगवान्को भजन किर्तन गरी रातभरी जागराम बस्ने चलन पनि रहेको छ । यसरी गरिएको पूजा एवं आराधनाबाट हामीलाई सुख, समृद्धि र सबै प्रकरको मनोकामना प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया