ठुला क्लब अन्तिम १६ मा

स्पेन । यूईएफए च्याम्पियन्स लिगमा नाम चलेका ठुला क्लबले अन्तिम १६ मा स्थान बनाएका छन् । बार्सिलोनाले डिनामो किएभलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । बार्सिलोनाको जितले समूह जी को इटालियन टोली युभेन्टसलाई पनि फाइदा पुग्यो । युभेन्टसले समूह चरणमा यसअघि बार्सिलोनासँग २–० को हार बेहोरेको थियो । त्यसकारण टोलीको ३ खेलमा ६ अंक थियो । एकतर्फ बार्सिलोनाले किएभलाई पराजित गर्नु र आफ्नो खेलमा फेरेन्कभारोसलाई पराजित गरेपछि युभेन्टसले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

युभेन्टसले फेरेन्कभारोसलाई पराजित गर्न इन्ज्युरी समयको गोल कुर्नुपर्यो । खेलमा दबाब बनाएपनि हंगेरीको टोलीको रक्षात्मक रणनीति तोड्न निकै कठिन परेको थियो । तर अल्भारो मोराटाले इन्ज्युरी समयमा गरेको हेडरमा गोलरक्षकले गम्भीर गल्ती गरेपछि युभेन्टस जित हासिल गर्न सफल रहयो ।

समूह जी मा बार्सिलोना ४ खेलमा १२ अंक जोड्दै शीर्षस्थानमा छ । ४ खेलमा ९ अंक जोडेको युभेन्टस पनि अर्को चरण पुगेको छ । १–१ अंक बोकेका किएभ र फेरेन्कभारोस भने युरोपा लिग स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । यस्तै समूह ई मा चेल्सी र सेभिल्ला दुवैले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । सेभिल्लाले क्राज्नोदार तथा चेल्सीले रेन्नेसको मैदानमा २–१ को समान जित दर्ता गर्दै अर्को चरणमा प्रवेश गरे । चेल्सी र सेभिल्लाको ४ खेलमा १०–१० अंक छ । क्राज्नोदार र रेन्नेसले १–१ अंक जोडेका छन् ।

समूह एचमा भने हालसम्म सबै टोलीको सम्भावना खुला छ । म्यान्चेस्टर युनाइटेडले इस्तानबुललाई ४–१ ले पराजित गर्दा पीएसजीले लाइप्जिगको मैदानमा १–० को जित निकाल्यो । अंक तालिकामा युनाइटेड ४ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा छ । पीएसजी र लाइप्जिगको ६–६ अंक छ । इस्तानबुल पनि ३ अंकसाथ अर्को चरणमा पुग्ने प्रयासमै छ ।

समूह एफमा डर्टमुन्डले ४ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा पकड बनेको छ । डर्टमुन्डले ब्रुगलाई ३–० ले हराउँदा लाजियोले जेनिटमाथि ३–१ को जित दर्ता गरेको थियो । अपराजित लाजियोको ४ खेलमा ८ अंक छ । ब्रूगले ४ अंक जोड्दा जेनिट १ अंकसहित पुछारमा छ ।

प्रतिक्रिया