विप्लवका ७ कार्यकर्ता विरुद्ध मुद्धा चलाइने

काठमाडौं । काठमाडौं उपत्यकाबाट प्रहरीले विप्लव समूहका ७ जनालाई पक्राउ गरेको छ । सातौं पार्टी पुनर्गठन दिवस मनाउने क्रममा प्रहरीले कालिमाटी, बौद्ध र भक्तपुरबाट उनिहरुलाई पक्राउ गरेको थियो । कालीमाटी र बौद्धबाट काठमाडौं प्रहरीले तारा सञ्जेल, प्रेम चलाउने, नवराज भट्ट, महेन्द्र सुनार, जिवन शाही र चन्द्रा श्रेष्ठलाई पक्रेको छ । भक्तपुरबाट तमु मुक्तिमर्चोका संयोजक देव बहादुर गुरुङलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ ।
‘पक्राउ परेका विप्लव समूहका कार्यकर्ताबारे अनुसन्धान भइरहेको छ’ महानगरीय पहरी परिसर काठमाडौंका प्रवक्ता (डीएसपी) प्रमेश विष्टले रातोपाटीसँग भने–‘कानुन अनुसार म्याद लिएर थप अनुसन्धान गर्छौं ।’

सोमबार मध्यान्ह कालिमाटीमा रक्तदान गरिरहेको ३९ जना विप्लव समर्थकलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको थियो । ६ जना होलटाइमर कार्यकर्ता बाहेक अरुलाई आफन्तको जिम्मा लगाइएको छ ।  भक्तपुरबाट पक्राउ गरिएका ५५ वर्षीय देव बहादुर गुरुङ सो समूहका भक्तपुर जिल्ला समिति सदस्य हुन् । पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट गराएको अभियोगमा पक्राउ परेर उनी छुटेका थिए ।  सातौं पार्टी पुनर्गठन दिवसको अवसरमा उनले भक्तपुर क्षेत्रमा पर्चा, पम्प्लेट फालेको र सूर्यबिनायक पुलमा विप्लव समूहको व्यानर राखेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया