अदुअआमा अनियमिताका उजूरी

कर्णाली । कर्णाली प्रदेशका १० जिल्लाका अनियमिताका ७ सय २० उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोग (अदुअआ) सुर्खेत कार्यालयमा परेका छन् । चालु आव असोज मसान्तसम्म आयोग सुर्खेतमा परेका उजुरीमध्ये ९१ छिनोफानो गरिएको छ । बाँकी ६ सय २९ उजुरी छानबिनका क्रममा रहेको आयोगका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए । गत आव ०७६/७७ मा कर्णालीका जिल्लामा ४ सय ६७ उजुरी परेका थिए । आयोगमा सबैभन्दा बढी सुर्खेत जिल्लाका उजुरी परेका छन् । कार्यालयका अनुसार सुर्खेतबाट मात्र १ सय ४५ उजुरी परेका छन् । तीमध्ये २५ उजुरीको छिनोफानो भएका छन् ।

बाँकी १२० छानबिनका क्रममा रहेको जनाइएको छ । १० जिल्लामध्ये कम उजुरी रुकुम(पश्चिम)का छन् । त्यहाँबाट हालसम्म ३७ उजुरी आयोगमा दर्ता भएका छन् । त्यस्तै डोल्पाबाट ३८, सल्यानबाट ३९, मुगुबाट ४२, हुम्लाबाट ५९ र जुम्ला जिल्लाका ५५ उजुरी अख्तियारमा परेका छन् । त्यस्तै जाजरकोटका ८२, कालीकोटका ९२, दैलेखका १ सय ३१ र सुर्खेत जिल्लाका १ सय ४५ उजुरी रहेको आयोग सुर्खेतको तथ्यांकमा उल्लेख छ । चालु आवका तीन महिनामा ९१ उजुरी छिनोफानो भएका छन् । तिनमा सबैभन्दा बढी सुर्खेतका २५ वटा छन् ।

त्यस्तै दैलेखका ३७, जाजरकोटका १९, कालीकोटका ११, हुम्लाका चार, जुम्लाका १२ र रुकुम(पश्चिम) का १८ उजुरी छिनोफानो भएका छन् । कालीकोटका १३, जाजरकोटका ११, जुम्लाका ६, रुकुम(पश्चिम)का पाँच र सल्यान जिल्लाका चार उजुरी छिनोफानो भएका छन् । डोल्पा, मुगु र हुम्लाका तीन÷तीन उजुरी छन् । आयोगका अनुसार संघीय संरचनानुसार सबैभन्दा बढी स्थानीय तहका उजुरी परेका छन् । गत आवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(स्थानीय तह)अन्तर्गत २ सय ९२ उजुरी परेका थिए । संघीय मन्त्रालय अन्तर्गतका १ सय ६८ र प्रदेश सरकार अन्तर्गतका मन्त्रालयका १ सय ६६ उजुरी आयोगमा परेको जनाएको छ । पछिल्लो समय आयोगमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोग सुर्खेतको तथ्यांकअनुसार सबैभन्दा बढी उजुरी वैशाख, जेठ, असार र साउन महिनामा पर्ने गरेको छ । विशेषगरी आवका अन्त्यमा विकास बजेट खर्च गर्ने र गुणस्तहीन काम हुने भएका कारण बढी उजुरी पर्ने गरेका हुन् ।

प्रतिक्रिया