अपिको १६औं र १७औं वार्षिक साधारण सभा

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले भर्चुअल माध्यमबाट १६औं र १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोभिड–१९ को माहामारीले स्थगित भएको १६औं साधारणसभालाई समेत १७औंसँग जोडेर एकैपटक दुई साधारणसभा गरिएको हो ।  साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को खुद नाफाबाट चुक्तापुँजीको ५ प्रतिशत दरले र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले गरी १४ प्रतिशत बोनससेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी सभाले नयाँ चुक्तापुँजीको १ बराबर ०.८५६६ हकप्रद जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।

सभामा कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेले वार्षिक प्रतिवेदन र कम्पनीका वित्तीय व्यवस्थापन प्रमुख शास्वत चालिसेले कम्पनीको वित्तीय विवरण प्रस्तुत गरेका थिए । त्यसैगरी, कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौैपानेले कम्पनीको विस्तृत विवरण प्रस्तुत गरेका थिए । अपीको साधारण सभाले आगामी चारवर्षका लागि नयाँ सञ्चालक समितिको समेत चयन गरेको छ । सभाले चयन गरेका सञ्चालकमा सतिष न्यौपाने, सञ्जीव न्यौपाने, द्वारिकाप्रसाद न्यौपाने, इन्द्रमणि त्रिताल र सिर्जना खड्कालाई निर्विरोध निर्वाचन गरेको छ ।

अपी पावरले भर्खरै हकप्रद सेयर निष्कासन गरेर चुक्ता पुँजी वृद्धि गरेको छ । कम्पनीले १४ कात्तिक देखि मंसिर सम्म विद्यमान १ कित्ता साधारण सेयर बराबर शुन्य दशमव ४७ कित्ता साधारण सेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँबराबरको प्रतिसेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । अपिले ८ दशमलव ५ मेगावाटको नौगढ गढ सानो जलविद्युत् आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिरहेको छ भने दार्चुलामा ८ मेगावाटको अपर नौगढ गढ जलविद्युत् आयोजना पनि निर्माण पूरा गरिसकेको छ । कम्पनीका ४० मेगावाटको अपर चमेलिया र ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार निर्माणका क्रममा छन् । कम्पनीले विद्युत् प्राधिकरणसँग ती आयोजनाबाट उत्पादिन बिजुली खरिद बिक्री सम्झौता (पीपीए) गरिसकेको छ । हकप्रदबाट जुटाएको रकम कम्पनीले अपर चमेलिया आयोजना निर्माणमा खर्च गर्नेछ ।

कम्पनीले गत वर्ष सोही अवधिमा ३ करोड ५९ लाख ५१ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । अपिको विद्युत् बिक्रीबाट हुने आम्दानीमा आकर्षक वृद्धि भएसँगै गत वर्षको तुलनामा यो वर्षको त्रैमाससम्म १९५.९६ प्रतिशतले नाफा बढी कमाउन सफल भएको हो । विद्युत् बिक्रीबाट आम्दानी ६ करोड ३८ लाख ५७ हजार रुपैयाँबाट बढाएर १४ करोड १२ लाख ५७ हजार रुपैयाँ पु¥याएको छ । यस्तै, अन्य स्रोतबाट पनि आम्दानीमा उल्लेख्य वृद्धि भएको छ ।

गत वर्ष अन्य स्रोतबाट २ लाख ९ हजार रुपैयाँ मात्र आम्दानी गरेकामा यस वर्ष ६ करोड १७ लाख ७० हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १२ रुपैयाँ ८ पैसाबाट बढेर ३५ रुपैयाँ ७४ पैसा पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि १ सय ९ रुपैयाँ ८२ पैसाबाट बढेर १ सय २४ रुपैयाँ ३० पैसा कायम भएको छ । हाल अपीको चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ । कम्पनीले वितरण गर्ने बोनस सेयर र हकप्रदबाट जुटाइएको रकमसमेत गरेर कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९८ लाख पुग्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया