मानवअधिकार चलचित्र महोत्सव

काठमाडौं । मानवअधिकारका विषयमा बनेका चलचित्र समेटेर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुन लागेको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा आठौँ ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव’ हुन लागेको हो । १० मंसिरदेखि २५ सम्म हुने महोत्सवमा ५२ वटा स्वदेशी तथा विदेशी फिचर चलचित्र, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन लगायत विधाका चलचित्र प्रदर्शन गरिने जनाइएको छ ।

कोरोनाका कारण प्रत्येक वर्ष आयोजना हुँदै आएको यो महोत्सव पूर्वनिर्धारित समयभन्दा केही ढिला हुन लागेको आयोजकले जनाएको छ । संस्थाका कार्यकारी निर्देशकद्वारा जारी विज्ञप्ति अनुसार बदलिएको परिस्थितिलाई मध्येनजर गरी महोत्सव भर्चुअल माध्यमबाट गर्न लागिएको हो । महोत्सवमा आवेदन परेका मध्येबाट उत्कृष्ट चलचित्र प्रदर्शनका लागि छनोट गरिएको हो । महोत्सवमा चलचित्र टिभी एपमार्फत चलचित्र प्रदर्शन गरिने जनाइएको छ । त्यस्तै, सो अवसरमा चलचित्रका विविध विषयमा छलफल, अन्तक्र्रिया तथा बहससमेत भर्चुअल माध्यमबाट गरिने छ । विज्ञप्तिमा महोत्सवमा ‘नेपाली सिनेमा युवाः हामी के हेर्न चाहन्छौं’, ‘एसियाली सिनेमामा महिलाः उपयुक्त चित्रण सहभागिता’, ‘अल्पसंख्यक, सीमान्तीकृत समुदाय सवालः सिनेमाको भूमिका’ विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवासँग अन्तक्र्रिया तथा छलफल पनि गरिने विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग सह–आयोजना, चलचित्र विकास बोर्डको प्रवर्धन र युरोपियन युनियन, नेपालका लागि जर्मनी दूतावास, शान्तिका लागि कला, आइएमओएम लगायतको सहकार्य तथा अन्य संघ संस्थाको सहयोगमा महोत्सव आयोजना गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया