मेस्सीले च्याम्पियन्स लिगमा नखेल्ने

लण्डन । क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार हुने डिनामो किएभविरुद्ध खेल नखेल्ने भएका छन् । प्रशिक्षक रोनाल्ड कोम्यानले च्याम्पियन्स लिगमा खासै दबाब नभएका कारण मेस्सीलाई विश्राम दिने बताएका हुन् । उनले कप्तानसँगै मिडफिल्डर फ्रान्की डे जोङलाई पनि विश्राम दिने निर्णय गरेका छन् । डिफेन्डरद्वय सर्जी रोबर्टो र जेरार्ड पिके एटलेटिको विरुद्ध खेलमा घाइते भएका थिए । यी दुवै लामो समय मैदानबाहिर रहने छन् । मिडफिल्डर ओस्मान डेम्बेले भने काँधको चोटका बाबजुद टोलीमा समेटिएका छन् ।

‘ हामीसँग चोटका कारण केहि मुख्य खेलाडी चोटका कारण बाहिर छन् । किएभविरुद्ध मेस्सी र डे जोङलाई विश्राम दिने निर्णय गरेका छौं । च्याम्पियन्स लिगमा हामीलाई केहि सहज अवस्था छ । ९ अंक जोडेकोले खासै चिन्ता लिनुपर्ने छैन । यी दुई खेलाडीले लगातार खेलिरहेकाले पनि विश्राम दिनुपर्ने छ ।’

प्रशिक्षक कोम्यानले १९ खेलाडी सम्मिलित टोली घोषणा गर्दै किएभविरुद्ध तयारी पूरा भएका जनाए । गोलरक्षक मार्क आन्देर टेर स्टेगन एटलेटिकोविरुद्ध खराब प्रदर्शनपछि टोलीमा समेटिएका छन् । यस्तै एन्टोइन ग्रिजमन र पेड्रीले टोलीको आक्रमण सम्हाल्ने अनुमान गरिएको छ । अन्सु फाती चोटकै कारण लामो समयका लागि विश्राममा छन् ।

टोली ः मार्क आन्देर टेर स्टेगन, सर्जिनो डेस्ट, कार्लोस अलेना, एन्टोइन ग्रिजमन, मिरालेम प्यानिच, मार्टिन ब्रेथवेट, ओस्मान डेम्बेले, रिकी पुज, नेटो, फिलिपे कोउटिन्हो, क्लेमेन्ट लेङलेट, पेड्री, त्रिनकाओ, जोर्डी अल्बा, मथिअस पारेरा, जुनिअर फिर्पो, इनाकी पेना, ओस्कार मिन्गुएजा, कोनराड डे ला फुएन्ते ।

प्रतिक्रिया