खोजखबर

बलिथुङमा एक घर, एक धारा जडान

सौर्य अनलाइन २०७७ मंसिर ८ गते १९:४५ मा प्रकाशित

लमजुङ । सुन्दरबजार नगरपालिका–८ बलिथुङमा एक घर एक धारा जडान गरिएको छ । गण्डकी प्रदेश सरकारको ५९ लाख ८५ हजार ८ सय ८८ र च्वाइस नेपाल जिल्ला शाखा लमजुङको ११ लाख आर्थिक सहयोगमा यहाँका ५५ घरमा घरैपिच्छे धारा जडान गरी पानी झारिएको छ । टोलमा खानेपानीको कुनै स्रोत नहुँदा दुई घण्टा समय धाउनुपर्ने बाध्यता घरैपिच्छे धारा जडानले सहज बनाएको छ । ७१ वर्षीया आइतमाया नेपालीले भनिन्, ‘हामीलाई गाउँमा धेरै पानीको दुःख थियो । म बुढी मान्छे गाग्रीमा पानी बोकेर टाढाबाट ल्याउन पनि नसक्ने तर नल्याएर पनि सुख थिएन । अहिले घरमै धारा जडान गरेर पानी आएपछि त धेरै सहज भएको छ ।’

उनी मात्र होइन यहाँका अन्य बूढापाका तथा बालबालिकालाई समेत बढी फाइदा पुगेको छ । सबैले भने जति पानी उपयोग गर्न पाएको स्थानीयवासी बताउँछन् । वडाध्यक्ष कृष्णकान्त अधिकारीले भने, ‘हामीलाई सबैभन्दा ठूलो आवश्यकता खानेपानीको थियो, अहिले पूरा हुँदा सबैलाई सहज भएको छ ।’ विगतमा यहाँका बासिन्दाले खानेपानी अभावले डेढदुई घण्टा टाढा बुढी कुवा, वीरस्वाँरा र बेँसीसहर नगरपालिका–१ नयाँ गाउँसम्म पानी बोकेर ल्याउने गरेको उनले बताए ।

वडाध्यक्ष अधिकारीका अनुसार सो टोलमा मात्र नभई वडाका अन्य स्थान रामदी, अकला र घोक्रेस्वाँरामा एक घर एक धारा जडान भइरहेको छ । रामदीका ८५ घरमा घरैपिच्छे धारा जडान गरी पानी पु¥याउनका लागि हाल ५० हजार र २० हजारको खानेपानी ट्यांकी निर्माण भइरहेको वडाध्यक्ष अधिकारीले बताए । यहाँ च्वाइस नेपालले ३५ लाखको लागतमा घरघरमै धारा पु¥याउन लागेको संस्था लमजुङका संयोजक सुकराम दुलालले बताए । त्यस्तै अकलाका १ सय ६० घरमा च्वाइसले नै ५३ लाखमा घरैपिच्छे धारा पु¥याउने भएको छ । सो घरका लागि एक लाख बराबरको ट्यांकी निर्माण प्रक्रिया अघि बढेको छ ।

त्यस्तै प्रदेश सरकारको लगानीमा घोक्रेस्वाँरामा ४७ घरमा घरैपिच्छे धारा जडान तीव्रगतिमा भएको छ । १०/१० हजारका तीन ट्यांकी निर्माण गरी सो घरमा धारा जडान गरेर पानी लैजाने कार्य अन्तिम चरणमा पुगेको वडाध्यक्ष अधिकारीले बताए । प्रदेश सरकारले लिएको लक्ष्य पछ्याउँदै जिल्लाका विभिन्न गाउँ तथा टोलमा एक घर एक धारा अभियान धमाधम लागू भइरहेको छ । प्रदेश सरकारले प्रदेशकै ५ लाख १७ हजार घरमा पानीको धारा पु¥याउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुसार प्रदेश सरकारले सबै जिल्लामा लगानीसमेत गरिरहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय