नवदुर्गा आधारभूत विद्यालयको वार्षिकोत्सव सम्पन्न

कावासोती । नवदुर्गा आधारभूत विद्यालय कावासोती–२ भाट्टोलाको ३२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सोमबार विद्यालय परिसरमा सम्पन्न भएको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरबहादुर थापामगरको अध्यक्षता एवं गण्डकी प्रदेशसभा सदस्य रोशन बहादुर गाहामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाहामगरले कोरोनाका कारण शिक्षा क्षेत्र निकै प्रभावित बनेको भन्दै सरकारले हालै जारी गरेको सिकाइ सहजीकरण निर्देशिका बमोजिम पठनपाठनलाई प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा विद्यालयमा स्थापित ५ लाख ६ हजारको अक्षय कोषबाट प्राप्त ब्याज रकमबाट विद्यालयमा अध्ययनरत २० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रति विद्यार्थी १ हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक टिकाराम डुम्रेले जानकारी दिए ।

कोभिड १९ संक्रमणको जोखिमलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्डको पालना गरि वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक डुम्रेले बताए ।

कार्यक्रममा विद्यालयको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद भुसाल, थानप्रसाद तिवारी, राजेश सुनाम, विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णकुमार सिग्देल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिकाराम डुम्रेले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया